कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विभेदको घुम्टो

मधेसका दलित बस्तीमा जातीय विभेदविरूद्ध लडिरहेकी जानकीदेवी रामको संयोगवश राजनीतिक पदोन्नति भयो । चैत तेस्रो साता माननीय भएर संसद् भवन छिरिन् तर काठमाडौं पसेको दुई सातामै उनलाई मधेसको भन्दा काठमाडौंको विभेद भयानक लागेको छ ।
बिनु सुवेदी

काठमाडौँ — नामले मात्रै केही अर्थ राख्थ्यो भने उनको नाम प्रदेश २ का हरघरका लागि पूजनीय हो । कामकै आधारमा मात्रै मूल्यांकन हुने परिस्थिति पनि बनेन किनभने उनी पहिलो त महिला हुन्, अनि दलित ।

विभेदको घुम्टो

प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएयता तीनवटा बैठकमा सहभागी भएकी जानकीदेवी राम यसपालि संयोगले मात्रै ‘माननीय’ हुन पाएकी हुन् । दलित महिला कोटाबाट समानुपातिक सांसद भएकी सानु सिवाको गत असोज २८ गते निधन भएपछि पद रिक्त भयो । उक्त पदमा एमालेले समानुपातिक सूचीमा परेकी धनकुमारी सुनारलाई राख्नेवाला थियो तर उनले एमाले छाडेपछि उक्त पदमा जानकीदेवीको नाम आयो । यो संयोग हुन्थेन भने उनले सिरहाका दलित बस्तीमा गरेको योगदानको रेकर्ड केन्द्रमा दर्ता हुने थिएन ।

किसान आन्दोलनमा लागेकै कारण उनको हजुरबा जहर दासलाई पञ्चायती सरकारले तीन महिनासम्म जेलमा राख्यो । त्यो बेला तीन कट्ठा जग्गा बेचेर हजुरबुवा रिहा त भए, जेलभित्रको कठोर यातनाका कारण निस्किएको ६ महिना नबित्दै उनको निधन भयो । हजुरबाको राजनीतिक झुकावबारे अलिअलि मात्रै जानेकी जानकीदेवी रामको विवाह ५ वर्षकै उमेरमा ६ वर्षका बद्रीनारायण रामसँग भयो । विवाहपछि सिरहाको गोलबजारका बद्री जानकीदेवीकै माइती अर्थात् ससुराली बलहीमा बसेर पढ्न थाले । जानकीदेवीले घरव्यवहार चलाउन थालिन् ।

‘त्यतिखेर दलितका राम्रा छोरी देखेपछि ठूला जातकाले शोषण गर्थे, त्यसैले हाम्रो बालविवाह हुन्थ्यो,’ जानकीदेवीले प्रस्ट्याएजसरी भनिन् । पञ्चायतकालीन समयमा बलहीमा पढ्दापढ्दै बद्रीनारायण भूमिगतकालीन पार्टी संगठनमा आबद्ध भइसकेका थिए । २०४२ सालपछि जानकीदेवी पनि तत्कालीन मालेको पूर्णकालीन कार्यकर्ता भइन् । दलित, उत्पीडित जातीय मुक्ति समाजका नाममा उनीहरूले गाउँगाउँमा चेतना जगाउने काम गरे । त्यो बेला नै उस्तो, दलितका छोराछोरीले जुत्ता चप्पल लगाउँदा पनि गाउँमा विकृति फैलियो भनेर हावाकावा पारिन्थ्यो, छोराछोरीलाई स्कुल पठाए उल्टै अनेक कुरा सुन्नुपर्थ्यो तर उनले हिम्मत हारिनन् ।

‘गाउँमा कसैको श्रीमती, छोरीचेलीले खुट्टामा चप्पल लगाउँदैनथे, मैले चप्पल लगाएपछि यसले चप्पल लगाउँछे, गाउँमा विकृति हुने भयो, यसको खुट्टा काट्नुपर्छ भन्थे,’ जानकीदेवीले भनिन्, ‘टोलैभरिका मिलेर कहिले सामाजिक बहिष्कार गर्ने, कहिले इनार छुन नदिने गर्थे ।’ तर उनले आफ्नो समुदायका महिलालाई सचेत बनाउन छोडिनन् । राजनीतिक आवरणमा व्यक्तिगत स्वार्थ मौलाइरहेको समयमा उनले भने समाजकै लागि काम गरिन् । जातीय मुक्तिका अधिकांश आन्दोलनमा सहभागी भएकी उनीसँग प्रहरीको लाठीले धेरैपटक टाउको फुटाएको अनुभव पनि छ । त्यतिबेला राजनीतिक रूपमा सक्रिय भएकै कारण समाजले लगाउने लाञ्छानाले उनको मन धेरैपटक टुट्थ्यो । उनले अप्ठ्यारोले घेरिएको विगत सम्झिँदै भनिन्, ‘समाजको सोच फेर्न पहिले आफ्नो परिवार र आफैंबाट सुरु गर्नुपर्छ ।’ त्यसैले उनले एक छोरी र दुई छोरालाई पढ्न कहिल्यै रोकिनन्, बरु अभावले घेरिएका संकटपूर्ण समय गुजारिन् । गाउँको छोइछिटो, दुर्व्यवहार र शोषणले हद नाघेकै थियो, त्यस्तो बेला समाजको पावन्दी नमानेर अघि बढ्न जसलाई पनि कठिन हुन्थ्यो, उनलाई झन् धेरै भयो ।

भेदभाव हुन हुन्न भनेर आवाज उठाएकै कारण उनले गाउँको साझा इनारबाट पानी भर्न पाइनन् । छोराछोरीलाई पढाएकै कारण गाउँलेहरूले नै खिसिट्युरी गरे । छोरी स्कुल पठाएर बिगारेको भन्दै जानकीदेवीको चरित्रमाथि टीकाटिप्पणी गर्ने पनि कम भएनन् । एकातिर लालाबाला पढाउने जिम्मेवारी अर्कातिर आन्दोलन, साथमा घरभित्रको गरिबी र अभाव जानकीदेवी रामलाई दलितमाथि भइरहेको विभेदको अन्त्य नगरी भएको थिएन । त्यसैले रातबिरात कहिले चप्पल पड्काएर, कहिले खुट्टाका चप्पल हातमा समाएर दौडादौड गरिन् । महिलालाई एकताबद्ध गरिन्, जातीय विभेदविरुद्ध नेताहरूले बनाएका योजनालाई गाउँको तल्लो तहसम्म लगेर कार्यान्वयन गर्ने जिम्मेवारी जानकीदेवीहरूकै काँधमा थियो ।

असाध्य विभेदहरूका बीचमा एकताबद्ध भइरहेका उनीहरूले २०५६ मा सिनो बहिष्कार आन्दोलन गरे । सप्तरीको कनकपुरबाट सुरु भएको यो आन्दोलनको मुस्लो सिरहाको लहान पुग्न क्षणभर पनि लागेन । दलित तथा भूमि आन्दोलनका अगुवा बलदेव रामले सप्तरीमा आन्दोलन सुरु गरेपछि जानकीदेवीहरू सिरहामा जुरुक्कै उठे तर त्यसरी उठेर आन्दोलित हुन उनीहरूलाई सानो ताकतले पुग्ने कुरै भएन ।

त्यसमाथि उपल्ला भनिएका जातिहरूले आन्दोलनरत दलित समुदायका लागि नाकाबन्दी नै गरिदिए । त्यो बेलासम्म दलित समुदायको एउटा पनि पसल थिएन, ठूला भनिएकाहरूले सामान किन्न र आवतजावत गर्नै नदिए पनि जानकीदेवीहरू झन् आन्दोलित भए । अनि त सिनो बहिष्कार आन्दोलन काठमाडौंसम्मै आयो । त्यतिखेरै सिंहदरबार घेराउका बेला प्रहरीको लाठी लागेर जानकीदेवीको टाउको फुट्यो तर निष्कर्षमा नपुग्दासम्म आन्दोलन रोकिएन ।

‘जुन काम गर्दा हामीलाई अछूत भनियो, त्यो काम नै नगरे त हामी पनि बराबर हुन्छौं नि भनेर हामीले सिनो बहिष्कार आन्दोलन गरेका हौं,’ जानकीदेवीले भनिन्, ‘तर चमार जातिका मान्छेलाई केही किनमेल गर्न नदिने, पसलमा जान नदिने, कुटपिट गर्ने गर्न थाले । पछि त हामीले जित्यौं ।’ अहिले जानकीदेवीलाई लाग्छ, विभेद अन्त्यको त्यो सुरुवाती आन्दोलन हो, निष्कर्ष होइन । त्यसैले आफ्नो समुदायका लागि अझै पनि डटेर लाग्नुपर्छ भन्ने हुटहुटी ६५ वर्षको यो उमेरमा पनि उनको मनमा छ तर उनी भर्खरै छिरेको काठमाडौं उनले सोचेजति प्रगतिशील छैन ।

000

२०५६ को त्यो आन्दोलन एउटा निष्कर्षमा त पुग्यो तर त्यसले जानकीदेवीहरूलाई अभाव चिन्न झन् धेरै मद्दत गर्‍यो । पैसाबिना आन्दोलन गर्न कठिन हुने रै’छ भन्ने लागेरै हुनुपर्छ उनले २०५७ सालमा सिरहामै दलित सेवा समाज संघ खोलिन् । संघमार्फत विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा गाउँमा शिक्षाको धुनी जगाउन थालियो । जानकीदेवी कहिले महिला स्वास्थ्य स्वयंसेविका भएर त कहिले गाउँले महिलाको अगुवाइ गरेर आन्दोलित भइरहिन् । ‘चमार्नीले गाउँ बिगारी भन्नेहरूलाई केही न केही जवाफ दिनु थियो, त्यही भएर पनि म कहिल्यै निराश भइनँ,’ उनले भनिन् ।

२०५७ देखि २०६७ सालसम्म उनी त्यही दलित सेवा संघको अध्यक्ष भएर काम गरिन् । साबुनपानीले हात धुनेदेखि चुनावमा कसरी भोट हाल्ने भन्नेसम्मको शिक्षा दलितबस्तीमा बाँड्दै हिँडिन् । गाउँमा छोराछोरीलाई स्कुल पठाउने स्पर्धा चल्यो । त्यसमा पनि उनी अग्रपंक्तिमै आइन् । उनका एक छोरी, दुई छोरा र बुहारीहरू सबै पढेका छन् । छोराछोरीको पढाइबारे बताउँदा जानकीदेवी एकाएक उज्यालिन्छिन् । ‘मैले एउटा तालिममा जाँदा बाबुआमाले जन्म दिने हो, कर्म दिने हैन भनेर सुनें,’ उनले भनिन्, ‘त्यस्तो हैन नि, छोराछोरी जन्माएपछि हामीले पढाउनु पनि पर्छ, बाटो देखाउनुपर्छ । मैले अरू दिदीबहिनीलाई पनि यो कुरा भनें, अहिले हाम्रो घरटोलमा पढेका छोराछोरी छन् ।’

दलितका छोराछोरीले पढे पनि कसैले जागिर दिन्न भनेर खिसिट्युरी गर्ने छिमेकीहरू अहिले उनको मिहिनेतलाई धाप मार्छन् । सांसद बनिसकेपछि घर जाँदा सबैले बधाई भने, वडामा सम्मान कार्यक्रम राखियो, जिन्दगीको उत्तरार्द्धतिर चप्पलमात्रै होइन, सांसदको लोगो पनि लगाएर सम्मान थाप्न जाँदा केही त गरें भन्ने अनुभूतिले उनी आफैं पुलकित भइन् । हामीसित पनि त्यही खुसी साटिन् । तर उनको खुसीमा खुसी थप्ने श्रीमान् उनीसँग छैनन् । २०६५ मा दुवै मिर्गौला फेल भएपछि श्रीमान्को निधन भयो । श्रीमान्सँगै देखेको साझा सपना भने जानकीदेवीले कहिल्यै टुट्न दिइनन् । सम्भवतः यही मनोबलकै कारण हो, उनी दलित तत्कालीन एमालेको समानुपातिक सूचीमा दलित महिला सदस्यतर्फ तेस्रो नम्बरमा थिइन् तर मतका कारण उनको पालो आएन । गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटन गरिदिएपछि उनको सांसद बन्ने सम्भावना टुंगिएको थियो तर फागुन ११ मा विघटन बदर भएसँगै संसदीय राजनीतिको खेलोफड्को फेरि सुरु भयो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीकै सिफारिसमा गत चैत १८ मा निर्वाचन आयोगले उनलाई प्रतिनिधिसभा सदस्य बनाउने निधो गर्‍यो । २२ गते जानकीदेवी रामले पद तथा गोपनीयताको शपथ लिएपछि छातीमा सांसदको लोगो टाँसेर हिँड्न थालेकी छन् ।

कतिका लागि जानकीदेवीहरू सांसद हुनु फगत एक संख्या थपिनुमात्रै हुन सक्छ तर उनी स्वयंका लागि भने जीवनभर बगाएको पसिना र समाजबाट बारम्बार सहेको अपमानको परिणाम हो । ‘म घुम्टो ओढेर बसेको मान्छे यहाँसम्म आइपुगें, अहिलेसम्म तीनचोटि संसद् बैठकमा गएँ, साथीहरूलाई हेरेपछि गद्गद् भएँ,’ जानकीदेवीले भनिन्, ‘तर अझै आत्मविश्वास आइसकेको छैन । गाउँको कुरा संसद्मा राख्न सकेको दिन मलाई झन् धेरै खुसी मिल्नेछ ।’

काठमाडौं आउनेबित्तिकै दलितलाई सहरमा हेर्ने दृष्टिको छनक भने उनले पाइसकेकी छन् । सहरका घरहरूमा जताततै ‘टु लेट’ (भाडामा) लेखिएका सूचना टाँसिएका छन् तर जानकीदेवीलाई बस्ने कोठा पाउन सकस भइरहेको छ । ‘काठमाडौं छिरेदेखि नै कोठा खोज्न थालेको हो, खाली कोठा भेटिन्छन्, सुरुमा दिन्छौं भन्छन् तर नाम र थर सोधिसकेपछि घरसल्लाह गर्छु भन्छन्,’ जानकीका छोरा विजयले भने, ‘भोलिपल्ट सोध्न जाँदा भाडामा नदिने भयौं भन्छन् । काठमाडौंको विभेद त झन् डरलाग्दो हुँदो रै’छ ।’

सिरहामै दलित समुदायका लागि लड्दा त त्यत्रो घुटन सहेर आएकी जानकीदेवी पनि काठमाडौंको समेत उस्तै व्यवहार देख्दा छक्क परेकी छन् । ‘हाम्रो गाउँमा त चेतना नभएको मान्छे बस्छन् भन्थे, काठमाडौंमा त चेतना भएका मान्छे हुन्छन्, छुवाछूत हुँदैन भनेको सुनेकी थिएँ तर होइन रहेछ,’ उनी भन्छिन्, ‘सचेतवर्गले झन् भेदभाव गर्दा रहेछन् तर यहाँ पनि कोही न कोही त बुझेको मान्छे होलान् नि ।’

प्रकाशित : वैशाख ५, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?