२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अंग बेच्न हत्या, ६ आरोपित पक्राउ

मनोज पौडेल

कपिलवस्तु — मानव अंग बेचबिखन आरोपमा पक्राउ परेका आरोपितको बयान सुन्दा प्रहरी नै चकित भएका छन् । तान्त्रिक कामका लागि हातका औंला ७०/८० लाख रुपैयाँमा बिक्री हुने सुनेर महिलाको हत्या गरेको उनले बयान दिएका छन् ।

अंग बेच्न हत्या, ६ आरोपित पक्राउ

घटना गत चैत १२ को हो । एक महिलाको हत्या गरी हातका औंला काटेर शुद्धोदन गाउँपालिका–६ बेती नदीमा फालिएको थियो । त्यसको ८ दिनपछि स्थानीयले नदीमा तैरिइरहेको शव देखेर प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो । घाँटी थिचेर महिलाको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुल्यो । त्यतिन्जेल कतैबाट महिला हराएको सूचना प्रहरी कार्यालयमा दर्ता भएको थिएन । जसले गर्दा शव सनाखत गर्न प्रहरीलाई सकस भइरहेको थियो । सोधखोज चलिरहेको थियो । त्यस क्रममा महिलाले लगाएको भित्री वस्त्रभित्र एउटा कागजको टुक्रा भेटियो । जसमा मोबाइल नम्बर लेखिएको थियो । त्यसमा नाम उल्लेख थिएन । प्रहरीले उक्त मोबाइल नम्बरका आधारमा छानबिन गर्‍यो ।

उक्त मोबाइल नम्बर कसको नाममा दर्ता छ भन्ने पत्ता लगाउने क्रममा हत्या गरिएकी महिलाको पहिचान खुल्यो । त्यो नम्बर उनकै थियो । उनलाई हत्या गरेपछि अभियुक्तले मोबाइल लिएर गएका थिए । नम्बरबाट महिलाको पहिचान खुलेपछि उनका भाइ आएर शव सनाखत गरे । उनी रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ बुडन्तपुरमा माइतीमा बस्दै आएकी ४२ वर्षीया सारजहाँ दर्जी थिइन् । त्यसपछि प्रहरीले हत्याका आरोपी पत्ता लगाउन मोबाइल ‘ट्रेस’ सुरु गर्‍यो । घटनामा संलग्नले सिम फेर्दै दर्जीकै मोबाइल सेट चलाइरहेका थिए । सेटको आईएमईआई नम्बर पत्ता लागेछि आरोपित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई साता अनुसन्धानपछि प्रहरीले पक्राउ गरेका ६ जनालाई शुक्रबार सार्वजनिक गरेको हो । एक जना शनिबार राति पक्राउ परेका छन् । प्रहरीले सुरुमा शुद्धोदन गाउँपालिका–२ नन्दनगरका ३९ वर्षीय अब्दुल कलाम मुसलमान र ४५ वर्षीय बेलाल अहमद मुसलमानलाई पक्राउ गर्‍यो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार शुद्धोदन गाउँपालिका–५ शिवलवाका कृष्ण कुर्मीले ती दुई जनालाई तान्त्रिक कामका लागि हातको औंला महँगोमा बिक्री गरेर राम्रो कमाइ हुने सुनाएका थिए । त्यसपछि अब्दुल र बेलालले आफूले चिनेकी सारजहाँलाई बोलाएर हत्या गरेको खुलेको छ ।

पुरानै चिनजान भएकाले बोलाएपछि ती महिला हर्दिहवा पुगेकी थिइन् । नदी छेउमा बसेर कुराकानी गरिरहेकै बेला दुवै जनाले उनको घाँटी थिचे । महिला चलमलाउन छाडेपछि बेलालले उनका दुवै हातका बूढी औंलाबाहेक ८ वटा औंला काटेर प्लास्टिक झोलामा राखे । शव बोरामा हालेर खोलामा डुबाए । पक्राउ परेका अब्दुल र बेलालले चारवटा औंला कृष्णलाई बेच्न दिएको प्रहरीलाई बताएका छन् । कृष्णले दुईवटा औंला शुद्धोदन–५ बिसुनपुराका रामहरक यादव र दुईवटा रूपन्देहीको सैनामैना–१ बनकट्टाका कर्णबहादुर सुनारलाई दिएको बताए । रामहरकले प्रहरीसमक्ष आँगनमा सुकाउन राखेको औंला कागले खाइदिएको बताएका थिए । सुनारसँग रहेको औंलाका हड्डी बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए । बाँकी औंलाको खोजी भइरहेको छ । कृष्ण, कर्णबहादुर र रामहरक तीन जना पक्राउ परेका छन् । मध्यविन्दु–७ घर भई हाल बुटवल–९ शिवनगरमा डेरा गरी बस्दै आएका खेमबहादुर मल्ललाई दुईवटा औंला बेच्न दिइएको खुलेको एसपी अधिकारीले बताए ।

औंला बिक्री गर्ने गिरोहमा रहेको आरोपमा सत्यनारायण बढईलाई प्रहरीले शनिबार राति रूपन्देहीको फर्साटिकरबाट पक्राउ गरेको छ । बढईबाहेक ६ जनालाई संगठित अपराध तथा कर्तव्य ज्यान, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित : वैशाख ५, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?