२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उठ्यो धरहरा

पुरानोको ठुटोसँगै उभ्याइएको नयाँ धरहरा बलियो त छँदै छ, अपांगता भएकाहरुले पनि लिफ्टबाट चढेर सजिलै हेर्न–घुम्न मिल्छ ।
दामोदर न्यौपाने

काठमाडौँ — लडेका घर उभिए । पुराना संरचनामा धेरै ठाउँ लगाइएका टेकाहरू हटाइए । मुलुकलाई २०७२ वैशाख १२ को भूकम्पको त्रासदी सम्झाउने सबैभन्दा गतिलो चिनो थियो सुन्धाराको धरहराको ठुटो । अब यो ठुटोसँगै नयाँ संरचना तयार भएको छ, जसले मुलुक निर्माणको नयाँ युगमा प्रवेश गरेको सम्झाउनेछ । 

उठ्यो धरहरा

नयाँ धरहरा आधुनिक सुविधायुक्त र बलियो बनाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार धरहराको मूल टावर निर्माणको काम पूरा भएको छ । दुइटा लिफ्ट राख्ने र रङरोगन गर्ने काम सकिएको छ । दुईमध्ये एउटा लिफ्ट सञ्चालनमा आएको छ । अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न–हेर्न सजिलो छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना धेरै फरक छ । यसमा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै पनि सामग्री प्रयोग भएको छैन । भूकम्पले धरहरा ढालेपछि गजुर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो । त्यसलाई मर्मत गरेर जलप लगाई नयाँ संरचनाको टुप्पामा राखिएको मानन्धरले जानकारी दिए । जलप लगाउन ९५ तोला सुन खर्च भएको छ ।

नयाँ धरहरामा फोटो खिच्ने ठाउँ र पानीका फोहोरा जस्ता संरचना पनि हुनेछन् । तिनै फोहोरा हुँदै संग्रहालय जाने बाटो बनिरहेको छ । धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायतका सामान संग्रहालयमा राख्ने योजना छ । तीनतले पार्किङमा ३ सय ४७ वटा गाडी र ७ सय मोटरसाइकल अट्ने मानन्धरले जानकारी दिए ।

तस्बिर : इलिट जोशी/कान्तिपुर

दुई तलाको संग्रहालय, गिफ्ट सप, सानो थिएटर आदि पूर्वाधारसमेत हुनेछन् । यी सबै सुविधा भने धरहरा क्षेत्रको निर्माण पूरै सकिएपछि उपलब्ध हुनेछ । पटक–पटक डिजाइन गरेर अहिलेको स्वरूप फाइनल गरिएको हो । निर्माण थाल्नुअघि उचाइ २ सय ४५ फिट हुने भनिएको थियो । त्यो उचाइमा बाहिर ९ तले, भित्र ११ तले हुने गरी डिजाइन गरिएको थियो । पछि यसलाई परिमार्जन गरी २२ तले डिजाइन बनाइएको हो । नयाँ धरहराको उचाइ २६२.४६ फिटको बनेको छ ।

निर्माण सामग्री पनि भीमसेन थापाको धरहरा र नयाँमा फरक छ । थापाको धरहरामा चुना, सुर्कीको जोडाइ र इँटाको गारो थियो । आधुनिक धरहरामा सिमेन्ट, छड जस्ता आधुनिक निर्माण सामग्री प्रयोग भएका छन् । थापाको धरहराको डिजाइन मुगल कालिगडले गरेका थिए । सबभन्दा माथिल्लो भागमा गुम्बज बनाई सुनको जलप लगाइएको धातुको गजुर थियो । यसको वास्तुमा मुस्लिम संस्कृतिको प्रभाव भेटिन्थ्यो । नयाँ धरहरामा पनि यो शैलीमा भने प्राचीन वास्तुकला नै अपनाइएको छ ।

वास्तुमा मुस्लिम प्रभाव परे पनि संरचनामा हिन्दुको आस्था झल्कने गरी बनाइएको थियो थापाको पालाको धरहरा । टुप्पामा गजुर र माथिल्लो तलामा शिवलिंग राखिएको थियो । आधुनिक धरहरामा पनि शिवलिंग राखिएको छ । कुनै राष्ट्रिय पर्वमा यो स्मारकमा बत्ती बालेर दीपावली गरिन्थ्यो । थापाले बनाएको धरहरा २०७२ सालको भुइँचालोले भत्काएको थियो । त्यसको भग्नावशेषको छेवैमा नयाँ संरचना उभ्याइएको हो । पुरानो ठुटोलाई संरक्षण गरेर संग्रहालयजस्तै गरी राखिएको छ ।

थापाले बनाएको धरहरा जमिनको सतहदेखि गजुरसम्म उचाइ २ सय ३ फिट थियो । गजुरमात्रै १७ फिटको थियो । पूर्व फर्केको थियो मोहडा । अहिलेको पनि मोहडा पूर्वै फर्केको छ । ढोका पूर्वतिरै थिए, चारैतिरबाट गोलाकार पर्खालले घेरिएका । ३ मिटर ३२ सेन्टिमिटर अग्लो थियो पर्खाल । पर्खालमा ५६ वटा खम्बा थिए । पर्खाल पनि युरोपेली वास्तुकलाअनुसारै थिए । यस्तो पर्खालको नमुना धरहरामा मात्रै देख्न सकिन्थ्यो 

तस्बिर : अंगद ढकाल/कान्तिपुर

पर्खालबाट छिर्नासाथ ढुंगाले छापेको प्रांगण आउँथ्यो । चार मिटर चौडा प्रांगणबाट अघि बढेपछि ढुंगाको पेटीमा पुगिन्थ्यो । यो पेटी अहिले पनि छ । सिँढीका २५ खुड्किला माथि चढेपछि धरहरा सुरु हुन्थ्यो । २१ फिट १० इन्च गोलाइ थियो धरहराको, जुन भग्नावशेषका रूपमा अहिले पनि देखिन्छ । सिँढीमा जम्मा २ सय १३ खुड्किला थिए । १ सय ८८ खुड्किला चढेपछि आठौं तलामा पुगिन्थ्यो । त्यहाँ वरिपरि बार्दली थियो, चारैतिर घुम्न सकिने । बार्दलीमा पूर्वतिरको ढोकाबाट पस्ने व्यवस्था थियो । बार्दलीको चौघेरामा फलामका रेलिङ थिए । नवौं तलामा चारैतिर झ्याल थिए ।

पहिलाको धरहरा ११ तले थियो । १९९२ सालमा जुद्धशमशेरले पुनर्निर्माण गर्दा यसलाई ९ तलामा झारेका थिए । पुरानो धरहराको जग भने संरक्षण हुने भएको छ । जगमाथि सिँढी छ । सिँढीमाथि केही गारो बाँकी छ । बाँकी रहेको त्यही ठुटो पनि जोगाएर त्यहाँ ‘भुइँचालो स्मृतिपार्क’ बनाउन सुझाव दिएका थिए सम्पदाविद्हरूले । प्रधानमन्त्रीले ओलीले २०७२ फागुन ४ मा ‘आफ्नो धरहरा आफैं बनाउने’ घोषणा गरेका थिए । त्यतिबेला उनले ‘अब हेर्दा दुरुस्त, बलियो प्रशस्तै भएको धरहरा बन्ने’ बताएका थिए । ‘मेरो धरहरा मैं बनाउँछु’ अभियानमा पैसा नउठेपछि यसको निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणले लिएको थियो ।

३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरणका सम्पदा विज्ञ मानन्धरले बताए । ठेकेदारसँग २०७८ पुस १० मा काम सम्पन्न गर्ने सम्झौता छ । शनिबार उद्घाटनको कार्यक्रम राखिएको यो धरहरा सर्वसाधारणले तत्कालै अवलोकन भने गर्न पाउने छैनन् । योजनाअनुसारको तयारी पूरा भएको केही समयपछि खुला गर्ने योजना सरकारको छ ।

प्रकाशित : वैशाख ११, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?