वैशाखभित्रै रेल चलाउने तरखर

जनकपुर — कैयौं पटक तोकिएको साइतमा रेल सञ्चालनमा नल्याउँदा आलोचना खेपिरहेको सरकारले वैशाखभित्रै जयनगर–जनकपुर रेल चलाउने भन्दै तयारी गरिरहेको छ । यसअघिका रेल सेवा सञ्चालनका लागि ट्रेन सेट र रेलवे ट्रयाकमात्रै भएर पुग्दैन, छुट्टै कानुन, कर्मचारी पदपूर्ति र प्राविधिक टिमको बन्दोबस्ती पनि चाहिन्छ । ती तीन व्यवस्थापन बाँकी छँदै रेल सञ्चालनको मिति तोकिएको छ । 

वैशाखभित्रै रेल चलाउने तरखर

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले शुक्रबार र शनिबार धनुषा र महोत्तरीका सुरक्षा अधिकारी, राजनीतिकर्मी र स्थानीयसँगको भेटमा ‘वैशाखभित्रै रेल सञ्चालन’ हुने आश्वासन बाँडेका छन् । उनले रेल्वेका प्राविधिक टिमसहित ट्रलीमा चढेर रेल सञ्चालनको तयारी अनुगमनसमेत गरे । जनकपुर प्लेटफर्मबाट ट्रली चढेर मन्त्री नेम्वाङ सुरुमा इनर्वा रेल्वे स्टेसन पुगे । भारतसँग खरिद गरिएको दुई सेट रेल त्रिपाल ओढाएर इनर्वा स्टेसनमै राखिएको छ ।

मन्त्री नेम्वाङले रेलको इन्जिन र यात्रु कोच, रेल्वे स्टेसन, टिकट काउन्टर, लिकको अवस्था र सुरक्षा बन्दोबस्तबारे चासो राखेका थिए । उनलाई नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाले रेलसम्बन्धी र धनुषा तथा महोत्तरीका सुरक्षा अधिकारीहरूले सुरक्षाबारे बिफ्रिङ गरे । ‘रेल छिटै सञ्चालनमा आउने मन्त्रीज्यूको भनाइ रह्यो,’ धनुषा प्रहरीका प्रमुख एसपी प्रकाश रानाभाटले कान्तिपुरसँग भने, ‘हामीले सुरक्षा प्रबन्धका बारेमा जानकारी गरायौं ।’

दुई वर्षअघि नै जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर ब्रोडगेज रेल्वे लिक तयार भइसकेको छ । यस्तै, कुर्थादेखि करिब १८ किलोमिटर ब्रोडगेज लिक निर्माण पनि अन्तिम चरणमा छ । महोत्तरीको बिजलपुरादेखि बर्दिवाससम्मको लिक निर्माण भने मुआब्जा विवादले रोकिएको छ । मन्त्री नेम्वाङले शनिबार महोत्तरीका राजनीतिकर्मी र स्थानीय जग्गादातासित मुआब्जा विवादबारे पनि छलफल गरेका छन् ।

भारत सरकारले जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज निर्माण गर्नेछ । उक्त खण्ड तयार भए जयनगरमा रहेका भारतका ठूलो रेल्वे जक्सनसँग नेपालको पूर्वपश्चिम राजमार्ग पनि जोडिनेछ । भारत सरकारले नेपालका लागि ब्रोडगेज लिक निर्माण गरे पनि रेल भने आफ्नै गुडाउन नेपालले गत साउनमा ८५ करोड रुपैयाँमा खरिद गरेको दुई सेट आधुनिक कोच कानुन, कर्मचारी र प्राविधिकको अभावमा थन्किएको छ । ‘लामो समयदेखि रेल सञ्चालन नहुँदा गलत सन्देश गएको छ । सबै प्रक्रिया टुंगाएर वैशाखभित्रै रेल सञ्चालनमा ल्याइनेछ,’ मन्त्री नेम्वाङको भनाइ उद्धृत गर्दै एमाले धनुषाका नेता शम्भु साहले भने, ‘बढीमा २० दिनभित्रमा रेल चलिसक्छ । त्यहीअनुरूप तयारी भइरहेको छ ।’

प्रकाशित : वैशाख ५, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?