कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीति अन्योलग्रस्त : ओली (राजनीतिक प्रतिवेदन सहित)

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक अन्योलमा कांग्रेसलाई जिम्मेवार ठहराएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको दाबी छ ।

कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीति अन्योलग्रस्त : ओली (राजनीतिक प्रतिवेदन सहित)

‘संसद्मा मुख्य विपक्षी नेपाली कांग्रेस यतिबेला अन्योलबाट गुज्रिरहेको छ । नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आकलन गरिरहेको यो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन सकेको छैन’, ओलीको प्रतिवेदनमा छ, ‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन । नेपाली कांग्रेसको यस्तो द्विविधा र कांग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको छ ।’

ओलीले संसद्ले राम्रोसँग काम गर्न नसकेको भन्दै पुन: विघटनको सम्भावना रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘प्रतिनिधिसभाको वर्तमान संरचना सरकारलाई असहयोग गर्न र यसलाई सहज ढंगले चल्न नदिन पर्याप्त छ । तर वैकल्पिक सरकार दिन र देश र जनताको हितमा काम गर्न दिन प्रतिनिधिसभा सक्षम देखिएको छैन । यस्तो स्थिति लामो समयसम्म रहिरहनु उचित हुँदैन’, प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ओलीले प्रतिवेदनमा अझै जसपाबाट सरकारलाई समर्थन हुने सुनिश्चता भइनसकेको पनि उल्लेख गरेका छन् । ‘वर्तमानमा नेकपा (एमाले) लाई बाहिर राखेर बन्ने समीकरण दिगो हुने सम्भावना छैन र त्यसले केही व्यक्तिहरुका सत्ता आकांक्षा पूरा गर्ने बाहेक देश र जनताको पक्षमा सकारात्मक योगदान दिने सम्भावना त झनै छैन । तत्काल नेकपा (एमाले) को नेतृत्वमा अर्को कुनै राजनीतिक दल सहभागी भएर दिगो राजनीतिक निकास खोज्ने सम्भावना पनि बलियो देखिएको छैन,’ प्रतिवेदनमा उल्लेख छ ।

ओलीले माओवादी केन्द्र एमाले विभाजनका लागेको आरोप लगाएका छन् । ‘फागुन २३ पछि प्रतिनिधिसभामा तेस्रो दलको हैसियतमा पुगेको नेकपा (माके) प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने र नेकपा (एमाले) लाई विभाजन गर्ने एकसूत्रीय अभियानमा केन्द्रित छ,’ प्रतिवेदनमा छ, ‘ऊ विदेशी शक्तिका लागि ‘कम्फर्टेबल सरकार’ बनाउन तयार छ । प्रधानमन्त्रीको प्रस्ताव बोकेर विभिन्न दलहरुको ढोकामा पुग्छ । आफू नेकपा (एमाले) समेतको समर्थनबाट विजयी भएको तथ्यलाई लत्याउँदै राजनीतिक स्थायित्वका पक्षमा उभिएका नेताहरुलाई कारबाही गर्छ ।’

ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘जनता समाजवादी पार्टीमा पनि अन्योल देखिन्छ । त्यसको एक पक्ष राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि सरकारसँग रचनात्मक संवाद गर्न तयार देखिएको छ भने केही नेताहरु सरकारको विरोधको एकसूत्रीय अभियानमा केन्द्रित देखिन्छन् ।’ प्रतिवेदनमा राजतन्त्र पुनरुत्थानको असम्भव माग र पश्चगामी राजनीतिको पक्षमा रहेका केही समूह/दलहरु पनि क्रियाशील रहेको उल्लेख छ । यसैगरी नागरिक आन्दोलनको आवरणमा कतिपय व्यक्ति र समूहबाट सरकारको निराधार विरोध गर्ने, प्राप्त उपलब्धिलाई ओझेलमा पार्दै एकोहोरो नकारात्मक प्रचार गर्ने, जनताका धार्मिक–सांस्कृतिक आस्था, विकास निर्माण र शान्ति सुरक्षासँग जोडिएका संवेदनशीलतामाथि खेलबाड गर्ने र सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको ओलीको दाबी छ ।

ओलीले विगतका कमिहरु सच्याएर पार्टी एकतामा योगदान गर्नुको साटो माधव नेपाल लगायत केही नेताहरु उल्टो र विभाजनकारी बाटो हिँडिरहेको आरोप लगाएका छन् । ‘फागुन २३ पछि पनि प्रचण्ड लगायत नेताहरुसँग बारम्बार गोप्य बैठक गर्ने, पार्टीविरुद्ध षडयन्त्र गर्ने, गुटगत भेला र बैठक गर्दै ‘नेकपा (एमाले) मा फर्केर केपी ओलीलाई परास्त गर्ने जस्ता निर्णय गर्ने, बैठकमा सहभागी हुन गरिएको आह्वानलाई बेवास्ता गर्दै समानान्तर गतिविधि गर्दै पार्टी विभाजनको आधार तयार गर्ने अभ्यास जारी छन्’, प्रतिवेदनमा उल्लेख छ । परिवर्तित सन्दर्भमा अब ध्यान मूलतः तीनवटा विषयमा केन्द्रित हुनुपर्ने प्रतिवेदनमा छ । जसअनुसार पार्टीको सुदृढीकरण तथा शुद्धीकरण, समृद्धिको अभियान र नयाँ निर्वाचनको तयारीलाई ओलीले प्राथामिक विषय बनाएका छन् ।

ओलीले प्रतिवेदनमा आगामी निर्वाचनबारे लेखेका छन्, ‘प्रतिनिधिसभाले पूर्ण कार्यकाल पूरा गर्न पायो भने पनि आगामी २० महिनाभित्रै नयाँ निर्वाचन हुने छ । स्थानीय तहको निर्वाचन त आगामी वर्षका लागि निर्धारित नै छ । त्यसैले सहज अवस्थामै पनि निर्वाचनको तयारीमा लाग्नु पर्ने आवश्यकता छ । तर मुलुकको तरल राजनीतिका कारण हामी छिटो निर्वाचनमा जानु पर्ने सम्भावना पनि बढ्दै गएको छ । यसका लागि हामीले हाम्रो पङ्क्तिलाई हमेशा तयारी अवस्थामा राख्नु पर्छ ।’

यस्तो छ प्रतिवेदन :

प्रकाशित : वैशाख ६, २०७८ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?