३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गृहमन्त्री थापाको सांसद पद गयो

इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेज भएको छ । 

गृहमन्त्री थापाको सांसद पद गयो

थापालाई सांसदबाट हटाउन भनी माओवादी केन्द्रले बुझाएको पत्र संघीय संसद् सचिवालयले स्वीकृत गरेको हो । यससँगै थापाको गृहमन्त्रीको पद पनि गएको छ ।

थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित भएका थिए । माओवादी केन्द्रको संसदीय दल बैठकले थापाले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो । नेता दीनानाथ शर्माले चैत २७ गते संसद् सचिवालयमा पत्र बुझाएका थिए ।

यसअघि माओवादी केन्द्रले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका अरू चार नेतालाई पनि सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको थियो । माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परिवर्तन गरेकाले सांसद पदबाट हटाउन भनी पत्र बुझाएको थियो । उनीहरू चारै जना वर्तमान सरकारमा मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनीत भएका छन् । सांसद पद गएपछि मन्त्रीबाट पनि हटेका उनीहरूलाई पुन: मन्त्री नियुक्त गरिएको हो । उनीहरू संवैधानिक प्रावधानअनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् । सांसद नभएको व्यक्ति ६ महिना मात्र मन्त्री बन्न पाउने व्यवस्था छ ।

फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएर नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि थापासहित माओवादीका पाँच सांसद एमालेतिर लागेका थिए ।

प्रकाशित : वैशाख ५, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?