सरकारसँग जारी वार्ताबारे ठाकुरले सांसदलाई दिए जानकारी, भट्टराई र यादव पक्ष अनुपस्थित
काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग जारी वार्ताबारे पार्टीका सांसदहरूलाई जानकारी गराएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ठाकुरले सांसदहरूलाई बोलाएर सरकारसँग भइरहेको वार्ताबारे जानकारी गराएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । 'सरकारसँग भइरहेको वार्ताबारे अध्यक्षज्यूले जानकारी गराउनुभयो । संविधान संशोधन आयोग, नागरिकता विधेयक, मुद्दा फिर्ता र बन्दी रिहाइलगायतका विषयमा उहाँले कुरा राख्नुभयो,' कर्णले भने ।
कर्ण र सर्वेन्द्रनाथ शुक्लाले जसपाकातर्फबाट सरकारसँग वार्ता गरिरहेका छन् । सरकारका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई रहेका छन् । वार्तामा भने प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरसँगै राजेन्द्र महतो पनि सहभागी हुँदै आएका छन् ।
ठाकुरले बोलाएको बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने सहभागी भएनन् । उनी निकट सांसदहरू पनि ठाकुरले बेलाएको बैठकमा गएका थिएनन् । बैठकमा सहभागी नेताहरूले जनाएअनुसार ११ जना सांसद मात्रै उपस्थित भएका थिए ।
अध्यक्ष यादवनिकट सांसद मोहम्मद इस्तियाक राईले भने आफूहरूलाई अध्यक्ष ठाकुरले बोलाएको बैठकबारे जानकारी नभएको बताए । बैठकमा अरु सांसद काठमाडौं बाहिर भएकोले उपस्थित नभएको भनेका थिए । तर, भट्टराई र यादव लगायत अधिकांश नेता काठमाडौंमै रहेको बताइएको छ ।
प्रकाशित : वैशाख ९, २०७८ १५:५९