कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० प्रतिशत भेन्टिलेटर भरिए

विज्ञ भन्छन्– ‘संक्रमण यही गतिमा जाने हो भने उपत्यकामा एक साताभित्र आईसीयू/भेन्टिलेटर पाउने अवस्था रहँदैन’
अतुल मिश्र

काठमाडौँ — देशभर कोभिड–१९ का लागि छुट्याइएका भेन्टिलेटरमध्ये करिब १० प्रतिशत कोरोनाका जटिल बिरामीले भरिएका छन् । कोभिडकै लागि भनेर ४ सय ६१ वटा भेन्टिलेटर छुट्याइएका छन् । तीमध्ये शनिबारसम्म ४५ वटामा जटिल बिरामी उपचाररत छन् ।

१० प्रतिशत भेन्टिलेटर भरिए

हालसम्म ९४ वटा आईसीयू बेड जटिल बिरामीले भरिएका छन् । वैशाख १ यता सघन उपचारअन्तर्गत आईसीयू र भेन्टिलेटर उपयोग गर्नुपर्ने बिरामीको संख्या दिनहुँ बढ्दो छ ।

‘कोभिड संक्रमणले आईसीयू र भेन्टिलेटर चाहिने बिरामीको संख्या बढ्दो छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कान्तिपुरसँग भने, ‘राजधानीमै आईसीयू, भेन्टिलेटर पाउन गाह्रो भइसक्यो, बाँकेमा त यहाँभन्दा पनि बढी गाह्रो भएको अवस्था छ ।’ सरकारी तथ्यांकअनुसार गण्डकीमा समेत कोभिडको केस उकालो लाग्दै छ । गण्डकीमा आईसीयू र भेन्टिलेटरको संख्या तुलनात्मक रूपमा कम छ । विराटनगरमा पनि अवस्था जटिल बन्दै गएको छ । राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा कोभिड बिरामीका लागि आईसीयू र भेन्टिलेटर भरिँदै गएका छन् । ‘हामीकहाँ भएका २१ वटा आईसीयू र १५ वटा भेन्टिलेटर नै प्याक छन्,’ पाटन अस्पतालका डा. आशिष श्रेष्ठले भने, ‘हाल अस्पतालमा जति कोभिड बिरामी छन्, सबै जटिल अवस्थाका छन् ।’

जटिल बिरामी बढेपछि अन्य उपचारका लागि छुट्याइएको आईसीयू र भेन्टिलेटरसमेत कोभिडकै लागि छुट्याउँदै जानुपर्ने अवस्था आएको चिकित्सक बताउँछन् । कोभिडको दोस्रो लहर सुरु भएपछि सघन उपचारमा आउने र मृत्यु हुनेको संख्या गत वर्षको दाँजोमा बढी देखिएको छ । गत वर्ष सास फेर्ने गाह्रो हुनेबित्तिकै अस्पताल पुग्नेहरू बढी भए पनि हाल जटिल अवस्था बनेपछि आउनेको संख्या बढ्दो छ । ‘अहिले त संक्रमित अस्पताल पुग्दै आईसीयू वा भेन्टिलेटर चाहिन्छ, कतिको त पुग्नासाथ मृत्युसमेत हुने गरेको छ,’ सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘हाल संक्रमित भए पनि धेरैले परीक्षण गराएका छैनन्, जसले गर्दा अवस्था भयावह देखिएको हो ।’ अहिलेको संक्रमण विस्तार र चक्रलाई तुरुन्त तोड्न कडा प्रक्रिया नअपनाए मुलुकले कोभिडको सघन उपचार थेग्न नसक्ने उनले बताए । ‘संक्रमण यही गतिमा जाने हो भने उपत्यकामा एक साताभित्र आईसीयू/भेन्टिलेटर पाउने अवस्था रहँदैन,’ उनले भने ।

हाल कोभिडको उपचार गराउनेमा निमोनिया भएका बिरामी बढी देखिएका छन् भने युवाहरूको संख्या उल्लेख्य छ । ‘कोभिडको मारमा युवापुस्ता बढी छन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट डा.अनुप बाँस्तोलाले भने, ‘कोभिडका बिरामी सरदर आईसीयूमा दुई सातासम्म बस्ने गरेका छन्, यस्तै अवस्था रहे सघन उपचार पाउन गाह्रो छ ।’ बेलायती भेरियन्टको कोभिड व्यापक रूपमा देखिन थालेको अवस्थामा ‘डबल म्युटेन्ट भेरियन्ट’ समेत पाइएकाले संक्रमणपछि देखिने स्वास्थ्य जटिलता पहिलेको दाँजोमा बढी छ । बेलायती भेरियन्टबाट संक्रमितलाई अस्पतालमा भर्ना हुनुपर्ने, रोगमा गम्भीरता देखिने र मृत्युदर बढी हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

शनिबार ६ हजार ४ नमुनाको पीसीआर परीक्षण गर्दा ७ सय ६८ जनामा संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हाल देशभर ५ हजार ५ सय ४५ जना सक्रिय संक्रमित छन् । कोभिडबाट मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ ।

प्रकाशित : वैशाख ५, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?