कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बागलुङको बलेवा क्षेत्रमा लकडाउन

प्रकाश बराल

बागलुङ — एकै विद्यालयका ३९ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि यहाँको बलेवा क्षेत्रलाई १० दिन लकडाउन गरिएको छ ।

बागलुङ नगरपालिका–१४ को जनताधन माविमा संक्रमण पुष्टि भएपछि वडा नं. १२, १३ र १४ लाई लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

वडा तहको सर्वपक्षीय छलफलले जोखिम अत्यधिक बढेको निष्कर्ष निकालेसँगै जिल्ला कोभिड संकट व्यवस्थापन समितिले पनि उक्त क्षेत्र लकडाउन गर्न सिफारिस गरेको थियो । प्रशासनले बुधबारदेखि लागू हुने गरी लकडाउन गरेको हो । त्यहाँ रहेको राजमार्ग क्षेत्रबाट अन्यत्र जाने–आउने सवारीलाई भने नरोकिने प्रशासनले जनाएको छ । बलेवा क्षेत्रमा यात्री चढाउन र ओराल्न नपाइने गरी यातायात खुला गरिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

विद्यार्थीमा रुघाखोकी र ज्वरोसमेत देखिएपछि ९८ विद्यार्थीको स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

मन्त्रिपरिषद्ले निर्णय गरिसके पनि बागलुङ नगरपालिकाले अझै विद्यालय बन्द गराएको छैन । दुई सातायता नगरपालिकाभित्रै १ सयभन्दा बढी संक्रमित भैसकेका छन् । तिनमा अधिकांश विद्यार्थी र शिक्षक छन् ।

विद्यालय बन्द नगरिएपछि जबरजस्ती बालबालिका पठाउनुपरेको स्थानीय सगुन लामिछानेले बताइन् । ‘जोखिम छ तर विद्यालय बन्द गरिएको छैन,’ उनले भनिन्, ‘पढाइ छुट्ने डरले छोराछोरी पठाइरहेका छौं ।’

नगरशिक्षा अधिकारी डण्डपाणि शर्माले जोखिम भएको स्थानमा मात्रै बन्द गर्ने गरी विद्यालय खुलाइएको बताए । शैक्षिक सत्रको सुरुवातमा धेरै पढाइ छुटेकाले बन्द नगरेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ८, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?