कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीका चारवटै कोरोना अस्पताल भरिए

लुम्बिनी/दाङ — लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल भरिएपछि नयाँ संक्रमितले भर्ना पाउन छाडेका छन् । गत वर्षको तुलनामा यसपालि कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि उपचारमा कठिनाइ भइरहेको छ ।

रूपन्देहीको बुटवल, भैरहवा, दाङको बेलझुन्डी र बाँकेको नेपालगन्जमा कोरोना विशेष अस्पताल सञ्चालनमा छन् । यीबाहेक नेपालगन्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, क्रिमसन अस्पताललगायतमा कोरोनाका बिरामीको उपचार भइरहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना विशेष अस्पतालमा मात्र २ सय ४१ बेड छन् । यहाँका विभिन्न निजी अस्पतालले ३ सय ८१ बेड कोरोना संक्रमितका लागि छुट्याइएका छन् । लुम्बिनी प्रदेशमा सरकारले तोकेका चार कोरोना अस्पताल र तीन निजी अस्पतालमा गरी १ सय ३१ आईसीयू बेड छन् । त्यस्तै, १ सय १५ वटा एचडीयू, ८२ भेन्टिलेटर र ४ सय ९७ जनरल बेड रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार ५९ संक्रमित आईसीयूमा उपचाररत छन् भने १० जना भेन्टिलेटर र जनरल बेडमा ५६ जना लक्षण भएका बिरामी रहेका छन् ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा १६ आईसीयू बेड रहेकामा अहिले १२ वटा मात्र सञ्चालनमा छन् । सबै बेडमा बिरामी छन् । बुटवल कोरोना विशेष अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले संक्रमितको संख्या बढे पनि बेड नबढेको बताए । सरकारले गर्नूस् मात्र भन्ने तर कार्यान्वयनको पाटोमा मौन बसिदिँदा अस्पताललाई अप्ठ्यारो परेको उनको भनाइ छ । रूपन्देहीकै भैरहवास्थित भीम अस्पतालका पाँच आईसीयूमध्ये दुईवटा मात्र प्रयोग भइरहेको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले बताए । ‘अन्य बेडको मर्मत गरिरहेका छौं,’ उनले भने, ‘एचडीयू सुविधासहितको बेड बनाउनका लागि बजेट विनियोजन भई काम भइरहेको छ ।’

बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा पाँच आईसीयू बेड र २० एचडीयू बेड सञ्चालनमा छन् । ती बेड भरिभराउ अवस्थामा छन् । अस्पतालमा भर्ना भएका संक्रमितमध्ये दुई जना ६ देखि १२ वर्षभित्रका छन् । अस्पताल सञ्चालन भइरहेको भवनको माथिका दुई तलामा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत नेपाल केन्द्रीय विद्यापीठ रहेको छ । विद्यापीठमा हरेक दिन विद्यार्थी पढ्न आउँछन् । अस्पतालमा बिरामीको चाप यही अवस्थामा बढ्दै गएमा समस्या पर्ने जानकारी प्रशासन, स्थानीय तह र प्रदेश सरकारलाई गराएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । लकडाउनको समयमा विद्यापीठको भवनलाई कोरोना विशेष अस्पताल बनाइएको थियो । त्यतिबेला पठनपाठन बन्द भएकाले शैक्षिक भवनमा ५० शय्याको व्यवस्थापन गरी बिरामी राखिएको थियो । हाल पठनपाठन अन्यत्र सार्न कठिन भइरहेको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन प्रा.डा. सञ्जय पोखरेलले बताए ।

नेपालगन्जस्थित भेरी अस्पतालमा मंगलबार दिउँसोसम्म ८२ संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए । ‘एक सय बेड क्षमता भएकाले अहिलेसम्म थेग्न सकिएको छ,’ उनले भने, ‘संक्रमितको उपचारमा खटिने जनशक्तिलाई नै संक्रमण देखिन थालेकाले अवस्था नाजुक बन्दै गएको छ ।’ यही अवस्थामा जनशक्ति संक्रमित भइरहे अस्पताल बन्द हुने संकेत देखिएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?