सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ — सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए । 

सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

उनले भने, 'कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी भएको छ । त्यसमा के-के पर्छन् भनेर पछि जानकारी हुनेछ ।' त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले बताए । मन्त्री साहका अनुसार अनलाइन कक्षा सञ्‍चालन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो  ।

पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न भनेको थियो । तर शिक्षा मन्त्रालयलाई निजी विद्यालय सञ्चालकहरूले अहिले नै विद्यालय बन्द गर्न नहुने भन्दै दबाब दिएपछि सरकारले के गर्ने भन्ने अन्योल थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको थियो । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाई मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेको थियो ।

प्रकाशित : वैशाख ६, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?