अक्सिजन भारततिर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सिजन भारततिर

नुमा थाम्सुहाङ

काठमाडौँ — दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए ।

फाइल तस्बिर

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे पनि माग बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएका अधिकांशलाई अक्सिजन दिनुपरिरहेको छ । ‘यहाँ पनि अक्सिजन अभाव हुने जोखिम देखेर हाम्रा व्यवसायीलाई निकासी नगर्न आग्रह गरेका छौं,’ संघका अध्यक्ष घिमिरेले भने । संघले मंगलबार आफ्ना साधारण सदस्य र आजीवन सदस्यलाई छिट्टै अक्सिजन अभाव हुन सक्ने भन्दै अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, नेबुलाइजर, हाई फ्लो अक्सिजन क्यानुला र अक्सिजनसँग सम्बन्धित सामग्री निर्यात नगर्न सूचना जारी गरेको हो जसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयमा समेत पठाइएको छ ।

त्रिपुरेश्वरस्थित अक्सिजन ट्रेड लिंकका सञ्चालक सोहेल श्रेष्ठले गएको सातादेखि अक्सिजनबारे सोधखोज गर्ने र किन्ने ग्राहक बढेको बताए । उनी इलेक्ट्रिक अक्सिजन कन्सन्ट्रेटर बिक्री गर्छन् । ‘पहिले साता एउटा अक्सिजन कन्सन्ट्रेटर बिक्री हुन्थ्यो । अहिले २/३ दिनमै २ वटासम्म बिक्री हुन्छ,’ उनले भने । नेपालमा अक्सिजन कन्सन्ट्रेटर चीन र भारतबाट आउने श्रेष्ठले जानकारी दिए । ‘चीनबाट त्यहीँ बनेको कन्सन्ट्रेटर आउँछ । यसको मूल्य ६५–८५ हजार रुपैयाँ पर्छ,’ उनले भने, ‘अमेरिकामा बनेको चाहिँ भारतबाट आउँछ, यसको १ लाख रुपैयाँभन्दा माथि पर्छ ।’

उनका अनुसार दमलगायतका श्वाससम्बन्धी समस्या भएकाहरूका लागि पहिले अक्सिजन खपत बढी हुन्थ्यो । ‘अहिले कोभिडका सिकिस्त बिरामीलाई पनि अक्सिजन चाहिने देखिएकाले बजारमा माग बढेको छ । कतिपयले स्टकका लागि भनेर किनिरहेका छन्,’ उनले भने, ‘पहिला जस्तै लकडाउन भएर मेडिकल सामान आयात गर्न समस्या भयो भने अक्सिजन ग्यास अभाव हुन सक्छ ।’

भक्तपुरस्थित जयश्री इन्द्रेणी अक्सिजन ग्यास सप्लायर्सका सञ्चालक रामचन्द्र देशेमरुले कोभिडका संक्रमितहरू बढेसँगै अक्सिजनको माग बढेको बताए । ‘अहिले त फ्याक्ट्री (अक्सिजन उत्पादक) ले नै मागअनुसार अक्सिजन सिलिन्डर दिन सकेका छैनन्, समस्या होला जस्तो छ,’ उनले भने, ‘पहिले विज्ञापन गर्दै पसल–पसल आउँथे ।’ अक्सिजन अभाव हुन सक्ने भएकाले सरकारले बेलैमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । त्रिपुरेश्वरका सर्जिकल व्यवसायी शिव खनालले पनि केही दिनयता अक्सिजन सिलिन्डरको माग बढेको जानकारी दिए ।

‘म अक्सिजन बिक्री गर्दिनँ तर यसमा चाहिने रेगुलेटर धेरै बेचिसकें,’ उनले भने, ‘अभाव हुने अनुमानमा पनि स्टक गर्न मानिसले किनिरहेका छन् ।’ मास्कमा जस्तै कालोबजारी हुन नदिन सरकारले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख १०, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

दोधारा–चाँदनीमा २८० बिघामा सुक्खा बन्दरगाह बनाइने

नुमा थाम्सुहाङ

काठमाडौँ — दोधारा–चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहको गुरुयोजना तयार भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले गुरुयोजना तयार पारेको हो ।

‘सुदूरपश्चिम प्रदेशमा सुक्खा बन्दरगाह बनाउने भनेर जाँच सुरु गरेका छौं । यसका लागि गुरुयोजना (मास्टरप्लान) तयार भएको छ,’ काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने ।

गुरुयोजनापछि दोधारा–चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाउने प्रक्रियामा छ । प्रोजेक्टको नाम ‘आईसीडी/आईसीपी इन दोधारा चाँदनी एरिया’ दिइएको गजुरेलले जानकारी दिए । समितिका अनुसार यो बन्दरगाहको मुख्य अवधारणा सुदूरपश्चिम क्षेत्रको विकास, व्यापार विस्तार र व्यवस्थापन हो ।

कन्सल्टेन्टले दोधारा–चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहका लागि २८० बिघा जग्गा पहिचान गरेको छ, जसमा नौ वटा जिल्ला पर्ने समितिले जानकारी दिएको छ । सुक्खा बन्दरगाहका लागि ६.२ किलोमिटर पहुँचको बाटो सडक विभागले निर्माण गरिरहेको समितिका सिभिल इन्जिनियर कमलप्रसाद जोशीले जानकारी दिए । ‘सुक्खा बन्दरगाहका लागि महाकाली सडकलाई जोड्ने एउटा चार लेनको आरसीसी पुल ७०–८० प्रतिशत निर्माण भइसकेको छ,’ उनले कार्यपत्र प्रस्तुतिका क्रममा भने ।

यो सुक्खा बन्दरगाह भारतको सीमादेखि एक सय मिटर दूरीमा छ । बन्दरगाहको प्रवेशद्वार भारतबाट आउने गाडी र रेलका लागि छुट्टाछुट्टै हुनेछन् । समितिले यो परियोजनालाई दुई चरणमा बाँडेको छ । पहिलो चरणमा, सुक्खा बन्दरगाहको आईसीपीमा रेलबाहेकको क्षेत्र निर्माण हुनेछ । यसका लागि करिब ७ अर्ब रुपैयाँ इस्टिमेट भएको समितिले बताएको छ । त्यस्तै दोस्रो चरणमा रेलवे कनेक्टिभिटी जहाँ कार्गोसँग सम्बद्ध हुनेछ । यसका लागि करिब १२ अर्ब रुपैयाँ इस्टिमेट गरेको छ ।

समितिका अनुसार पहिलो चरण सन् २०२५ र दोस्रो चरण सन् २०५३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पहिलो चरणका लागि तीन वर्ष १० महिना समय लाग्नेछ । बन्दरगाहको कन्स्ट्रक्सन निर्माण लागि दुई वर्ष, टेन्डरका लागि चार महिना र सर्भे, ईआईएलगायतका लागि १५ महिना तथा एकीकृत जाँच परियोजनाका लागि तीन महिना लाग्ने समितिले जनाएको छ । ‘पहिलो चरणमा चार सय गाडी पार्किङ क्षमताको रहनेछ । दोस्रो चरणमा तीन हजारसम्म गाडी पार्किङ क्षमताको बनाइनेछ,’ जोशीले भने ।

प्रकाशित : वैशाख ८, २०७८ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×