कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सुदूरपश्चिममा भट्ट ढुक्क

धनगढी — छिमेकी प्रदेश कर्णालीको संसदीय राजनीति तरंगित भएका बेला सुदूरपश्चिममा भने मुख्यमन्त्री त्रिलोचन भट्ट ढुक्क छन् ।

सुदूरपश्चिममा भट्ट ढुक्क

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेका दुई प्रदेश कर्णाली र सुदूरपश्चिम हुन् । एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच उत्पन्न दरारको फाइदा माओवादी केन्द्रबाट प्रदेश सरकारको नेतृत्व गरिरहेका भट्टलाई भएको हो ।

एमाले ओली पक्षले कुनै पनि हालतमा मुख्यमन्त्री भट्टको बहिर्गमन चाहेको छ तर नेपाल पक्ष भट्ट नेतृत्वको सरकार जोगाउने पक्षमा छ । प्रदेशसभामा माओवादी केन्द्रको सांसद संख्या थोरै भए पनि एमालेका नेपालपक्षीय सांसदको समर्थन रहँदा मुख्यमन्त्री भट्टको पक्षमा बहुमत हुन्छ । ५३ सदस्यीय प्रदेशसभामा अहिलेकै सरकार टिकाइराख्न वा अर्को सरकार निर्माण गर्न २७ सांसद आवश्यक पर्छ । माओवादी केन्द्रका १४ सांसद छन् । त्यसमा पनि सांसद झपट बोहरा एमालेमा प्रवेश गरेपछि उनलाई दल त्यागेको भन्दै माओवादी केन्द्रले निलम्बन प्रक्रिया बढाइसकेको छ । एमालेका नेपालपक्षीय १८ सांसदले माओवादी केन्द्रलाई साथ दिएका छन् । ‘सरकार ढल्छ कि भनेर हामीले चिन्ता गर्नुपर्ने कुनै कारण छैन,’ माओवादी केन्द्रका सचेतक अक्कलबहादुर रावलले भने, ‘एमालेको नेपालपक्षीय १८ सांसदको पूरै समर्थन छ ।’

एमाले र माओवादी केन्द्र ब्युँतिनुअघि भने सत्तारूढ दलभित्रबाटै मुख्यमन्त्री भट्टलाई हटाउने खेल सुरु भएको थियो । माओवादी सांसदहरू नै उनको विरोधमा उत्रिएका थिए । हाल बदलिएको समीकरणले मुख्यमन्त्रीविरुद्ध आवाज सुनिन छाडेको छ । ‘अहिले मुख्यमन्त्री को हुने भन्ने सवाल मुख्य रहेन,’ माओवादी केन्द्रका सचेतक रावलले भने, ‘खासगरी प्रतिगमनको विरोधमा रहेकाहरू एक ढिक्का छौं ।’

प्रकाशित : वैशाख ५, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?