कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्‍नेलाई नै सिध्याइदिए : नेता नेपाल 

नगेन्द्र अधिकारी

काभ्रे — एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्ने धम्की दिएकाले ‘उसैलाई’ सिध्याइदिएको तर्क गरेका छन् ।

कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्‍नेलाई नै सिध्याइदिए : नेता नेपाल 

आफू पक्षीय नेता कार्यकर्तालाई बनेपामा सम्बोधन गर्दै उनले ओलीको शैलीको कारण यस्तो परिणाम आएको दाबी गरे । ‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि, ‘मर्ता क्या नै कर्ता’ भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको बिजोग भएको छ,’ नेता नेपालले भने, ‘म अल्पमतमा पर्ने गल्ती गर्दिनँ, म बहुमत हुँ, मेरो आदेश पालना गर्नुपर्छ भन्ने सोचका कारण हो, उनी (ओली)लाई संगठन चाहिएको छैन, विधि चाहिएको छैन, पार्टी र आन्दोलन चाहिएको छैन ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ‘फ्लोर क्रस’ गरी एमालेका ४ सांसदले मतदान गरेका थिए । अन्य प्रदेशमा के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा भने नेता नेपालले ‘आफूले त्यसबारेमा बुझ्न नपाएको’ प्रतिक्रिया दिए । कार्यक्रममा सहभागी एमालेका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले भने ओलीको यही शैली रहे वाग्मतीका साथै अन्य प्रदेशमा पनि ‘फ्लोर क्रस’ हुने बताएका थिए ।

ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचनमा पाएको नेता नेपालले दाबी गरे । ‘पत्रकारको चुनाव भएको थियो, हाम्रो गठबन्धनले जित्यो, माधव नेपालका एक/एक मान्छेलाई धक्का दिइनेछ, एउटा सिटमा ल्याउन दिइने छैन भनेपछि ११ वटा संगठन एकातिर, केपी ओलीको सानो गुट एकातिर भएपछि केन्द्रीय कमिटीमा केपी ओलीका मान्छे टर्च बालेर खोज्नुपर्ने स्थिति बन्यो, धूलो चटाइदिए साथीहरुले ।’

उनले दम्भ र निरंकुश शैली त्यागेर जेठ २ गतेको स्थितिमा फर्कन आग्रह गर्दै मिलेर जान तयार भएको बताए । ‘हामी व्यक्तिको विरोधी हैनौं, प्रवृत्तिको विरोध गरेका हौं,’ उनले भने, ‘हामीले उहाँलाई हटाउन चाहेको हैन, अझै २ वर्ष नेतृत्व गर्नुस् तर यस्तो धुन्धकारी निर्णय गर्दै नजानुस् ।’

ओलीले संविधान, पार्टी विधानविपरीत महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएको तर्क गर्दै उनले ओलीले गरेका अवैधानिक बैठक, कमिटी र तीनका निर्णय सबै खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको बताए । अधिकांश समय ओलीको आलोचनामा खर्चेका नेता नेपालले उनलाई झुटको पुलिन्दा, अराजकताको पर्याय र ध्वंसका बाहक भएको आरोप लगाए । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको अराजकता र निरंकुश शैलीको विरोध गर्नुपर्ने तर्क गरिन् ।

प्रकाशित : वैशाख ५, २०७८ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?