३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नक्कली परीक्षार्थीको धन्दा सधैं

१७ थुनामा, दलालसहित ३२ जनाको खोजी

काठमाडौँ — थलारा–३ बझाङका शिवराज नेपाली गत फागुनमा कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित प्रहरी जवान भर्नाको लिखित परीक्षामा सहभागी भए ।

बालजागृति मावि केन्द्रमा सञ्चालित परीक्षामा बझाङकै जयपृथ्वी नगरपालिका–११ का रमेशकुमार चँदाराको बदलामा नेपाली नक्कली परीक्षार्थी बनेर सहभागी भएका थिए । उनले चँदाराको नागरिकता र प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिएका थिए ।

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर केन्द्रमा बझाङकै खप्तडछान्ना गाउँपालिकाका कृष्ण खड्काको नाममा धनगढी उपमहानगरपालिकाका दिपन चौधरीले परीक्षा दिए । उनले पनि खड्काको प्रवेशपत्र तथा नागरिकतामा आफ्नो फोटो टाँसेका थिए । लोक सेवा आयोगले जवान भर्नाका लागि महेन्द्रनगरमा लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेका नेपाली र चौधरी प्रतिनिधिपात्र मात्र हुन् ।

कञ्चनपुरमा नक्कली परीक्षार्थी बन्ने, बनाउने र परीक्षार्थी खोजिदिने दलालसहित बझाङ, कैलाली र अछामका ५५ जनाविरुद्ध मुद्दा चलाइएको छ । तीमध्ये नक्कली परीक्षार्थी २१ र परीक्षा दिन लगाउने २१ जना रहेको जानकारी लोक सेवा आयोगले दिएको छ । कञ्चनपुर प्रहरीका अनुसार नक्कली परीक्षार्थीको व्यवस्थापन मिलाउने ११ जना दलाल मात्रै छन् । गत वर्ष २३ जनालाई नक्कली परीक्षार्थी बनेको अभियोगमा कारबाही गरिएको आयोग स्रोतले जानकारी दियो । लोक सेवाले परीक्षा प्रणालीलाई निष्पक्ष र व्यवस्थित बनाउन खोजे पनि कुनै न कुनै रूपमा नक्कली परीक्षार्थी बन्ने प्रवृत्ति रोकिएको छैन ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले बेलाबेला हुने यस्ता घटना रोकथामका लागि प्रयास भइरहेको बताए । यस्ता व्यक्तिलाई किर्ते, जालसाजी र ठगी मुद्दा चलाउने गरिएको उनले जानकारी दिए । लोक सेवाका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार तल्लो पदमा यस्ता घटना बढी हुने गरेको छ । प्रहरी र सेनामा यस्तो प्रवृत्ति बढी देखिएको छ ।

कञ्चनपुर प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार जाँच दिन लगाउनेसहित १७ जना नक्कली परीक्षार्थीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । जाँच दिन लगाउने १९ जना र दलाल ११ जनाको खोजी भइरहेको छ । केहीलाई अदालतले धरौटीमा छाडेको छ । उनीहरूमाथि शिक्षा ऐनको दफा १७ र सरकारी छाप एवं दस्तखत किर्ते गरेको अभियोग लगाइएको छ ।

आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार त्यस्ता परीक्षार्थी आयोगबाट सञ्चालन हुने कुनै पनि पदको परीक्षामा ५ वर्षसम्म सामेल हुन पाउने छैनन् । आयोगले नक्कली परीक्षार्थी र परीक्षा दिन लगाउनेको फर्म इन्ट्री नै नहुने सफ्टवेयर तयार गर्न लागेको सुवेदीले जानकारी दिए ।

प्रकाशित : वैशाख ९, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?