१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जिम्मेवारबाटै हेलचेक्र्याइँ

विराटनगर — विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख सन्तोष खड्का, कलाकारद्वय दीपकराज गिरी, दीपाश्री निरौलालगायतको टोली सोमबार भारतको सिक्किम घुमेर फर्कियो ।

द्रुत गतिमा संक्रमण बढिरहेको भारतबाट आएपछि क्वारेन्टाइनमा बस्नुको साटो उनीहरू सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । नियामक निकायका प्रमुखहरूकै बेवास्ताले महानगरमा संक्रमणको जोखिम झन् बढेको छ ।

कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास भारतबाट घुमेर आउनेले १० दिन क्वारेन्टाइनमा बस्नैपर्ने बताए । विराटनगरमा अहिले होल्डिङ क्षेत्र नभएकाले होम क्वारेन्टाइनमा बस्नुको विकल्प नभएको उनको भनाइ छ । महानगर प्रमुख पराजुलीले आफैं स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संक्रमण फैलिन नदिन सतर्कता अपनाउनुपर्ने हो । तर संक्रमणको जोखिममा रहेका उनीसहित कलाकारद्वय गिरी र निरौलाको टोली मंगलबार र बुधबार मानव सेवा आश्रमले आयोजना गरेको कार्यक्रममा सहभागी भयो ।

आश्रमले मंगलबार एक होटलमा ‘मिट एन्ड ग्रिट प्रोग्राम न्यु इयर सेलिब्रेसन’ र बुधबार विराटनगर–५ मा आश्रमको भवन शिलान्यास सभा आयोजना गरेको थियो । मंगलबारको कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलगायत सांसद, उच्चपदस्थ कर्मचारी, उद्योगी, व्यवसायी, राजनीतिक दलका प्रमुखलगायतका समाजका अगुवा व्यक्तिहरूसहित सयौंको सहभागिता थियो ।

भवन शिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महानगर प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की कलाकारहरू गिरी, निरौला, हास्य कलाकार मनोज गजुरेल, गायिका आनी छोइङ डोल्मा, अवकाश प्राप्त नायब प्रहरी महानिरीक्षक रमेश खरेल, पूर्वमिस नेपाल शृंखला खतिवडालगायत उद्योगी व्यवसायीका साथै समाजका अगुवा व्यक्ति पनि सहभागी थिए । यसले महानगरमा संक्रमणको जोखिम झन् बढाएको चिकित्सकको भनाइ छ ।

महानगरमा बुधबार ४१ थपिएसँगै संक्रमितको संख्या १ सय ७९ पुगेको छ । प्रदेश १ का ५ सय सक्रिय संक्रमितमध्ये मोरङका मात्रै २ सय ७१ रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले जनाएको छ । संक्रमण पुष्टि भएका व्यक्तिहरूको अहिले कन्ट्याक्ट ट्रेसिङ पनि नभइरहेकाले थप संक्रमणको जोखिम बढाएको हो । महानगरका साथै प्रदेश १ सरकारले हालसम्म कन्ट्याक्ट ट्रेसिङ सुरु गर्न सकेको छैन ।

प्रकाशित : वैशाख ९, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?