रहेनन् चित्रकार शंकरराज सिंह सुवाल

काठमाडौँ — नेपाली ललितकलाको सिर्जनामा पाँच दशकभन्दा लामो समय बिताएका चित्रकार शंकरराज सिंह सुवालको ७३ वर्षको उमेरमा निधन भएको छ ।

रहेनन् चित्रकार शंकरराज सिंह सुवाल

झण्डै एक हप्तादेखि कोरोना संक्रमण भएका सुवालको शुक्रबार साँझ ५:४५ बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा निधन भएको चित्रकार जीवनराज उपाध्यायले बताए । उपाध्ययका अनुसार सुवाल मुटुका बिरामी समेत थिए ।

काठमाडौं टेकुमा वि.सं. २००५ सालमा जन्मिएका सुवालले नेपालमा आधुनिक चित्रकलाको विकासदेखि हालको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नुमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले ललितकलाको अध्यापन, सिर्जना र विकासमा अमूल्य योगदान पुराएर आफूलाई एक अग्रज सष्टाको रुपमा उभ्याएको उपाध्यायले सुनाए । उनले भने, ‘आधुनिक कलामा उहाँको विशेष देन छ । हिन्दु तथा बौद्ध धर्ममा आधारित कला, अमूर्त तथा अर्ध अमूर्त कलामा उहाँको दखल थियो ।’

सुवाललाई एक आदर्श र मिलनसार कला गुरु र कला साधकका रुपमा चित्रकार लालकाजी लामाले स्मरण गरे । ‘उहाँसँग मैलै थोरै समय भएपनि प्रिट मेकिङ कलाबारे अध्ययन गर्ने मौका पाएँ । सुवाल सरको अध्यापन शैली र कला सिर्जनाको पाटो असाध्यै मिहिन थियो । वाटर कलरमा उहाँको कला डेमोस्ट्रेसन शैली पनि फरक र प्रभावित गर्ने खालको हुन्थ्यो ।’

सुवाल ललितकलाकै संस्था ‘मेम्बर अफ आर्टिष्ट सर्कल’ का सदस्यका साथै आधुनिक कलाकार समाज(सोमा)का अध्यक्ष समेत थिए । सुवालको निधनले कला क्षेत्रले एक अथक कलासाधक गुमाएको चित्रकार तथा समिक्षक रमेश खनालले बताए । खनालले उनलाई एक ऊर्जावान र आधुनिक कलाका सशक्त कलाकारका रुपमा सम्झिए । सुवालका श्रीमती, एक छोरी र छोरा छन् ।

प्रकाशित : वैशाख ११, २०७८ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?