कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्‍नेलाई नै सिध्याइदिए : नेता नेपाल - समाचार - कान्तिपुर समाचार

कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्‍नेलाई नै सिध्याइदिए : नेता नेपाल 

नगेन्द्र अधिकारी

काभ्रे — एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्ने धम्की दिएकाले ‘उसैलाई’ सिध्याइदिएको तर्क गरेका छन् ।

आफू पक्षीय नेता कार्यकर्तालाई बनेपामा सम्बोधन गर्दै उनले ओलीको शैलीको कारण यस्तो परिणाम आएको दाबी गरे । ‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि, ‘मर्ता क्या नै कर्ता’ भनेजस्तो उसैलाई सिध्याइदिए, अहिले उनको बिजोग भएको छ,’ नेता नेपालले भने, ‘म अल्पमतमा पर्ने गल्ती गर्दिनँ, म बहुमत हुँ, मेरो आदेश पालना गर्नुपर्छ भन्ने सोचका कारण हो, उनी (ओली)लाई संगठन चाहिएको छैन, विधि चाहिएको छैन, पार्टी र आन्दोलन चाहिएको छैन ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ‘फ्लोर क्रस’ गरी एमालेका ४ सांसदले मतदान गरेका थिए । अन्य प्रदेशमा के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा भने नेता नेपालले ‘आफूले त्यसबारेमा बुझ्न नपाएको’ प्रतिक्रिया दिए । कार्यक्रममा सहभागी एमालेका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले भने ओलीको यही शैली रहे वाग्मतीका साथै अन्य प्रदेशमा पनि ‘फ्लोर क्रस’ हुने बताएका थिए ।

ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचनमा पाएको नेता नेपालले दाबी गरे । ‘पत्रकारको चुनाव भएको थियो, हाम्रो गठबन्धनले जित्यो, माधव नेपालका एक/एक मान्छेलाई धक्का दिइनेछ, एउटा सिटमा ल्याउन दिइने छैन भनेपछि ११ वटा संगठन एकातिर, केपी ओलीको सानो गुट एकातिर भएपछि केन्द्रीय कमिटीमा केपी ओलीका मान्छे टर्च बालेर खोज्नुपर्ने स्थिति बन्यो, धूलो चटाइदिए साथीहरुले ।’

उनले दम्भ र निरंकुश शैली त्यागेर जेठ २ गतेको स्थितिमा फर्कन आग्रह गर्दै मिलेर जान तयार भएको बताए । ‘हामी व्यक्तिको विरोधी हैनौं, प्रवृत्तिको विरोध गरेका हौं,’ उनले भने, ‘हामीले उहाँलाई हटाउन चाहेको हैन, अझै २ वर्ष नेतृत्व गर्नुस् तर यस्तो धुन्धकारी निर्णय गर्दै नजानुस् ।’

ओलीले संविधान, पार्टी विधानविपरीत महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएको तर्क गर्दै उनले ओलीले गरेका अवैधानिक बैठक, कमिटी र तीनका निर्णय सबै खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको बताए । अधिकांश समय ओलीको आलोचनामा खर्चेका नेता नेपालले उनलाई झुटको पुलिन्दा, अराजकताको पर्याय र ध्वंसका बाहक भएको आरोप लगाए । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको अराजकता र निरंकुश शैलीको विरोध गर्नुपर्ने तर्क गरिन् ।

प्रकाशित : वैशाख ५, २०७८ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाका प्रजिअको सुझाव- शैक्षिक संस्था तत्काललाई बन्द गर्नुपर्छ

मातृका दाहाल

काठमाडौँ — कोरोना महामारीको जोखिम कम नभएसम्म राजधानीका शैक्षिक संस्था बन्द गर्न उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले सुझाव दिएका छन् ।

कोरोना संकट व्यवस्थापन केन्द्रको सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुले महामारीबाट विद्यालय तहका छात्रछात्रामा संक्रमण फैलिन थालेकोले अर्को निर्णय नभएसम्म सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका हुन् ।

भीडभाड हुने अन्य क्षेत्र र होटल/रेस्टुराँलगायतलाई मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने पनि सुझाव प्रजिअहरुले दिएका छन् । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले ततकाललाई वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने र त्यसपछि पनि जोखिमको अवस्था हेरेर थप निर्णय लिनुपर्ने सुझाव आफूहरुले दिएको बताए । प्रशासनको सुझावलाई सीसीएमसीले गम्भीरताका साथ लिएको र यसलाई मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गर्ने निर्णय भएको उनले बताए ।

शनिबारको सीसीएमसीको आकस्मिक बैठकले वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्नुपर्ने प्रस्ताव गरेको थियो । यसपछि आइतबार तीन जिल्लाकै प्रजिअसँग उपत्यकाको अवस्था र जोखिम नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे सीसीएमसीले छलफल र रायसुझाव मागेको थियो । ‘हामीले अहिलेलाई निजी र सार्वजनिक सबै किसिमका शैक्षिक संस्था बन्द गरेर वैकल्पिक पठनपाठनको व्यवस्था मिलाउनुपर्ने सुझाव सीसीएमसी बैठकमा दिएका छौं,’ काठमाडौंका प्रजिअ पराजुलीले कान्तिपुरसँग भने, ‘हाम्रो सुझाव र शनिबारको सीसीएमसीको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गर्ने कुरा भएको छ ।’

महामारीको जोखिम बढेकोले जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गर्न पनि सीसीएमसीबाट निर्देशन भएको उनले बताए ।

प्रकाशित : वैशाख ५, २०७८ १८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×