कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुदूरपश्चिम फेरि जोखिममा

प्रदेश ब्युरो

काठमाडौँ — भारतबाट फर्किरहेका नेपालीमा दिनहुँ संक्रमण देखिन थालेपछि सुदूरपश्चिममा फेरि कोरोनाको त्रास बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चैत १ देखि १५ सम्म १५ जना मात्रै संक्रमित थिए, त्यसयता संक्रमण निकै बढेको छ । 

सुदूरपश्चिम फेरि जोखिममा

सुदूरपश्चिमका चार सीमानाकामा गरिएको परीक्षणमा थप ७ सय २४ जना संक्रमित फेला परेका छन् । हालसम्म भारतबाट कैलालीको गौरीफन्टा नाका भएर भित्रिएका ९ हजार ३ सय ५५ जनाको एन्टीजेन परीक्षणमा ६ सय २ जनामा संक्रमण देखिएको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका ३ हजार १ सय २३ जनाको परीक्षणमा १ सय ८ जना संक्रमित फेला परेका छन् । बैतडीको झुलाघाट भएर भित्रिएका ४ सय ४० जनामध्ये १४ जना संक्रमित भेटिएका छन् । ‘भारतबाट भित्रिनेको संख्या बढेसँगै जोखिम थपियो,’ प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘नाकाबाट भित्रिनेहरूमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमितको संख्या बढी छ । सोमबार मृत्यु भएका युवक पनि भारतबाट फर्केका थिए ।’

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ललितबहादुर धामीले सुरुको एक साता सबैको एन्टीजेन परीक्षण गरिए पनि भित्रिनेको संख्या बढेपछि समूहमा मात्रै गरिन थालेको बताए । उनका अनुसार किट अभाव भएकाले शंकास्पद र भारतको हटस्पटबाट आएकाहरूको समूहबाट एन्टिजेन परीक्षण गर्न सुरु गरिएको छ । भारतबाट आउनेलाई धनगढी उपमहानगरपालिकाको कनरी आइसोलेसन केन्द्रमा राख्ने गरिएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले पछिल्लो समय भारतबाट आएकाबाट जोखिम बढ्ने खतरा रहेको बताए । ‘अस्पतालका आइसोलेसन बेडको मात्रै भर परे संक्रमित राख्न समस्या हुन्छ,’ उनले भने, ‘संक्रमितहरूलाई आइसोलेसन र क्वारेन्टाइनमा राख्ने व्यवस्था स्थानीय तहले पुनः सुरु गर्नुपर्छ ।’ प्रदेशमा संक्रमितको रिफरल सेती प्रादेशिक अस्पतालमा बढीमा ५० बेड आइसोलेसन छ । हाल ४ जना आईसीयू र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबीच, कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएकामध्ये शनिबार १३ जनामा कोरोना संक्रमण देखिएको छ । भारतको उच्च जोखिममा रहेका दिल्ली, पन्जाब र महाराष्ट्रलगायतका क्षेत्रबाट आउने १ सय ७७ को एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको हो । गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज आकाश बारुडीका अनुसार दिनहुँ १०/१५ जनामा संक्रमण पुष्टि भइरहेको छ । कञ्चनपुरसंँग जोडिएका भारतका उत्तर प्रदेश र उत्तराखण्डमा दिनहुँ संक्रमणको दर बढ्दै गएको छ । यसका कारण उक्त क्षेत्रबाट आउनेहरूका कारण यहाँ जोखिम बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘भारतबाट आउनेको थपिए जोखिम झनै बढ्दै जान्छ ।’

कञ्चनपुरमा महाकाली अस्पतालको ५० बेडको आइसोलेसन भरिएर महेन्द्रनगरमै रहेको अर्को आइसोलेसनमा संक्रमितलाई राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कन्ट्याक्ट ट्रेसिङ हुन नसक्दा संक्रमण कति छ भन्न सकिने अवस्था नरहेको बताए । पछिल्लो समय भारतबाट फर्किनेहरू सोझै घरमा जान्छन् । संक्रमितसँंगै आएका पनि सीधै घर पुगिरहेका छन् । आइसोलेसन र क्वारेन्टाइनहरू पनि छैनन् । संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङ हुन सकेको छैन । कञ्चनपुरको गड्डाचौकी नाकामा घर फर्किनेको चाप निकै बढी छ । शनिबार मात्रै ६ सयभन्दा बढी भित्रिएका छन् । ब्रह्मदेव क्षेत्रमा पनि पूर्णागिरि मेलाका कारण भीडभाड बढेको छ ।

मास्क नलगाए जरिवाना

रूपन्देहीमा बिनामास्क सार्वजनिक स्थानमा हिँडडुल गर्न रोक लगाइएको छ । स्वास्थ्य मापदण्डको पालना नगरेको पाइए कारबाहीमा पर्ने जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शनिबारको बैठकले निर्णय गरेको छ । बैठकले बिनामास्क सरकारी कार्यालयमा प्रवेश निषेध गरेको छ ।

केन्द्रका रूपन्देही संयोजक तथा प्रमुख जिल्ला अधिकारी आशमान तामाङले भने, ‘सँगसँगै कारबाही पनि गर्नेछौं ।’ उनका अनुसार यस्ता मास्क नलगाउने व्यक्तिलाई सुरुमा एकपटकमा १ सय रुपैयाँ जरिवाना गर्न सकिने प्रावधान ऐनमा छ । रूपन्देही अत्यधिक भीडभाड हुने र भारतसँगको आवतजावत हुने प्रमुख नाका भएकाले अति जोखिम जिल्लाका रूपमा स्वास्थ्य मन्त्रालयले वर्गीकरण गरेको छ । जिल्लामा राति ९ बजेसम्म मात्र व्यवसाय गर्न पाइने व्यवस्था गरिएको छ । भारतबाट सुनौली–बेलहिया नाका हुँदै आउने नागरिकलाई सीमा नाकामा स्थापित होल्डिङ सेन्टरमा स्वास्थ्य जाँच गरी शंकास्पद व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैबीच, बाँकेको नेपालगन्जस्थित जमुनाह नाका हुँदै भित्रिरहेका सर्वसाधारणमा संक्रमण पाइएको छ । दैनिक भित्रिरहेका सर्वसाधारणमा संक्रमण पाइए पनि कुनै सावधानी अपनाइएको छैन । संक्रमितसँगै लाइन लागेका बीच व्यक्तिगत दूरीसमेत हुँदैन ।

जमुनाहमा शनिबार भारतबाट आएका आएका १९ जनामा परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । नाकामा रहेका ६ जना स्वास्थ्यकर्मीले ज्वरो नाप्नेदेखि स्वाब संकलन गर्ने अनि रिपोर्ट निकाल्ने काम गरिरहेका छन । ल्याब टेक्निसियन गणेश चौधरीले भने, ‘यही अनुपातमा चाप बढ्यो भने यो जनशक्तिले थेग्न मुस्किल छ ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल बढ्दो चापलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र ठाउँ व्यवस्थित गराउँदै लगिएको बताए ।

मोहन बुढाऐर (धनगढी), भवानी भट्ट, (कञ्चनपुर), रूपा गहतराज (नेपालगन्ज) र माधव ढुंगाना (भैरहवा)

प्रकाशित : वैशाख ५, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?