कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

विद्यार्थीमा संक्रमण बढ्यो

प्रदेश ब्युरो

काठमाडौँ — तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा भौतिक पढाइ बन्द गरिएको छैन । स्वास्थ्य सुरक्षाबिनै विद्यालय सञ्चालन भइरहेकाले पनि बालबालिका बढी जोखिममा छन् । विद्यालयहरूले स्वास्थ्य मापदण्ड अपनाएको दाबी गरे पनि सहरी क्षेत्रका बालबालिकामा संक्रमण बढ्दो छ ।

विद्यार्थीमा संक्रमण बढ्यो

पछिल्लो २४ घण्टामा देशभर ८९ बालबालिका संक्रमित भएका छन्, जसमा ९ वर्षसम्मका १७ जना र १०–१९ वर्षका ७२ जना छन् ।

विराटनगरमा विद्यालय गइरहेका ७ देखि १४ वर्ष उमेरका २१ बालबालिकामा सातायता कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगर स्वास्थ्य शाखाले संक्रमितमध्ये आधा ठूलो निजी विद्यालयमा अध्ययनरत रहेको जनाएको छ । पछिल्लो साता विराटनगरमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ, तीमध्ये २१ जना २० वर्षमुनिका छन् ।

बालबालिकामा संक्रमण पुष्टि भए पनि विराटनगर महानगरपालिका तत्काल विद्यालय बन्द गर्ने पक्षमा छैन । मेयर भीम पराजुलीका अनुसार चाँडै परीक्षा सकाएर विद्यालय बन्द गर्ने तयारी गरिएको छ । आगामी सोमबारदेखि सबै विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाएर सिफ्टमा परीक्षा लिन निर्देशन दिइएको छ । यहाँका अधिकांश विद्यालयले वैशाख ८ देखि परीक्षाको तालिका बनाएका छन् ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले कोरोनाको उच्च जोखिममा रहेका १४ वटा जिल्लामा स्थानीय पालिकासँग समन्वय गरेर अवस्था हेरी विद्यालय बन्द गर्नुपर्ने स्थिति भए बन्द गर्ने र चालु वर्षको शैक्षिक सत्र वैशाखभित्र सकेर केही दिनका लागि छुट्टी दिने निर्णय गरेको बताए ।

विराटनगरमा शुक्रबार १४ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङमा १८, झापामा ८ सुनसरी र उदयपुरमा २–२ नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश २ मा बालबालिकासहित कम उमेरका मानिसमा संक्रमण देखिइरहे पनि विद्यालय तथा कलेज भने स्वास्थ्य मापदण्डबिनै सञ्चालन भइरहेका छन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार शनिबार संक्रमण देखिएका ६९ जनामध्ये २० जना ३० वर्षमुनिका छन् । शनिबार थपिएका संक्रमितमध्ये १२ वर्ष उमेरका बालक पनि छन् । सबै जिल्लामा विद्यालय र क्याम्पस निस्फिक्री सञ्चालन भइरहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वीरगन्जस्थित नर्सिङ क्याम्पसका २५ जना विद्यार्थीमा कोरोना पुष्टि भएयता प्रदेशका अन्य कुनै विद्यालय वा क्याम्पसका विद्यार्थीमा संक्रमण फैलिइसकेको छैन ।

गण्डकी प्रदेशमा पनि बालबालिकामा संक्रमण बढेको छ । संक्रमित बालबालिकामध्ये अधिकांश कास्कीका छन् । प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो एक सातामा ८९ बालबालिका संक्रमित भएका छन् । उनीहरू पोखराका विभिन्न १२ वटा विद्यालयमा अध्ययनरत रहेको उनले बताए । ‘११ देखि १६ वर्ष उमेर समूहका बालबालिका बढी प्रभावित छन्,’ उनले भने, ‘विद्यालयमा एक जनामात्रै संक्रमित देखिनु पनि ठूलो जोखिम हो । तत्काल विद्यालय बन्द गरेर संक्रमण रोक्नुपर्छ ।’

सात दिनअघि पोखराको छोरेपाटनस्थित एक बालगृहमा एकैसाथ १६ बालबालिकामा संक्रमण देखिएको थियो । उनीहरू पोखराकै एक दर्जन विद्यालयमा अध्ययनरत हुन् । उनीहरूको कन्ट्र्याक्ट ट्रेसिङमा परेका केही विद्यालयका विद्यार्थीको परीक्षण भइरहेको छ । एक विद्यालयमा दुई र अर्कोमा एक संक्रमित भेटिएका थिए । केहीको नतिजा आउन बाँकी छ । पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले आइतबार नगर शिक्षा समितिले आगामी योजनाबारे छलफल गर्न सरोकारवालाको बैठक बोलाएको बताए । अहिले शैक्षिक सत्र अन्तिम अवस्थामा पुगेको र परीक्षा नजिकिएकाले विद्यालयले बन्द गर्न मानेका छैनन् । बैठकमा कक्षा सञ्चालन र परीक्षालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल हुने आचार्यले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बालबालिकामा कोरोना संक्रमण बढे पनि कसरी अघि बढ्ने भन्नेबारे कुनै निर्णय नभएको बताए । बागलुङमा सञ्चालित धौलागिरि प्राविधिक शिक्षालयको छात्रावासमा बस्ने २५ विद्यार्थीमा कोरोना पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा राखिएको छ । त्यसबाहेक एक सातामा बागलुङ नगरभित्रका ५ शिक्षक र १० विद्यार्थीमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । शिक्षक र विद्यार्थीमा संक्रमण बढे पनि विद्यालय नियमित सञ्चालनमा छन् । बागलुङका नगर शिक्षा अधिकारी डन्डपाणि शर्माले तत्काल विद्यालय बन्द गर्ने योजना नभएको सुनाए ।

सदरमुकामका सरकारी र संस्थागत विद्यालयमा विद्यार्थी संख्या अत्यधिक छ । मापदण्ड पूरा गरेको दाबी गरिए पनि कक्षाभित्र कोचाकोच विद्यार्थी राखेर पढाइँदै आएको छ । ‘कक्षामा अटाउनेसम्म राखिएकै छ,’ कालिका कन्या माविका शिक्षक फणीन्द्र आचार्यले भने, ‘माथिल्लो कक्षालाई बिहानमा पढाए पनि १ देखि १० सम्मका दिउँसो आउँछन् ।’

पठनपाठनबारे अन्योल

पछिल्लो समय बालबालिकामा संक्रमणको दर बढ्ने भन्दै सुर्खेतका शिक्षक त्रसित बनेका छन् । सुर्खेतमा संक्रमितको संख्या दिनहुँ बढ्दै गए पनि वीरेन्द्रनगरका विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्नेबारे अन्योल कायमै छ । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यमिक विद्यालयले आइतबार ३५ विद्यार्थीको एन्टिजेन विधिबाट परीक्षण गर्न लागेको छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले नगरपालिकाले केही दिनअघि कुनै पनि हालतमा विद्यालय बन्द नगर्ने भनेपछि आफूहरू अलमलमा परेको बताए । ‘स्वास्थ्य मापदण्ड अपनाएर पनि हामीले पहिला थाम्न सकेनौं,’ उनले भने, ‘विद्यालयमा धेरै बच्चा बिरामी भेटिन्छन्, हामीले उनीहरूलाई घर फर्काउने काम मात्रै गरेका छौं ।’

वीरेन्द्रनगरका धेरैजसो विद्यालयमा दिनहुँ २५ सयदेखि ३ हजारसम्म विद्यार्थी पढ्छन् । उनले ती विद्यालयमा जोखिम बढी भएकाले सरकारले चाँडो निर्णय गर्नुपर्ने बताए । प्रशासन र नगरपालिकासँग छलफल गर्दा केन्द्रको निर्णय कुर्न भनिएको प्रधानाध्यापक थापाले बताए । ‘केही निर्णय नभए हामी आफ्नै तरिकाले आलोपालो पठनपाठन सञ्चालन गर्छौं,’ उनले भने, ‘विद्यार्थीलाई मास्क र सेनिटाइजर प्रयोग गर्न तथा अन्य स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय प्रवेश गर्न भनेका छौं ।’ कुनै निर्णय नभए अभिभावकसँग छलफल गरेर निचोडमा पुग्ने उनले बताए । वीरेन्द्रनगरस्थित हस्तवीर सामुदायिक आधारभूत विद्यालयले पनि केन्द्र सरकारले कुनै निर्णय नगरुन्जेल स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठनलाई निरन्तरता दिने जनाएको छ । वार्षिक परीक्षा र एसईई नजिकिँदै गर्दा पढाइको रफ्तार बढाउनुपर्ने भएकाले एकजना नर्स नै नियुक्त गरी विद्यार्थीलाई जोखिम कम गर्ने उपाय सिकाएको विद्यालयका सल्लाहकार पूर्ण पौडेलले बताए । उनका अनुसार विद्यालयमा दिनहुँ विद्यार्थीको ज्वरो मापन गरिन्छ । कसैमा ज्वरो देखिए प्राथमिक उपचार गरेर घर पठाउने गरिएको उनले जानकारी दिए । ‘अहिले त सावधानी अपनाएरै पढाइरहेका छौं,’ उनले भने, ‘अवस्था हेरेर अथवा सरकारको निर्णयअनुसार नै अघि बढ्नेछौं ।’

विनोद भण्डारी (विराटनगर), अजित तिवारी (जनकपुर), लालप्रसाद शर्मा (पोखरा), प्रकाश बराल (बागलुङ), घनश्याम गौतम (रूपन्देही), चाँदनी कठायत (वीरेन्द्रनगर)

प्रकाशित : वैशाख ५, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?