२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

आइफल टावर चढेजस्तो अनुभूति : ओली

– धरहरामा ज्यान गुमाएकाको परिवारलाई रोजगारी दिइने
दामोदर न्यौपाने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेजस्तो अनुभूति भएको बताएका छन् । लिफ्ट चढ्ने सुविधासहितको आधुनिक धरहरा उद्घाटन गरेपछि सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘माथिबाट घुमेर हेरें । भव्य रमाइलो देखिन्छ । माथि भएर होला, वेगका साथ हावा चल्छ । हावाको वेगलाई कसैले रोकेको जस्तो देखिँदैन ।’

आइफल टावर चढेजस्तो अनुभूति : ओली

धरहराको निर्माण पूरै नसकीकनै प्रधानमन्त्री ओलीले शनिबार उद्घाटन गरेका हुन् । धरहरा क्षेत्रको पुनर्निर्माण हुन अझै ९ महिना लाग्नेछ । धरहराको लिफ्ट, रङरोगनलगायतका काम सकिए पनि बाहिरी निर्माण बाँकी छ । बिजुलीबाट चल्ने लिफ्टबाहेक फलामको भर्‍याङ राख्ने योजना छ । आधुनिक धरहरामा फोटो खिच्ने ठाउँ, पानीका फोहोरा, फोहोरा हुँदै संग्रहालय जाने बाटो, पुरानो ऐतिहासिक धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायतका सामानको संग्रहालय, तीनतले पार्किङलगायतका संरचना निर्माण हुनै बाँकी छन् । त्यसैगरी दुई तलाको संग्रहालय, गिफ्ट सप, सानो थिएटरजस्ता पूर्वाधार पनि बन्न बाँकी छ ।

प्रधानमन्त्री ओलीले बीसौ तलामा रहेको भ्यु स्टेसनमा पुगेर आधुनिक धरहरा उद्घाटन गरेका थिए । यही ठाउँबाट पुष्पवृष्टिसमेत गरिएको थियो । ‘रातदिन लगाएर धरहरा पुनर्निर्माण भयो । राति पनि काम गरेको देखेको थिएँ,’ ओलीले भने, ‘यो काममा रातदिन खटेर सहयोग गर्नुहुने धन्यवादको पात्र हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले आधुनिक धरहरालाई ऐतिहासिक गौरव भएको दाबी पनि गरे । ‘यो ऐतिहासिक गौरवलाई हामीले कायम राख्न सक्यौं,’ उनले भने, ‘ऐतिहासिक गौरवलाई प्रकृतिले पटकपटक धोका दियो । भत्काइदियो । अब बलियो धरहरा बनेको छ ।’

धरहरा क्षेत्रमा सञ्चालन हुने संग्रहालय, पार्किङ, गिफ्ट सफ, सानो थिएटरलगायत क्षेत्र सञ्चालनका क्रममा धरहरा ढल्दा मृत्यु भएकाको परिवारलाई रोजगारी दिइने प्रधानमन्त्री ओलीले बताए । ‘प्रत्येक परिवारको एक जना पर्ने गरी रोजगारी दिन्छौं,’ उनले भने, ‘यहाँ खपत गर्न नसके अन्यत्र व्यवस्था गर्छौं ।’ २०७२ वैशाख १२ गतेको भुइँचालोले धरहरा ढल्दा ६० जनाको ज्यान गएको थियो । उद्घाटन कार्यक्रममा भूकम्पमा परेर ज्यान गुमाएकालाई सम्मान पनि गरिएको हो ।

राष्ट्रिय विभूति भीमसेन थापाले बनाएको धरहराको भने ठुटो नै छ । ठूटोलाई पनि संरक्षण गर्ने सरकारको योजना छ । संरक्षण कार्य सुरु नभएकाले ठुटो जीर्ण हुँदै गएको छ । आधुनिक धरहरा निर्माण हुनुभन्दा अगाडि प्राचीन धरहराको सिँढी राम्रो अवस्थामा थियो । अहिले भने सिँढी सबै भत्किएका छन् । निर्माणस्थलमा प्रयोग भएका निर्माण सामग्रीले ठुटोमा असर परेको संरक्षणकर्मीले गुनासो गरेका छन् ।

ओलीले धरहराको पुनर्निर्माण भने पनि पुरातत्त्वविद्ले यसलाई नवर्निर्माण भनेका छन् । नयाँ धरहरा प्राचीन धरहराजस्तै देखिए पनि फरक ठाउँमा बनाइएको, स्वरूप परिवर्तन गरेकाले नवनिर्माण भन्नुपर्ने उनीहरुको भनाइ छ । प्राचीन स्मारक संरक्षण ऐनअनुसार सम्पदाको स्थान परिवर्तन गर्न मिल्दैन । स्वरूप परिवर्तन गर्न पाइँदैन । ‘त्यही भएर यो पुनर्निर्माण नभई नवनिर्माण हो,’ वास्तुकलाविद् ज्ञानेन्द्र देवकोटाले भने, ‘यो संरक्षणको सिद्धान्तविपरीत छ । ऐतिहासिक धरहरा भनेर प्रचार गरिएको छ । यो अर्को टावर हो । धरहरा होइन ।’ सम्पदा संरक्षण अभियन्ताले यो निर्माणले इतिहास मेटिएको तर्क गरेका छन् । ‘आज भीमसेन थापाको इतिहास, कला, वास्तुकला नामेट पारेको दिन हो,’ अभियन्ता सागर थापाले भने, ‘ऐतिहासिक र पुरातात्त्विक धरहरा उठायौं भन्नु बेइमानी हो । धरहरा त उठेकै छैन, ठुटो बनेर बसेको छ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले अब बृहत् टुँडिखेल पार्कको काम अघि बढाइने जानकारी दिए । बृहत् टुँडिखेल पार्क कस्तो हुन्छ भनेर कार्यक्रममा देखाइएको थियो । रानीपोखरीदेखि दशरथ रंगशालासम्म जोड्ने गरी बृहत् टुँडिखेलको अवधारणा ल्याएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : वैशाख ११, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?