१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राप्रपाको महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौँ — राप्रपाले पार्टी महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् । 

राप्रपाको महाधिवेशन कार्यतालिका हेरफेर

यसअघि वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले सक्रिय सदस्यता वितरण र स्थानीय तहहरूको अधिवेशनका लागि समय अपुग भएको भन्दै जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तालिका परिवर्तन गरेको छ ।

बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद वैशाख मसान्तसम्म थप गरेको छ । त्यस्तै वडादेखि जिल्ला तहसम्मको अधिवेशन वैशाख मसान्तसम्म, प्रदेश कार्यसमितिको निर्वाचन जेठ ७ गतेसम्म, महाधिवेशन प्रतिनिधि निर्वाचन २०७८ जेठ १० गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।

पार्टी स्थापनाको ३० वर्षपछि राप्रपाले कमिटीबाट महाधिवेशनका प्रतिनिधि चयन गर्ने परम्परा छाडेर पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छान्ने अभ्यास गर्दै छ । ‘वडा तहसम्म पार्टीका साथीहरू सक्रिय सदस्य बनाउने, वडा, गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन गर्ने अभियानमा हुनुहुन्छ तथापि समय अपुग भएकाले पूर्वनिर्धारित तालिका परिवर्तन गर्नुपरेको हो,’ श्रेष्ठले भने ।

उनका अनुसार हालसम्म मकवानपुर, रूपन्देही, सल्यान, नवलपरासी, मुगु, डोटी, उदयपुर र लमजुङ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । ‘अधिकांश जिल्लामा केही दिनभित्रै अधिवेशन गर्ने अवस्था बनिसकेको छ, वैशाख मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गरी निर्धारित मितिमा महाधिवेशन हुनेछ,’ श्रेष्ठले भने । राप्रपाको महाधिवेशनमा ४,५०० भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने उनले बताए ।

प्रकाशित : वैशाख ७, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?