३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आँटिलो नेतृत्वको खाँचो छ : चित्रलेखा यादव

काठमाडौँ — २०६२/६३ को जनआन्दोलनको अग्रमोर्चामा थिइन् तत्कालीन उपसभामुख चित्रलेखा यादव । उनले सडकबाटै विघटित प्रतिनिधि सभाको बैठक सञ्चालन गरेकी थिइन् । सभामुखको हैसियतमा सभा सञ्चालन गर्ने तिनै नेतृ यादवसितको संक्षिप्त कुराकानी:

आँटिलो नेतृत्वको खाँचो छ : चित्रलेखा यादव

दोस्रो जनआन्दोलनयता १५ वर्ष बितिसकेको छ । त्यसबेला तपाईंले सडकबाटै संसद्को बैठक सञ्चालन गर्नु भएको थियो । त्यो दिन सम्झँदा अहिले कस्तो अनुभूति भइरहेछ ?

त्यस यताको १५ वर्षमा हामीले सोचेभन्दा फरक ढंगले राजनीतिक र सामाजिक उतारचढावहरु भएका छन् । त्यसबेला मैले सभामुखकै हैसियतमा सडक संसद् चलाएकी थिएँ । त्यो दिन सम्झँदा आज पनि मलाई नयाँ ऊर्जा प्राप्त हुन्छ । त्यो साँच्चै अविष्मरणीय क्षण थियो । दोस्रो जनआन्दोलनको उत्कर्ष थियो । आम मानिसलगायत सबै दलका नेता/कार्यकर्ता सडकमा थियौं । सुन्दर भविष्यको परिकल्पनासाथ हामी आन्दोलनमा होमिएका थियौं । सडक संसद् पनि त्यसैको एक हिस्सा थियो ।

त्यसबेला कस्तो अपेक्षा थियो ?

त्यसबेलाको अपेक्षा निकै थियो । जनसागर जुन रुपमा उर्लिएको थियो जनअपेक्षाको उभार पनि त्यत्तिकै थियो । कसैले छिन्न नसक्ने जनअधिकार प्राप्त गरिछाड्ने संकल्प गरेका थियौं । हामीले त्यो युगान्तकारी परिवर्तनलाई संस्थागत गर्दै जाने संकल्प गरेका थियौं ।

अहिले त्यो संकल्पतिर अगाडि बढेको अवस्था छ ?

हामीले त्यसबेला जनतासित गरेका सबै संकल्प मुताबिक सबै काम हुन सकेका छैनन् । हामीले चाहे पनि नचाहे पनि समय बडो बलवान हुँदोरहेछ । त्यो आन्दोलनले प्राप्त गरेका कतिपय उपलब्धीबारे आज पनि कतिलाई उचित नलाग्दो हो । तर के गर्ने समय बलवान हुन्छ । समयले पनि अग्रगमनतर्फ बढ्न नै साथ दियो भन्ने लाग्छ ।

त्यही आन्दोलनको जगमा हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता लोकतन्त्रका आधारभूत विषयहरु प्राप्त गर्‍यौं । संविधानसभाले संविधान पनि घोषणा गर्‍यो । तर कार्यान्वयन पक्ष कमजोर हुँदा आम मानिस निराश छन् नि होइन र ?

आम जनताले अहिले नेतृत्वसित त्यसबेला गरेका वाचाहरु किन पूरा भएनन् भनेर प्रश्न गरिरहेका छन् । नेताहरुले त्यसबेला अब हामी फेरि लोकतन्त्र प्राप्तिको आन्दोलनमा जानु नपर्ने गरी अधिकारहरुको सही व्यवस्थापन गर्ने छौं भन्नु भएको थियो । आज त्यो काम सही ढंगले हुन सकिरहेको छैन । यसले गर्दा जनतामा निराशा छाएको छ । हामीले धेरै राम्रा उपलब्धी र अधिकारहरु पाएर पनि त्यसको कार्यान्वयन सही तरिकाले गर्न नसकेको पक्कै हो ।

तपाईंलाई कार्यान्वयन किन हुन नसकेको भन्ने लाग्छ ?

राजनीतिक इच्छाशक्ति भएन । हामीले जनता समक्ष जुन वाचाहरु गरेका थियौं त्यसमा ध्यान दिन सकिरहेका छैनौं । यो विषय यति समय भित्र सक्छौं भनेर समय सीमा नै तोकेर अगाडि बढ्नु पर्थ्यो तर त्यसो हुन सकिरहेको छैन । योजनै योजनाले कार्यालयहरु भरिएका छन् तर कार्यान्वयन भने छैन । यही हो हाम्रो सबैभन्दा ठूलो समस्या ।

कार्यान्वयनको बाधक को हो ?

आन्दोलनका बेला जनतासित गरेका वाचा पूरा गर्ने इच्छाशक्ति भएको नेतृत्वको अभाव छ । आन्दोलनका बेला नेतृत्वमा जुन खालको इच्छाशक्ति थियो त्यसको कार्यान्वयनको सवालमा पुग्दा पनि त्यस्तै इच्छाशक्ति वा संकल्प हुनुपर्थ्यो । त्यो देखिएन । आन्दोलनका बेला देखिएको तत्परता र इच्छाशक्ति विस्तारै सेलाउँदै गयो । यसले आम जनतामा अब केही पनि नहुने भयो भन्ने निराशा बढाएको छ । त्यसैले नेतृत्वले आन्दोलनकै बेलाको जस्तो संकल्प र इच्छाशक्ति देखाउन आवश्यक छ ।

प्राप्त उपलब्धीहरुको जगेर्ना र कार्यान्वयनमा राजनीतिक नेतृत्वको इच्छाशक्ति कमजोर भयो ?

जनआन्दोलनको चाहना अनुसार संकल्पलाई साकार रुप दिलाएरै छाड्छु भन्ने आँटी र दृढ विश्वास नेतृत्मा हुनु पर्थ्यो । अनि पो जनता आश्वस्त हुन्थे । काम हुन थाल्यो भनेर जनतामा आशा जाग्थ्यो । तर हामीले त्यस अनुसारको काम गर्न सकेनौं ।

जनतालाई आश्वस्त पार्ने नेतृत्व भएनन् भन्न खोज्नु भएको हो ?

चुनावका बेला हामी जनता समक्ष आफ्ना घोषणापत्रहरु लिएर जान्छौं । उनीहरुसित यो गर्छौं र त्यो गर्छौं भनेर तामझाम गर्छौं । भाषण गर्छौं । चुनाव सकिएको भोलिपल्टदेखि ती वाचा गरिएका घोषणापत्रहरुलाई फोहोरको टोकरीमा फालिदिन्छौं । कुनै पनि नेताले घोषणापत्र सम्झादैनन् । घोषणापत्र बोकेर जनता समक्ष जाादैनन् । हाम्रो संस्कार भन्नुस् या बानी नै कस्तो बसिसक्यो भने आन्दोलनका बेला सफलता प्राप्त गर्न एकदम तात्छौं अनि सफल भइसकेपछि सेलाउाछौं ।

प्रकाशित : वैशाख ११, २०७८ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?