३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अस्पताल भरिन लाग्दा पनि तयारी सुस्त

जनशक्ति र पूर्वाधार व्यवस्थापनमा सरकारको ध्यान नपुग्दा बिरामीले उपचार नै नपाउने जोखिम कोरोना संक्रमणको दर तीव्र गतिमा बढे पनि नियन्त्रण र उपचारका लागि गतिलो तयारी हुन सकेको छैन ।
प्रदेश ब्युरो

काठमाडौँ — भारतमा तीव्र गतिमा बढेको संक्रमणले सबैजसो प्रदेश प्रभावित भए पनि रोकथाम, नियन्त्रण र उपचारका लागि गर्नुपर्ने तयारी सुस्त छ । संक्रमितको उपचारका लागि व्यवस्थापन गरिएका उपत्यका बाहिरका अस्पताल तथा स्वास्थ्य केन्द्र पनि भरिन थालेका छन् । जनशक्ति र पूर्वाधार व्यवस्थापनमा चासो नपुग्दा बिरामीले उपचार नै नपाउने जोखिम देखिन थालेको छ । 

अस्पताल भरिन लाग्दा पनि तयारी सुस्त

प्रदेश १ मा आइतबार एकै दिन ४३ जना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा मात्रै १२ महिला र १५ पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या २ सय ६६ पुगेको छ । शंकास्पदको ९ वटा ल्याबमा स्वाब परीक्षण भइरहेको छ । कोशीको कोभिड–१९ अस्पतालमा १ सय ८० शय्या, झापाको मेची अस्पतालमा ७५ र मातहतका सबै अस्पतालमा १०/१० शय्या कोरोना संक्रमितको उपचारका लागि व्यवस्था छ ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा १० आईसीयू र ५ भेन्टिलेटर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३० आईसीयू र १० भेन्टिलेटर, मेची अस्पतालमा ४ आईसीयू, विराट मेडिकल शिक्षण अस्पतालमा आईसीयू ५० र भेन्टिलेटर १६, नोबेल अस्पताल विराटनगरमा आईसीयू ९ र भेन्टिलेटर ५ र न्युरो अस्पताल विराटनगरमा आईसीयू ७ र भेन्टिलेटर ४ छ । ४ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

भरिँदै कोरोना अस्पताल

एकाएक संक्रमण बढेसँगै धनगढीको कोरोना अस्पताल र आइसोलेसन भरिभराउ हुन थालेका छन् । सुदूरपश्चिममा चैत मध्यदेखि संक्रमितको संख्या बढेको हो । आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या बढेको चिकित्सकहरूले बताएका छन् ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आइतबार २१ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार २ जना भेन्टिलेटर र ६ जना आईसीयूमा उपचाररत छन् । ११ जनालाई अक्सिजन दिनुपरेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार २२ जना संक्रमित थपिएका छन् ।

कन्सल्ट्यान्ट फिजिसियन डा. नीराजनदत्त शर्मा पौडेलका अनुसार कोरोना संक्रमणका बिरामीहरूको अवस्था तुलनात्मक रूपमा पोहोरभन्दा फरक छ । अधिकांशमा निमोनिया देखिएको छ । बिरामीको फोक्सोको तल्लो भाग बढी प्रभावित हुने गरेको पाइएको छ । ‘चलनचल्तीमा रहेका र विगतमा चलाउने गरेका औषधिहरूले अहिलेका बिरामीलाई निको हुने मात्रा निकै कम छ,’ डा. पौडेलले भने, ‘उपचारमा कठिनाइ भइरहेको छ ।’ निर्देशनालयका अनुसार सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या २ सय १६ पुगेको छ । प्रदेशका १८ वटा सरकारी स्वास्थ्य संस्थामा भेन्टिलेटरको संख्या २५ र आईसीयूको संख्या २९ छ । तीमध्ये १५ आईसीयू र १० वटा भेन्टिलेटर सेती अस्पतालमा छ । टीकापुर, बझाङ, दार्चुलाको गोकुलेश्वरमा एउटा पनि आईसीयू र भेन्टिलेटर छैन ।

प्रदेशभर हाल ८७ स्थानमा २ हजार १ सय ७८ आइसोलेसन शय्या रहेको निर्देशनालयले जनाएको छ । संक्रमण बढेसँगै प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ५० शय्याको कोरोना अस्पताल निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि धनगढी र महेन्द्रनगरमा ५० शय्याको अस्पताल छ । कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला स्वास्थ्य कार्यालय मातहतमा आइसोलेसन सेन्टर निर्माण गर्न लागिएको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निरीक्षक हेमराज जोशीले बताए ।

स्रोतसाधन छ, जनशक्ति छैन

गण्डकी प्रदेशले ११ वटै जिल्ला अस्पतालमा आफ्नै अक्सिजन प्लान्टसहितको आईसीयू सञ्चालन गर्न बजेट छुट्यायो । अक्सिजन प्लान्ट बन्यो तर त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्तिको अभाव भयो । प्रदेशको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा.रामबहादुर केसीका अनुसार म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा जिल्ला अस्पताल, पूर्वी नवलपरासीको मध्यबिन्दु अस्पताल र पोखराको मातृशिशु मितेरी अस्पतालमा अक्सिजन प्लान्टसहितको आईसीयू व्यवस्था भइसकेको छ ।

विशेषज्ञ जनशक्तिको अभाव भएपछि प्रदेशले स्टाफ नर्सलाई तालिम दिएर ती प्लान्ट सञ्चालनमा ल्याएको छ । तनहुँ, गोरखा, लमजुङ, मुस्ताङ र मनाङमा निर्माणाधीन छन् ।

प्रदेश मातहतकै शिशुवाको संक्रामक तथा सरुवा रोग अस्पतालमा जनशक्ति नहुँदा अक्सिजन प्लान्ट, आईसीयू र भेन्टिलेटर सञ्चालनमा छैनन् । अक्सिजन प्लान्टका लागि हरेक अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक एनेस्थेसिया र २ स्टाफ नर्स आवश्यक पर्छ ।

प्रदेशले २१ जना विशेषज्ञ चिकित्सकको विज्ञापन खुलाए पनि कसैको आवेदन परेन । ‘अहिले स्टाफ नर्सलाई नै तालिम दिएर काम चलाउनुपरेको छ,’ डा.केसीले भने । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका अस्पतालका २ सय ४१ आईसीयू शय्यामध्ये ५५ र ६२ भेन्टिलेटरमध्ये ४ मात्रै प्रयोगमा छन् । संक्रमित ४ जना पोखराको मेडिप्लस अस्पतालको आईसीयू र एक जना धौलागिरि अस्पतालको भेन्टिलेटरमा छन् । हाल कास्कीमा ४ सय ९ सक्रिय संक्रमित छन् । कास्कीपछि बागलुङमा सक्रिय संक्रमित ५६, तनहुँमा, पूर्वी नवलपुर र स्याङ्जामा १२–१२, पर्वतमा ८, म्याग्दीमा ४ र गोरखामा एक जना सक्रिय संक्रमित छन् । यीमध्ये ४ सय ६८ संक्रमित होम आइसोलेसनमा छन् । लमजुङ, मनाङ र मुस्ताङमा भने संक्रमण देखिएको छैन ।

कर्णालीमा शनिबारसम्म ७६ जना सक्रिय संक्रमित आइसोलसनमा छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सुर्खेतका ६१ जना होम आइसोलसनमा छन् । प्रदेश अस्पतालको आईसीयूमा ८ जनाको उपचार भइरहेको कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए । कर्णालीमा चैतदेखि भने संक्रमितको संख्या बढेको निर्देशनालयका सूचना अधिकारी नोधनारायण चौधरीले बताए । प्रदेश अस्पतालमा ३० बेड आईसीयू र ८ वटा भेन्टिलेटर तयारी अवस्थामा छन् । पूर्वाधार थप्नेबारेमा छलफल भइरहेको उनले बताए ।

शंकास्पदहरू परीक्षणका लागि नआएपछि जुम्लामा जाँच रोकिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले सातामा दुई दिन कोरोना परीक्षण गरिरहेको निमित्त निर्देशक डा. हरिहर देवकोटाले बताए । अहिले मंगलबार र शुक्रबार पीसीआर परीक्षण भइरहेको छ । ‘शंकास्पद व्यक्ति नै नदेखिएपछि परीक्षण कम भएको हो,’ उनले भने । भारतमा संक्रमण बढेसँगै कामका लागि गएकाहरू घर फर्किन थालेका छन् । भारतबाट बबई र कुइने नाका हुँदै दैनिक करिब २ सय जना कर्णाली भित्रिरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । एक महिनाको अवधिमा भारतबाट करिब ५ हजार जना भित्रिएको कार्यालय प्रमुख चेतनिधि वाग्लेले बताए ।

एकै दिन दुई संक्रमितको मृत्यु

दैलेखमा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । शनिबार दुल्लु अस्पतालमा ३८ वर्षीय पुरुष र उपचारका लागि नेपालगन्ज पुगेकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो । रोजगारीका लागि मजदुरी गर्न भारत पुगेका दुल्लु–२ का ३८ वर्षीय युवक ५ दिनअघि फर्किएका थिए । भारतमै संक्रमण देखिए पनि उनले कसैलाई भनेका थिएनन् । गम्भीर अवस्थामा अस्पताल पुगेका उनको उपचारको क्रममा मृत्यु भएको दुल्लु अस्पतालकी डा. रञ्जना रोकायले बताइन् । संक्रमितको मृत्युपछि ५ स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका छन् ।

त्यस्तै नारायण–१ की ६७ वर्षीया वृद्धाको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर ओलीले जिल्लामा शंकास्पद बिरामीको मात्र परीक्षण भइरहेको बताए । ‘किट अभाव छ, पीसीआर ल्याब चलाउन पर्याप्त बजेट छैन,’ उनले भने ।

रुकुम पश्चिममा एन्टिजेन परीक्षण भइरहेको छ । जिल्ला अस्पतालमा ५ जनाको परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित ५३ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि सुर्खेत पठाइएको छ ।

प्रदेश २ मा संक्रमण बढे पनि अस्थायी राजधानी जनकपुरमै उपचारको सुविधा छैन । झन्डै १५ लाख जनसंख्या भएको धनुषा र महोत्तरीलाई लक्षित गरी महोत्तरीको जलेश्वरमा ५० बेडको कोरोना अस्पताल छ । प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोदकुमार यादवका अनुसार हाललाई जलेश्वरमा आइसोलेसन सेन्टर सञ्चालन गरिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवणकुमार मिश्रका अनुसार शनिबार पर्सामा ५७, सर्लाहीमा १०, धनुषामा ७ जना कोरोना संक्रमित फेला परेका थिए । गौरमा १५ जनाको पीसीआर परीक्षण गर्दा १० जना, वीरगन्जमा ९४ जनाको परीक्षण गर्दा ५७ जना र जनकपुरमा २२ जनाको परीक्षणमा सात संक्रमित फेला परेको उनले बताए ।

-देवनारायण साह (मोरङ), अर्जुन शाह (धनगढी), दीपक परियार (पोखरा), प्रकाश बराल (बागलुङ), चाँदनी कठायत (वीरेन्द्रनगर), ज्योति कटुवाल (दैलेख), हरि गौतम (रुकुम पश्चिम), श्यामसुन्दर शशि (जनकपुर), शंकर आचार्य (पर्सा)

प्रकाशित : वैशाख ६, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?