कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जागिर लगाइदिन्छु भन्दै किशोरीलाई बलात्कार गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सुनसरी — जागिर लगाइदिन्छु भन्दै किशोरीलाई बलात्कार गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पक्राउ परेका छन् ।

जागिर लगाइदिन्छु भन्दै किशोरीलाई बलात्कार गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

५२ वर्षीय गाउँपालिका अध्यक्ष यादवलाई संखुवासभा घर भई परिवारसँग इटहरीमा बस्दै आएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष यादवले पीडित किशोरीलाई धरान-भेडेटार सडक खण्डको सारंगा डाँडा मास्तिरको डुकु होटलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई अर्धनग्न अवस्थामा पक्राउ गरिएको डीएसपी बस्‍नेतले बताए । पीडित किशोरीकी आमा र दिदीले यादवविरुद्ध उजुरी दिएका छन् । प्रहरीले बुधबार सुनसरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धानका लागि यादवलाई हिरासतमा राखेको छ ।

बुधबार दिँउसो अध्यक्ष यदावले को १ झ ३४४१ नम्बरको सरकारी गाडीमा ती युवतीलाई चढाएर डुकु होटल लगेका थिए । ती किशोरीलाई गाउँपालिकामा जागिर लगाइदिन्छु भन्दै यादवले इटहरीबाट गाडी चढाएर उक्त होटल लगेको प्रहरीले जनाएको छ । होटलको कोठामा पुर्‍याएपछि अध्यक्ष यादवले किशोरीलाई ‘तिमिलाई जसरी पनि जागिर मिलाइदिउला’ भन्दै शारीरिक सम्पर्क राख्न खोजेका थिए । डीएसपी बस्नेतका अनुसार किशोरीले शारीरिक सम्पर्क राख्न नमानेपछि यादवले बियर खुवाएर मताएपछि बलात्कार गरेका थिए ।

किशोरी बलात्कृत भएको सूचना पाएलगत्तै प्रहरीले डुकु होटलबाट अर्धनग्न अवस्थामा यादवलाई पक्राउ गरेको थियो । डीएसपी बस्‍नेतले भने, ‘किशोरी र यादवबीच केही समय पहिलेदेखि सामान्य चिनजान सम्पर्क भएको आधारमा अध्यक्ष यादवले ती किशोरीलाई जागिर लगाइदिने प्रलोभन देखाउँदै आएका रहेछन् । बुधबार गाउँपालिकाका अध्यक्ष आफैं नै गाउँपालिकाको सरकारी गाडीमा चढेर इटहरी आएर किशोरीलाई लिएर डुकु होटल गएको देखिएको छ ।’ अध्यक्ष यादवले आफ्नो र किशोरीको नक्कली नाम लेखाएर कोठा बुक गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ । यादवले होटलमा आफ्नो नाम सलिन साह लेखाएका थिए ।

दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराइएको छ । यादव तत्कालीन संघीय समाजवादी फोरमबाट २०७४ को स्थानीय तहको चुनाव जितेर गाउँपालिका अध्यक्ष भएका थिए ।

पीडित किशोरीले आफूलाई यादवले जागिर मिलाइदिने प्रलोभन देखाएर जबरजस्ती शारीरिक सम्पर्क गरेको प्रहरीलाई बताएकी छन् । प्रनाउ बस्नेतले पीडित किशोरीलाई उद्धृत गर्दै भने, ‘जागिरको कुरा गर्न भनेर गाडीमा बसाएपछि कता लगेको हो मलाई थाहा दिएनन् । होटलमा पुर्‍याएपछि बलात्कार गरे ।’

प्रकाशित : वैशाख ९, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?