चतुर्मुखी शिवलिंग गुपचुप जिम्मा

पशुपति मन्दिर परिसरबाट ३८ वर्षअघि हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग अमेरिकाको ‘आर्ट इन्स्टिच्युट अफ सिकागो’ ले नेपाली दूतावासलाई बुझाएको छ
देवेन्द्र भट्टराई

काठमाडौँ — पशुपति मन्दिर परिसरबाट ३८ वर्षअघि हराएर अमेरिकाको सिकागोमा भेटिएको लिच्छविकालीन चतुर्मुखी शिवलिंग ‘आर्ट इन्स्टिच्युट अफ सिकागो’ ले ‘गोप्य’ रूपमा वासिङ्टनस्थित नेपाली दूतावासमा बुझाएको छ ।

चतुर्मुखी शिवलिंग गुपचुप जिम्मा

दूतावासमा गत साता बुझाइएको यो सम्पदाको स्रोत र संकलनकर्ता आपसी सहमतिअनुसार खुलाउन नमिल्ने प्रतिक्रिया आर्ट इन्स्टिच्युट र दूतावासका अधिकारीले दिएका छन् । अमेरिकाबाट प्रकाशन हुने कला–सम्पदासम्बन्धी जर्नल ‘आर्ट–न्युज’ ले यो सूचना बाहिर ल्याएपछि सम्पदाविद्हरूले भने नेपालबाट चोरिएको सम्पदालाई वर्षौंसम्म प्रदर्शनीमा राखेर प्रतिष्ठा बटुलेको म्युजियमले सम्पदा चोरी र अपराधीकरणमा बल पुग्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

अन्वेषक लैनसिंह वाङ्देलको सन् १९८९ मा प्रकाशित ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा यो शिवलिंग मूर्ति पशुपति पञ्चदेवल बाहिरपट्टि रहेको विवरणमा उल्लेख छ । यो मूर्ति सन् १९८४ जुलाईमा हराएको थियो । मूर्ति संकलनकर्ता मार्लिन ब्रुडर एल्सडर्फको २०१९ अगस्ट १ मा अमेरिकामा मृत्यु भएपछि मात्रै ‘शिवलिंग मूर्ति नेपालको रहेको र यसलाई नेपाल फर्काउनू’ भनेर लेखिएको इच्छापत्र सार्वजनिक भएको हो । श्रीमान् जेम्स डब्लू एल्सडर्फको सन् १९९० अप्रिल २४ मा ७६ वर्षको उमेरमा निधन भएपछि कला सम्पदाको संकलकका रूपमा मार्लिन अघि सरेकी थिइन् । अर्बपति व्यापारी तथा लगानीकर्ता जेम्स डब्लू एल्सडर्फ स्वयं सन् १९७५ देखि ७८ सम्म आर्ट इन्स्टिच्युट अफ सिकागोको बोर्ड अध्यक्ष थिए । उनले अमेरिकाको सांस्कृतिक मामिला समितिको सूचना एजेन्सीमा पनि तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र त्यसपछि जर्ज बुस (सिनियर) बाट नियुक्ति पाएका थिए ।

‘प्रमाणीकरण’ (कन्ट्री अफ ओरिजिन) जुटेपछि बाध्य भएर सिकागो म्युजियमले नेपाली सम्पदा दूतावासलाई बुझाएको हो । लिच्छविकालीन सभ्यताको उत्कर्षमा छैटौं शताब्दीमा सिर्जना गरिएको चतुर्मुखी शिवलिंग कसरी चोरियो भन्ने विवरण कहींकतै नखुले पनि सन् १९७७ सम्म लन्डनको क्रिस्टिज कलेक्सनमा बिक्रीमा रहेको पाइएको छ । त्यसपछि अमेरिकाका अर्बपति जेम्स डब्लू एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फको संग्रह (जेम्स डब्लू एन्ड मार्लिन एल्सडर्फ कलेक्सन) ले उक्त मूर्ति सिकागो म्युजियममा पुर्‍याएको थियो ।

न्युयोर्कस्थित जोन–जे कलेजमा ‘आर्ट क्राइम’ विषय प्राध्यापन गर्ने एरिन एल थोम्सनले यो चतुर्मुखी शिवलिंग नेपालको सम्पदा रहेको र यसलाई फिर्ता पठाउनुपर्ने भन्दै ‘लबिइङ’ गर्दै आएकी थिइन् । ‘सिकागो म्युजियमले नेपालबाट चोरिएर ल्याइएको प्राचीन सम्पदाको संकलनकर्ताबारे केही भन्न नचाहनुले उसले यस्ता सम्पदाको चोरी/तस्करीको अन्तर्राष्ट्रिय मामलालाई प्रश्रय दिन चाहेको देखिन्छ,’ प्राध्यापक थोम्सनले भनिन्, ‘जेम्स डब्लू एन्ड मार्लिन एल्सडर्फ कलेक्सनले अरू पनि थुप्रै यस्ता सम्पदाको संग्रह गरेको सूची पनि सार्वजनिक भइसकेको छ । यसरी चोरिएका र खरिद–बिक्री भएका ऐतिहासिक महत्त्वका सम्पदा के–कसरी संग्रहकर्ता अथवा म्युजियमसम्म आइपुगेका हुन् भन्ने कारण पहिल्याउन पनि म्युजियम पारदर्शी बन्नैपर्ने हुन्छ ।’

सम्पदाका संकलक दम्पत्ति जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फ

‘मूर्ति मेरो मृत्युपछि नेपाललाई बुझाउनू’ भन्ने इच्छापत्र लेखेका जेम्सको मृत्यु भएको ३० वर्षसम्म पनि त्यसबारे केही नबताइएकामा प्राध्यापक थोम्सनले आश्चर्य मानिन् । ‘म्युजियमले जेम्सकी श्रीमती मार्लिनको पनि मृत्यु नभइन्जेल नेपालको सम्पदालाई आफ्नो प्रतिष्ठाको चीज बनाइरहन चाहेको बुझिन्छ,’ उनले भनिन्, ‘सम्भवतः श्रीमती मार्लिन पनि आफ्ना श्रीमान्ले कतैबाट चोरिएका सम्पदाको संग्रह गरेको इतिहासबारे बोल्न चाहन्थिन् । तर आज यो घटनाको प्रमाण र साक्षीसमेत नरहेको अवस्थामा केही पनि बताउन नचाहने म्युजियमको नियतै शंकास्पद देखिन्छ ।’

संकलनकर्ता जेम्सले आफ्नो संग्रहबाट केही म्युजियमलाई स्वेच्छाले उपहार प्रदान गरेको विषयमा अमेरिकी आर्ट जर्नलमा सूचना आइसकेको छ । प्राध्यापक थोम्सनले सिकागो आर्ट इन्स्टिच्युटमै नेपाललाई ‘कन्ट्री अफ ओरिजन’ मानिएको आठ हात भएको नृत्यरत गणेशको काठको मूर्ति (सोह्रौं शताब्दी), नागराजा मुचालिन्दबाट घेरिएका बुद्ध (बाह्रौं शताब्दी) र योग स्वरूपमा बसेकी ब्रह्मायनी (बाह्रौं शताब्दी) पनि अझै रहेको जानकारी दिइन् । यी ३ वटै सम्पदा संकलनकर्ता जेम्स डब्लू एल्सडर्फले उपहारस्वरूप सिकागो आर्ट इन्स्टिच्युटलाई दिइएको विवरण इन्स्टिच्युटकै वेबसाइटमा उल्लेख छ ।

नेपालबाट विभिन्न समय चोरी भएर अमेरिका पुगेका नृत्यरत गणेशको काठको मूर्ति, योगस्वरूपमा बसेकी ब्रह्मायणी, नागराजा मुचालिन्दबाट घेरिएका बुद्ध र लिच्छविकालीन काँसको वज्रपाणि मूर्ति । तस्बिर : कृष्टिजडटकम

यसैगरी, लिच्छविकालीन (नवौं शताब्दी) को काँसको वज्रपाणी मूिर्त पनि सन् १९८४ अक्टोबरसम्म न्युयोर्कको कपुर ग्यालरीमा रहेको देखिन्छ । त्यसपछि न्युयोर्ककै क्रिस्टिज कलेक्सनमा यो मूर्ति छ । वेबसाइटमा यो सम्पदाको मूल्य न्यूनतम ६० हजार डलर र अधिकतम ८० हजार डलर तोकिएको छ । यो मूर्ति पनि जेम्स डब्लू एल्सडर्फको संकलनबाट लिइएको जनाइएको छ । सम्पदा खरिद/बिक्रीको एजेन्सी क्रिस्टिजमा पनि संकलनकर्ता जेम्स डब्लू एल्सडर्फका धेरै संग्रह रहेको र यसमा काठमाडौं उपत्यकाका कतिपय सम्पदासमेत रहेको पाइएको छ । ‘अब यी सम्पदा काठमाडौं उपत्यकाबाट के, कसरी, कहिले सिकागो म्युजियममा आइपुगेका हुन् भनेर म्युजियम स्वयंले नभनेर कसले भन्ने ?’ प्राध्यापक थोम्सनले भनिन्, ‘चोरी भएर वा खरिद–बिक्रीबाट आएका करोडौं मूल्यका यी सम्पदा आज पनि म्युजियमहरूमा विशिष्ट संग्रहको दर्जामा बसिरहेका छन्, यसबेला योभन्दा लाज लाग्ने कुरा के हुन सक्छ ?’

सम्पदाविद् रवीन्द्र पुरीले पनौतीमा बनाउँदै गरेको ‘म्युजियम अफ स्टोलन आर्ट’ मा भने चोरिएका सम्पदाको विवरण, इतिहास र चोरिएको अवस्था वा कारणबारे ‘भिज्युअल’ सामग्रीसमेत राख्ने भएका छन् । ‘हाम्रो सभ्यता र इतिहास झल्काउने सम्पदा के–किन र कसरी चोरिएका वा हराएका हुन् भन्ने विवरण खुलाउन सकिएन भने अबको पुस्ताले न यी सम्पदाको महत्त्व बुझ्न सक्छन्, न आफ्नो सम्पदामा अपनत्व राख्नै सक्छन्,’ पुरीले भने, ‘वासिङ्टनस्थित नेपाली दूतावासमा गुपचुप बुझाइएको भनिएको चतुर्मुखी शिवलिंगको पनि अवस्थिति र इतिहास खोज्ने काम भइरहेको छ । एक वर्षभित्रमा म्युजियम अफ स्टोलन आर्ट सञ्चालनमा आएपछि सम्पदा चोरीका धेरै रहस्यमयी इतिहास खुल्दै जाने आशा गरेको छु ।’

यो पनि पढ्नुहोस्ः

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा

प्रकाशित : वैशाख १२, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?