कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सित्तैमा सुन पाइने लोभमा पर्दा...

मोरङ — सुनको प्रलोभन देखाएर तीन महिनादेखि बन्धक बनाइएकी विराटनगर–४ इक्राहीकी २४ वर्षीया युवतीलाई जिल्ला प्रहरी मोरङले मंगलबार सीमावर्ती भारतीय गाउँबाट उद्धार गरेको छ ।

युवतीलाई बन्धक बनाएको आरोपमा विराटनगर–१९ का २५ वर्षीय दिनेश भनिने सुनील मण्डललाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

‘मण्डलले युवतीलाई धम्क्याएर बन्धक बनाई जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने । छिमेकमा धामी–झाँक्रीको काम गर्न आएका बेला मण्डलले युवतीकी आमालाई घरमा मसानले अढाई किलो सुन गाडेर राखेको बताएका थिए । युवतीकी आमासँगै परिवार उक्त सुन पाइने प्रलोभनमा परे । अविवाहित केटीले पाँचवटा नदी तरेर पूजा गरेपछि उक्त सुन निस्किने भनिएको थियो । सुन पाउने पूजाको विधि पूरा गर्न मण्डलले ५० हजार खर्च लाग्ने बताएका थिए । आमाले गहना बन्धकी राखेर उक्त रकम ल्याएर मण्डललाई दिएकी थिइन् ।

‘मण्डलले त्यही पैसाले सुन किनेर उनीहरूको घरमा पहिले नै गएर माटोमुनि गाडेर राखेको र पछि त्यही निकालेर झुक्याएका रहेछन्,’ एसपी खड्काले भने, ‘मण्डलले विराटनगरकै एउटा सुनचाँदी पसलबाट ५० हजारमा सुन किनेर लगी उनीहरूको आँगनमा गाडेको पुष्टि भएको छ ।’ घरमा माटोमुनिबाट सुन निकालेको देखेर विश्वासमा परी परिवारजनले थप सुन पाउने लोभमा धामी मण्डलसँग पूजा गर्न पाँच नदीको पानी ल्याउन भनेर माघ १० मा छोरीलाई पठाएका थिए ।

प्रारम्भिक अनुसन्धानमा मण्डल र युवतीबीच त्यसअघि कुनै पनि सम्पर्क एवं सम्बन्ध स्थापित भएको नदेखिएको प्रहरी उपरीक्षक खड्काले बताए । घटना हुनुअघि परिवार र युवतीसँग पनि चिनजान नभएको उनले सुनाए । धामी मण्डलले एक दिनमै पूजा सकेर छोरीलाई ल्याइदिने भनेका थिए । तर नफर्केपछि माघ ११ मा जिल्ला प्रहरी मोरङमा परिवारजनले खोजतलासका लागि उजुरी दिएका थिए । त्यसपछि प्रहरीले मण्डलको खोजी थालेको थियो ।

प्रकाशित : वैशाख ९, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?