नेपाल पस्न खोज्ने दुई चिनियाँ पक्राउ

काँकडभिट्टा — भारतबाट पूर्वी नाका हुँदै अवैधानिक रूपमा चिनियाँ नागरिकले नेपाल प्रवेशको प्रयास गरेको खुलेको छ । नक्सलबारी नजिकैको बरामनीराम जोतबाट दुई चिनियाँ शुक्रबार पक्राउ परेपछि उनीहरूको तयारी खुलेको हो ।

पश्चिम बंगालमा जारी विधानसभा निर्वाचनका कारण नाका सिल थियो । उनीहरू नक्सलबारी–बाहुनडाँगी नाका भएर नेपाल पस्न लागेका थिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आठौं बटालियन कम्पनीका सुरक्षाकर्मीले चेन जिफा र डिङ्ग सु सेन्गलाई पक्राउ गरेको हो ।

एसएसबीले सोधपुछका क्रममा उनीहरू चिनियाँ भएको पुष्टि भएको भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले बताए । उनले भने, ‘उनीहरूलाई नेपाल पस्नै नपाई उतै इन्डियामै पक्राउ गरिएको हो ।’

एसएसबीले उनीहरूलाई नेपाल पठाउन सहजीकरण गर्ने भारतीय नागरिक मोहम्मद इब्राहिमलाई पनि पक्राउ गरेको छ । इब्राहिमले पैसा लिएर उनीहरूलाई नेपाल प्रवेश गराउन लागेका थिए । ‘चिनियाँहरूसँग वैधानिक डकुमेन्ट पनि छैन,’ एसएसबी बटालियनले भनेको छ, ‘हामीले समातेर अनुसन्धान सुरु गरेका छौं ।’

प्रकाशित : वैशाख ६, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?