कांग्रेसद्वारा प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले अप्रत्याशित रूपमा प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको भर्त्सना गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले सरकारको यस्तो कदमलाई स्वेच्छाचारी प्रवृत्ति भन्दै विरोध जनाएको हो ।

कांग्रेसद्वारा प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना

‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौं महत्त्वपूर्ण विषय रहेको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर बैठकले गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलतालाई दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग कांग्रेसले माग गरेको छ । ‘विश्वबजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रूपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन हरेक नागरिकको सुरक्षा’ को द्रुत अभियान सञ्चालन गर्न बैठकले सरकारसमक्ष माग गरेको छ ।

सदस्यता बुझाउने अन्तिम मिति वैशाख १५ कांग्रेसले पार्टीको आसन्न महाधिवेशनका लागि सुरु मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको अन्तिम सूची बुझाउन स्थानीय तहलाई वैशाख १५ सम्मको समयसीमा तोकेको छ ।

एक वर्षदेखि सदस्यता वितरण र नवीकरणको कार्य थालनी गरे पनि अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन । कांग्रेसले वेबसाइटमा वैशाख १५ गतेसम्म सदस्यताको सूची इन्ट्री भइसक्नुपर्ने र राति १२ बजेपछि कम्प्युटर सिस्टम स्वतः बन्द हुने जानकारीसमेत गराएको छ ।

क्रियाशील सदस्यतासम्बन्धी नवीकरण र वितरण पार्टीको विधान, नियमावली, केन्द्रको परिपत्रबमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्लासम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेबी रकमलगायत कागजातसहित जिल्लाको प्रतिवेदन वैशाख १७ सम्म पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्णय गरेको छ ।

प्रकाशित : वैशाख ७, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?