कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

माओवादी केन्द्र कमजोर भएको छैन : दाहाल

'विदेशी शक्तिको आडमा यहाँ कानुन, संविधान मिच्ने, मूल्य मान्यता मिच्ने काम भएको छ'

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलन कमजोर नभएको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जन्म जयन्तीको अवसरमा बिहीबार पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफूहरु कमजोर नभएको बरु प्रतिगमनकाविरुद्ध लडेर कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने अवसर आएको बताए ।

माओवादी केन्द्र कमजोर भएको छैन : दाहाल

‘अहिले अब के हुन्छ र भनेको जस्तो, अहिले प्रतिगमनकाविरुद्ध लडेर कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने अवसर पनि हो । हामी कमजोर भएका छैनौं । माओवादी आन्दोलन, माओवादी केन्द्र कमजोर भएको छैन,’ दाहालले भने, ‘यो बीचमा सामान्य जनताकोबीचमा गएर उनीहरुको मनोभावनालाई नजिकबाट बुझ्ने कोशिस गरिराखेको छु । उहाँहरु सबैको कुरा हामी पहिलाको जस्तै क्रान्तिकारी भइदिऊन्, पहिलाको जस्तै माओवादी भएर आइदिऊन्, प्रचण्ड पनि पहिलाको जस्तै गर्जियोस्, पार्टी पनि त्यसरी आवोस् भन्ने जनताको चाहना छ ।’

जनता र कार्यकर्ताको भावना बुझेर जाँदा आफूहरुको अगाडि अहिले पनि विशाल सम्भावना रहेको दाहालले बताए । कम्युनिस्ट आन्दोलनभित्र घुसेको प्रतिक्रियावादलाई परास्त गर्न र वैचारिक आन्दोलनलाई उचाइ दिने अवसर फेरी आएको उनको भनाइ छ । ‘प्रतिक्रियावादीले कम्युनिस्ट आन्दोलनलाई धरासायी पार्न जो आँट गरेका छन्, त्यसको निम्ति हामीले राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्दछ,’ दाहालले भने, ‘चुनौती जहाँ छ अवसर पनि त्यही हुन्छ । कम्युनिस्ट क्रान्तिकारीहरुले त्यसको निम्ति आफूलाई तयार पार्नुपर्छ । हामी पहिला वैचारिक, राजनीतिक, संगठनात्मक रुपमा बलियो हुनुपर्छ । आफ्नै खुट्टामा उभिनु पर्छ । त्यसपछि वामपन्थी शक्तिबीच एकता गर्नुपर्छ ।’

एमालेसँग पार्टी एकता गरेर कुनै गल्ती नगरेको तर प्रतिक्रियावादी र अवसरवादी शक्तिले जबरजस्त रुपमा नेकपा विभाजन गरेको दाहालको दाबी छ । ‘हामीले एकता गरेर गल्ती गरेका थिएनौं । हाम्रो पक्षमा त्यति शक्ति सन्तुलन नभएको भएर विभाजन रोक्न त सकेनौं । तर हामी पराजित भएको हैन । पार्टी एकता गर्दा गलत प्रवृत्तिका नायकलाई गलत्याएका नै थियौं । वैधानिक ढंगले नै गलत प्रवृत्तिका खलनायकहरुलाई निकालेकै हो । त्यहाँ पराजित भएको थिएनौं,’ दाहालले भने, ‘पराजित उनीहरु भए जो प्रतिक्रान्तिको बाटो हिँडे जसको साथमा पार्टीको बहुमत थिएन । एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिको आडमा यहाँ कानुन, संविधान मिच्ने, मूल्य मान्यता मिच्ने काम भएको छ ।’

प्रकाशित : वैशाख ९, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?