माधव नेपालहरू अर्को पार्टी खोलेर हिँड्दा पनि सम्झाइ–बुझाइ गरिरहेको छु : ओली- समाचार - कान्तिपुर समाचार

माधव नेपालहरू अर्को पार्टी खोलेर हिँड्दा पनि सम्झाइ–बुझाइ गरिरहेको छु : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्ष अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरी सम्झाइ–बुझाइ गरिरहेको बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा बिहीबार बल्खुमा केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर अर्को पक्षका नेताहरूलाई सम्झाउने प्रयासमा रहेको बताए ।

‘यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि अहिलेसम्म हाम्रो प्रयास कारबाही नगरी सम्झाउनेमा छ, सच्याउनेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस् भन्ने छ,’ उनले भने । बुधबार साँझ ओली र नेपालबीच करिब दुई घण्टा वार्ता भएको थियो ।

उक्त भेटवार्तालाई लक्षित गर्दै ओलीले नेताहरूलाई सम्झाउने आफ्नो प्रयासलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिए । व्यक्तिगत रूपमा नेताहरूसँग कुराकानी भए पनि अब पार्टीमा गुटगत गतिविधिलाई मान्यता दिन नसकिने ओलीको भनाइ छ । नेपालको लोकतान्त्रिक र संसदीय इतिहासमा नेपाल पक्षबाट अराजक काम भएको आरोप पनि उनले लगाए ।

प्रकाशित : वैशाख ९, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्

उच्च अदालतका दुई न्यायाधीशसहित पर्सामा थप ८८ जनामा कोरोना

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका दुई जना न्यायाधीशसहित थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासका अनुसार एक सय ९२ जनाको स्वाब परीक्षण गर्दा ८८ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये ७९ जना पर्साका, ७ जना बारा र एक/एक जना रौतहट र रुकुमका हुन् । उच्च अदालतका स्रेस्तेदार ठगिन्द्र कट्टेलका अनुसार दुई जना न्यायाधीशसहित १३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

‘न्यायाधीश, कर्मचारी, सुरक्षाकर्मीसहित १ सय १० जनाको स्वाब संकलन गरिएको थियो,’ स्रेस्तेदार कटेलले भने, ‘अस्पतालले दिएको जानकारी अनुसार ८६ जनाको स्वाब परीक्षण हुँदा १५ जनामा संक्रमण पुष्टि भएको छ ।’

न्यायाधीश र कर्मचारी संक्रमित भएपछि बिहीबार उच्च अदालतको काम कारबाही प्रभावित बनेको छ । पेसीमा चढेको मुद्दाको कजलिस्ट समेत सार्वजनिक भएको छैन । बार एसोसिएसनका पदाधिकारीसँग समन्वय गरी संवेदनशील समयमा कसरी अगाडि बढ्ने विषयमा छलफल गरिने स्रेस्तेदार कटेलले जनाए ।

प्रकाशित : वैशाख ९, २०७८ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×