‘राजनीतिमा इमान भएन’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘राजनीतिमा इमान भएन’

‘पहिले राजनीति नि:स्वार्थ रुपले गरिन्थ्यो, राजनीतिका लागि पैसा चाहिंदैन्थ्यो । हरेक चिजमा कमिसनतन्त्र मौलाएको छ । पैसाबिना राजनीति चल्दै नचल्ने भइसक्यो ।’
भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीय शान्ति कार्कीले राजनीति सुरु गर्दादेखिका उनका समकक्षी अहिले छैनन् । सबैले उनलाई शान्ति ‘दिदी’ भनेर सम्बोधन गर्छन् ।

उपमेयर शान्ति कार्की


पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट नेपाली कांग्रेसको सदस्यता लिएकी उनी पञ्चायतविरुद्धको आन्दोलन होस् वा २०४६ र ०६२/६३ को सबै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएकी छन् । पटकपटक गरी उनले १० वर्ष जेल जीवन बिताएकी छिन् ।

पञ्चायतकालमा काठमाडौंको हनुमानढोकामा गरिएको लालटिन आन्दोलन र नाङ्लो ठटाउने आन्दोलन उनी अझै सम्झन्छिन् । पार्टीमाथि प्रतिबन्ध लाग्दा ठूला नेताहरुलाई भारत पुर्‍याउन सहयोग पनि गरिन् । जीवनभरि लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीति गरेकी कार्की अहिलेको राजनीतिमा इमानदारी कमी भएको औल्याउँछिन् ।

‘पहिले राजनीति नि:स्वार्थ रुपले गरिन्थ्यो, राजनीतिका लागि पैसा चाहिंदैन्थ्यो,’ लोकतन्त्र दिवसका अवसरमा कान्तिपुरसँग संक्षिप्त कुरा गर्दै उनले भनिन्, ‘अहिले त रातारात पार्टी परिवर्तन गर्दा पनि कुनै कारबाही हुँदैन, नेताहरुको बोलीमा एकरुपता छैन, हरेक चिजमा कमिसनतन्त्र मौलाएको छ । पैसाबिना राजनीति चल्दै नचल्ने भइसक्यो ।’

स्थानीय तहको चुनावमा मेयरमा कांग्रेसका उम्मेदवार पराजित भए पनि उपमेयरमा उनी बहुमतले विजयी भएकी थिइन् । जनताको आकांक्षाबमोजिम काम गर्न नपाएको उनको गुनासो छ । ‘जनताले माया गरेर बहुमतसाथ विजयी बनाएका छन्,’ शुक्रबार आफ्नो कार्यकक्षमा भेटिएकी कार्कीले भनिन्, ‘तर, जितेर जनताको आकांक्षाबमोजिम काम गर्न पाएकी छैन, उपमेयरको कुर्सी मात्र छ, अधिकार धेरै छैन ।’

प्रकाशित : वैशाख ११, २०७८ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्

‘छोराको बलिदानी नगुमोस्’

‘सहिद परिवार भएर के गर्ने ? एउटा छोरो साउदी अरबमा काम गर्छ । अरु गाउँघरमै दु:खजिलो गरेर बाँचेका छन् । पैसाको अभावमा कसैलाई पढाउन सकिएको छैन । छोरी दस कक्षा पढ्दा–पढ्दै छोडेर घरमै बसेकी छन् ।’
मोहन बुढाऐर

धनगढी — उनको विवाह भएको वर्षदिन पुग्दैथियो । भोलिपल्ट दुलहीलाई साथ लगाएर ससुराली जाने तर्खरमा थिए होरीलाल । तर अघिल्लै दिन बिहान उनी सेनाको गोली लागेर ढले । माघ २६ गते बिहानै  शौच गर्न आफ्नै खेतमा गएका थिए उनी ।

घरमा चर्पी थिएन । झिसमिसेमै नेपाली सेनाको एक टोली खेतको बाटो भएर जाँदै थियो । ‘एम्बुस’ थापिरहेको भान परेकोले गस्तीमा रहेका सेनाले गोली चलाए । उनको मृत्यु भयो । धनगढी बजारमा दिनहुँ हुने २०६२/६३ को जनआन्दोलनमा होरीलाल सहभागी हुन पुग्थे ।

सहिद होरीलालको घरमा रहेका भाइ, भाउजु र बुबा । तस्बिरहरु :मोहन बुढाऐर/कान्तिपुर

विवाह गरेको एक वर्ष पुग्न एक दिन मात्र बाँकी थियो । उनका बाबु गंगाराम राना थारुले भने, ‘हाम्रो चलनअनुसार विवाह भएको वर्षदिनमा खुसी बाँड्ने चलन छ । छोरा आफ्नी दुलहीसँगै ससुराली गएर खुसी बाँड्ने तयारीमा थिए । तर, त्यसको अघिल्लो दिनै सेनाको गोलीबाट उनको निधन भयो ।’ त्यसबेला उनी २४ वर्षका थिए ।

गंगारामका माहिला छोरा होरीलाल सहिद भएपछि उनकी बुहारी सुर्जुकुमारी दुई वर्षजति घरमै बसिन् । र, त्यसयताका दिन माइतीमा बस्दै आएकी छन् ।

जनआन्दोलन परिचालन समितिले होरीलाललाई सहिद घोषणा गऱ्यो । त्यसपछि नेपाल सरकारले उनलाई १० लाख रुपैयाँ उपलब्ध गराएकोमा आफूले आधा रकम मात्र पाएको स्मरण गर्दै गंगाराम भन्छन्, ‘पाँच लाख रुपैयाँ बुहारीले लिएर माइत गइन् ।’ छोरा सहिद भएपछि प्राप्त पैसाले एउटा टुक्रो जग्गा किन्ने गंगारामको चाहना पनि पूरा हुन सकेन । किनकि, आधा पैसा बुहारीले लिएर माइत बसिन् भने बाँकी आधा रकम पनि जग्गा किन्न दिएको दलालले नै खाइदिएको दु:खेसो उनले गरे ।

सहिद होरीलाल प्रतिष्ठनाको भवन

दोस्रो जनआन्दोलनको २५ जना सहिदमध्ये एक थिए हुरीलाल । अहिले उनको नाममा सहिद होरीलाल राना प्रतिष्ठान पनि बनेको छ । उक्त भवन बनाउन ‘हामीसँग ५० हजार रुपैयाँ उठाइयो’ गंगारामले सुनाए । प्रतिष्ठानका अध्यक्ष चैत्य राना थारुले ‘सहिद होरीलाल प्रतिष्ठान’ भवन बनाए पनि अरु केही गर्न नसकेको बताए । तर बजेटको अभावमा प्रतिष्ठनले गति लिन नसकेको उनले बताए । उनका अनुसार संघीय प्रतिनिधि सभाका सदस्य नारदमुनी राना र नेपालु चौधरीको संसदीय कोषबाट प्राप्त २० लाखबाट प्रतिष्ठानको भवन विद्यालयको ऐलानी जग्गामा बनेको हो ।

सहिद होरीलालका बाबु गंगाराम भन्छन्, ‘सहिद परिवार भएर के गर्ने ? एउटा छोरो साउदी अरबमा काम गर्छ । अरु गाउँघरमै दु:खजिलो गरेर बाँचेका छन् । पैसाको अभावमा कसैलाई पढाउन सकिएको छैन । छोरी दस कक्षा पढ्दा–पढ्दै छोडेर घरमै बसेकी छन् ।’

सहिद होरीलालको घरमा रहेका भाइ, भाउजु र बुबा

आफूसँग १० कठ्ठा जति मात्रै जग्गा भएकाले अरुको खेत कमाएर परिवार पाल्नु परेको पीडा पनि गंगारामले सुनाए । सरकारले बेरोजगार छोराछोरीलाई रोजगारी दिलाइ दिन्छ कि भन्ने आशै–आशमा सहिद पिता आजसम्म तड्पिइरहेका छन् । उनले भने, ‘छोरो सहिद भएको पनि १५ वर्ष भएछ । तर उसको बलिदानी गुम्ने पो हो कि भन्ने डर पो लाग्न थालेको छ ।’

प्रकाशित : वैशाख ११, २०७८ १५:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×