कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सगरमाथासहित ६ हिमाल सफा गर्दै सेना

सैनिक र शेर्पा गरी ११२ जना खटिने
कुम्भराज राई

ओखलढुंगा — नेपाली सेनाको नेतृत्वमा ६ वटा हिमालको सफाइ गरिने भएको छ । सरकारको ‘सफा हिमाल अभियान’ अन्तर्गत सेनाले पहिलोपटक एकसाथ ६ वटा हिमाल सफाइको नेतृत्व लिएको हो । अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरि हिमाल सफाइ गरिनेछ । त्यसका लागि सेनाको टोली राजधानीबाट हिँडिसकेको छ ।

सन् २०१९ मा सगरमाथा सफाइ गर्न सेना खटिएको थियो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) सँगको सहकार्यमा त्यसबेला १० टन फोहोर र ४ वटा शव संकलन भएको थियो । यस वर्ष सेनाले ह्यान्डलिङ एजेन्सीका रूपमा पिक प्रमोसन प्रालिलाई छनोट गरेको छ । वन तथा वातावरण मन्त्रालयले अघिल्ला वर्षहरूमा हिमाल सफाइका लागि बजेट विनियोजन गरे पनि खर्च नभई फर्कने गरेको थियो । यस वर्ष सेनालाई सफाइ अभियानका लागि सोझै १० करोड रुपैयाँ उपलब्ध गराइएको थियो । त्यसपछि सेनाले विभिन्न स्रोत जुटाएर कुल १२ करोड ५५ लाख रुपैयाँमा अभियान अघि बढाएको सेनाका तर्फबाट सगरमाथा, ल्होत्से र पुमोरी सफाइको नेतृत्व लिएका सेनानी आदित्य कार्कीले बताए । सेनाले ६ हिमाल सफाइ गर्न ४ वटा टोली बनाएर खटाएको छ । सगरमाथा, ल्होत्से र पुमोरी सफाइका लागि १३ जनाको टोली खटिएको छ । आमादब्लम, मकालु र धौलागिरिमा १०–१० जना गरी ३० जना सैनिक कार्यस्थल पुगिसकेका छन् । ‘अघिल्लोपटक सगरमाथा सफाइ गर्दा सेनाको उपस्थिति आधार शिविर व्यवस्थापनमा मात्र थियो,’ अभियानका फोकल पर्सनसमेत रहेका कार्कीले भने, ‘यस वर्ष आधार शिविर व्यवस्थापन र फोहोर उठाउने अन्तिम ठाउँसम्म अनुगमन गरी प्रमाणीकरण गर्ने काम सेनाले गर्छ ।’ उनका अनुसार फोहोर संकलन, रुट फिक्सिङ र हिमाल चढ्ने काम ‘ह्यान्डलिङ एजेन्सी’ का रूपमा रहेको पिक प्रमोसनका कामदारहरूले गर्नेछन् । सेनाले प्रत्यक्ष अनुगमन र प्रमाणीकरण गरी संकलित फोहोरलाई आधार शिविरदेखि ल्याउनेछ ।

सफाइ अभियानमा सैनिक र शेर्पा गरी १ सय १२ जना खटिने उनले जनाए । यसमध्ये ४३ जना सैनिक र ६९ जना शेर्पा छन् । आरोहणबाट रित्तो फर्किने अन्य कम्पनीका शेर्पाहरूलाई पनि फोहोर संकलन गरी आधार शिविर ल्याएबापत फोहोरको परिमाण हेरी पारिश्रमिक दिने व्यवस्थासमेत गरिएको सेनाले जनाएको छ । सफाइ अभियानको टोली मे २९ (वसन्तकालीन आरोहणको अन्तिम दिन) सम्म आधार शिविरमै बसेर फोहोर संकलनमा खटिनेछ ।


प्रकाशित : वैशाख ७, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?