कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अन्‍नपूर्णमा नेपाली महिलाको पहिलो आरोहण

म्याग्दी — यस वर्षको पहिलो वसन्तकालीन हिमाल आरोहण सिजनअन्तर्गत शुक्रबार कम्तीमा ६ नेपाली महिलासहित ६८ जनाले विश्वको दसौं अग्लो अन्नपूर्ण (प्रथम) हिमाल आरोहण गरेका छन् । ८ हजार ९१ मिटर उचाइको यो चुचुरोमा मानव पाइला पुगेको ७१ वर्षपछि पहिलोपटक ६ नेपाली महिलाको टोलीले पनि आरोहण गरेका छन् ।

अन्‍नपूर्णमा नेपाली महिलाको पहिलो आरोहण

काठमाडौंस्थित सेभन समिट ट्ेरक्सका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार शुक्रबार दिउँसो १ देखि साढे ४ बजेसम्म डोरी टाँगेर बाटो बनाउँदै गइरहेको समूहसँगै आरोहीहरू चुचुरोमा पुगेका हुन् । काठमाडौंस्थित पायोनियर एडभेन्चर प्रालिका अध्यक्ष पासाङ तेन्जी शेर्पाका अनुसार चुचुरोमा पुगेकाहरू अन्नपूर्ण हिमालको आधार शिविरमा चाँडोमा शनिबार बेलुकीसम्म आइपुग्नेछन् । ‘त्यहाँको मौसम राम्रो छैन । फोनको नेटवर्क पनि सगरमाथामा जस्तो राम्रो छैन यकिन जानकारी भोलि बेलुकी नत्र पर्सिमात्रै थाहा पाइएला,’ उनले कान्तिपुरसँग भने ।

यो सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागले ४ वटा आरोहण दलका लागि ८ महिलासहित ४४ जना विदेशीलाई मात्रै आरोहण अनुमति दिएको थियो । विभागकी निर्देशक मीरा आचार्यका अनुसार विदेशी आरोहीहरूको सहयोगीका रूपमा गएका कम्तीमा ६ नेपाली महिलाहरू पनि शुक्रबारै अन्नपूर्ण चढेका छन् । जसमा गोरखा घर भएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, ओखलढुंगाकी माया शेर्पा, दोलखाकी दावा याङजेन शेर्पा, दावा फुटी शेर्पा, काभ्रेकी शर्मिला तामाङ र सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा छन् । यी सबै पूर्व आरोही हुन् । उनीहरू यस सिजनमा अन्नपूर्ण हिमाल आरोहण दलमा सदस्यका रूपमा नभई पथप्रदर्शक र उचाइका कामदारको भूमिकामा गएको निर्देशक आचार्यले बताइन् । आरोहण कम्पनीहरूले शुक्रबार बेलुकीसम्म नेपाली तथा विदेशी गरी ६८ जनाले अन्नपूर्ण आरोहण गरेको जनाएका छन् । तर विभागले बेलुकी ७ बजेसम्म २५ जनाले आरोहण गरेको जानकारीमात्रै प्राप्त भएको जनाएको छ । आरोहण दलका लागि तोकिएका सरकारी सम्पर्क अधिकृतबाट यकिन जानकारी पाउन नसकेको जनाइएको छ । आरोहण दलका सदस्यबाहेक पथप्रदर्शक र उचाइका कामदार पनि आरोहीसँगै चुचुरोसम्म पुग्छन् ।

त्यसैगरी भारतीय पर्वतारोही प्रियंका मंगेश मोहितीले शुक्रबारै अन्नपूर्ण आरोहण गरेकी छन् । उनलाई अन्नपूर्ण प्रथम आरोहण गर्ने पहिलो भारतीय महिला भनिएको छ ।

सन् १९५० जुन ३ मा पहिलोपटक ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम आरोहण फ्रान्सेली पर्वतारोही मौरिस हर्गोजले गरेका थिए । गोरखा आरुघाटकी आरोही पूर्णिमा श्रेष्ठले स्थानीय अन्नपूर्ण गाउँपालिकाले प्रवद्र्धन गरेको ‘मौरिस हर्जोग’ पदमार्ग हुँदै आरोहणमा गएकी थिइन् । ‘संसारको जेठो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा आजसम्म नेपाली महिलाका पाइला पुगेका छैनन् । म यस हिमालका प्रथम आरोहीले हिँडेको पदमार्ग पछ्याउँदै चुचुरोमा पुग्न चाहन्छु,’ अन्नपूर्ण हिमाल आरोहणमा निक्लेकी श्रेष्ठले म्याग्दीमा भनेकी थिइन्, ‘अन्नपूर्ण कठिन र ज्यानमारा हिमाल भनेर चिनिन्छ । यसमा ३८ प्रतिशत मृत्युदर छ, म त्यो चुनौती सामना गर्न आतुर छु ।’

अन्नपूर्ण प्रथम हिमालको आरोहणमा निक्लेकी आरोही पूर्णिमाको अभियानलाई अन्नपूर्ण गाउँपालिकाले ४ लाख र अध्यक्ष डमबहादुर गर्बुजा पुनबाट २ लाख २५ हजार नगद आर्थिक सहयोग गरेको छ । ‘अन्नपूर्ण हिमालको चुचुरोमा पहिलोपटक नेपाली महिलाको पाइला पुगेको खबरले खुसी छौं । आरोहीलाई स्वागत गर्न आतुर छौं,’ अध्यक्ष गर्बुजाले भने । अन्नपूर्ण प्रथम आरोहण गर्न मुस्ताङको घाँसा हुँदै जाने नर्थ बेसक्याम्पको बाटो १४ लिन लामो र जोखिमपूर्ण छ । उक्त बाटोको विकल्पमा सहज, सुविधायुक्त, हिमालको फेदीसम्मै सडक मार्ग पनि छ । गाडीमा जाँदा ३ दिनमा अन्नपूर्णको उत्तरमा रहेको आधार शिविरमा सजिलै पुग्न सकिन्छ । यो नीलगिरि हिमालका लागि पनि प्रयोग हुने रुट हो ।

प्रकाशित : वैशाख ३, २०७८ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?