४ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट- समाचार - कान्तिपुर समाचार

४ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि मौसमअनुकूल नभएपछि शुक्रबार चारवटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार दमामबाट आउँदै गरेको हिमालय एयरलाइन्सको विमान र दिल्लीबाट आउँदै गरेको एयर इन्डियाको विमान बनारस फर्किएका छन् । त्यस्तै दोहाबाट आउँदै गरेको कतार एयरवेजको विमान कोलकाता र दिल्लीबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको विमान उतै फर्किए । तिवारीका अनुसार एयर इन्डियाको विमानले दोस्रोपटक काठमाडौं अवतरणका लागि प्रयास गरेको थियो तर सफल हुन नसकेपछि दिल्ली नै फर्किएको थियो ।

आन्तरिक उडानतर्फ शुक्रबार बुद्ध एयरका ६ वटा उडान र यती एयरलाइन्सको एउटा उडान काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भएका थिए । विमानस्थलमा दिउँसो ४ हजार मिटर भएको भिजिबिलिटी साँझ ६ हजार मिटर भएको थियो । खराब मौसमका कारण २५ वटा आन्तरिक उडान रद्द भए । आन्तरिक उडानमा रहेका वायुसेवाहरूले शुक्रबारका लागि १ सय १७ वटा उडान तालिका बनाएका थिए तर बेलुकीसम्म ९२ वटामात्रै हुन सकेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्

देशैभर उपलब्ध शय्यामा ओभरलोड हुन सक्ने डर छ : डा. कृष्णप्रसाद पौडेल [अन्तर्वार्ता]

मुख्य-मुख्य सहरमा विद्यालय खुल्दै गर्दा र पछिल्लो तथ्यांकले पनि बालबालिकामा बढ्दो संख्यामा संक्रमण देखिनु चिन्ताको विषय हो ।
पीसीआरको सेन्सिटिभिटी ७० देखि ९० प्रतिशत छ र एन्टिजेन पनि ८० प्रतिशतसम्म प्रभावकारी छ ।
बुनु थारु

केही दिनदेखि नेपालमा कोरोना संक्रमण बढिरहेको छ । पछिल्लो समय यूके भेरियन्टका कारण संक्रमण बढिरहेको र त्यसबाट विशेषगरी विद्यालय जाने उमेर समूहका विद्यार्थी उच्च जोखिममा रहेको जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलसँग संक्रमणको अवस्था, नियन्त्रण तथा भावी रणनीतिका बारेमा ईकान्तिपुरकी बुनु थारुले गरेको कुराकानी :

संक्रमण रोकथामको लागि सरकारको तयारी के छ ?

तथ्यांकले दैनिक संक्रमितको दर १० प्रतिशत नाघेर उकालो लागिरहेको देखाउँछ । सरकारले सुरुदेखि गरिरहेको काममा निरन्तरता दिइरहेको छ भने केही थप काम पनि सुरु गरेको छ । सुरुदेखि नै गरिरहेको काममा संक्रमितको संख्या कम हुँदा पनि संक्रमितको उपचार, पहिचान, कन्ट्याक्ट ट्रेसिङ, निगरानीजस्ता कामहरु भइरहेका छन् । नयाँ लक्षण तथा जटिलताहरुका लागि जिनोमिक सर्भिलेन्स गर्नुपर्ने आवश्यकता पनि छ । जोखिम क्षेत्र पहिचान गरेर त्यही अनुसारको काम भइरहेको छ ।

भारतमा कोरोना संक्रमण बढिरहेको छ । हेल्थ डेस्कमा केही सीमितता पक्कै छन् । त्रिभुवन विमानस्थललगायत १४ वटा हेल्थ डेस्कमा अस्थायी दरबन्दी स्वीकृति गरेका छौं । विमानस्थल एक हिसाबले सुरक्षित छ, किनकि त्यहाँ पीसीआर नेगेटिभ भएपछि मात्र पठाइन्छ । तर स्थलमार्गबाट आउनेहरुलाई पूर्ण निगरानी राख्न कठिन छ । किनकि धेरै स्थानमा हाम्रा हेल्थ डेस्कहरु टेन्टहरुमा छन् । कतै कर्मचारी अभाव छ, स्थानीय निकायले पूर्ति गर्न सकेका छैनन् । जे-जति जनशक्ति छ त्यसैबाट एन्टिजेन परीक्षण सुरु गरेका छौं ।

आइसोलेसनका केन्द्रका लागि प्रतिव्यक्ति प्रतिदिन २ हजार रुपैयाँसम्म खर्च दिने गरी आइसोलेसन व्यवस्था गर्न सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालयहरुलाई पनि पत्र पठाएका छौं । होल्डिङ सेन्टर र आइसोलेसन सेन्टर बनाउन थप बजेट पठाउन अनुरोध गरेका छौं ।

धेरै अस्पतालमा कोभिड १९ का उपचार गर्ने शय्या बन्द थिए भने प्रयोगशालामा परीक्षण बन्द भएको थियो । अहिले पुन: व्यवस्थापन गर्न भनेका छौं ।

पहिलो लहर देखिँदा इडिसिडीले प्रभावकारी रुपमा कन्ट्याक्ट ट्रेसिङका साथै तथ्यांकलाई दुरुस्त राख्न सकेन भनेर आलोचना खेप्नुपरेको थियो । अहिले तयारी कस्तो छ ?

संक्रामक रोगहरुबाट समुदायलाई बचाउने उपायमध्ये क्वारेन्टाइन, आइसोलसन कन्ट्याक्ट ट्रेसिङ आदि एकदमै महत्वपूर्ण छन् । विदेशमा कतिपय ठाउँमा प्रविधिको उच्च प्रयोग गरेर मान्छे नै ट्रयाक गरेको पनि देख्यौं । तर हामीमा सीमितता छ । त्यो पनि प्रयास नभएको होइन । सुरुमा सीसीएमसीमार्फत त्यो पनि प्रयास गरिएको थियो तर, सफल हुन सकेन । प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत धेरै जिल्लामा कन्ट्याक्ट ट्रेसिङको टिम खटाइयो र इडिसिडीले पालिकास्तरमै रहेका जनशक्तिलाई कन्ट्याक्ट ट्रेसिङको तालिम दिएर राखेको अवस्था थियो । अहिले त्यो त्यो तालिमलाई सदुपयोग गर्ने सही समय आएको छ । जिल्ला र पालिकाका स्वास्थ्य संयोजकसँग सम्पर्कमा छौं र उहाँहरुलाई कन्ट्याक्ट ट्रेसिङ राम्ररी गर्न भनेका छौं ।

  • सबै विद्यालय बन्द भन्दा पनि अवस्था अनुसार व्यवस्थापन गर्नुपर्ने छ ।
  • कुनै पनि खोप सतप्रतिशत प्रभावकारी छैन । खोप लगाएकालाई पनि संक्रमण हुनसक्छ । तर लगाएको छु भनेर ढुक्क भएर बस्ने अवस्था हुन्न ।

गत वर्ष धेरै कुरामा तयार थिएनौं । तर एक वर्षको अनुभवले हामीलाई धेरै कुरा सिकाएको छ । कन्ट्याक्ट ट्रेसिङ अझै सतप्रतिशत हुन सकेको छैन । नागरिकको पनि सहभागिता जरुरी छ । कतिपयको फोन उठ्दैन । कति फोन उठाएर रेस्पोन्स गर्नुहुन्न । कतिजना स्वाब लिन जाँदा सहयोग गर्नुहुन्न । चुनौती छ । तर बेलायती भेरियन्ट पत्ता लगाउने काम एकदमै राम्रो तरिकाले भएको छ । १७६ जनाको परीक्षण गर्दा १०५ जनामा एस जिन नेगेटिभ कन्ट्याक्ट ट्रेसिङले नै भेटेको हो । पक्कै पनि सुधार गर्नुपर्ने अझै ठाउँ छन् । तर हाम्रो जोड भनेको स्थानीय पालिका र स्थानीय जिल्लाको स्वास्थ्य कार्यालयहरुको अगुवाइमा कन्ट्याक्ट ट्रेसिङ होस् भन्ने हो ।

हामीसँग कोरोनाको पहिलो लहरको अनुभव छ । पूर्वाधार पनि धेरै विकास भइसके तर किन संक्रमितको संख्या बढ्दो छ ?

कोभिड १९ ठूलो महामारी हो । विश्वभर १३ करोड संक्रमित भइसकेका छन् । धेरै व्यक्तिले ज्यान गुमाइसकेका छन् । हामीले भनिरहेका थियौं जोखिम कायमै छ संक्रमितमात्र घटिरहेका हुन् । त्यो भन्दाभन्दै हामीले धेरै क्षेत्र एक्कासी खुला गर्‍यौं । ठूला सभा, भेला, जात्रा, महोत्सव सबै भए । मास्क लगाउन भुल्यौं । जनस्वास्थ्यका मापदण्डमा हेल्चेक्रयाइँ गर्‍यौं ।

अर्को कुरा दक्षिणपूर्वी एसियाभरी नै नयाँ भेरियन्ट पनि फैलिरहेको अवस्था छ । हामीले यता सबै क्षेत्र खुला गर्ने, मापदण्डमा पनि कडाइ नगर्ने, भुल्दै जाने भएर सक्रमण फैलिँदै गयो । संक्रमित घट्दै गयो भनेर ‘रिल्याक्सेसन’को फेजमा थियौं । तर अब फेरि सचेत भएर जिम्मेवारीको रुपमा लिएनौं भने अवस्था अप्ठेरो छ । दक्षिणपूर्व एसियाको ११ वटा देशको तुलना गर्ने हो भने विद्यालय, सार्वजनिक यातायात, ठूला पार्टी, जमघट, भोज इत्यादि सबै क्षेत्र खुला भएको हामीमात्र हो त्यसले झनै जोखिम बढाएको छ ।

भारतसँग खुला सिमाना छ । धेरै नेपालीहरुको आवागमन निस्फिक्री छ । धेरै नाकाहरुमा चाहेर पनि सबै प्रवेश विन्दुमा हेल्थ डेस्क बनाउन सक्दैनौं । सबै ठाउँमा स्क्रिनिङ गर्न सक्दैनौं । नाका छलेर पनि आउने गरेका छन् । आफूमात्र होइन समुदायलाई पनि जोखिम पारेका छन् । यो कुरामा सबै सचेत र जिम्मवोर नभए लडाइँ जित्न गाह्रो छ । प्रमुख जिल्ला अधिकारीहरुलाई संक्रामक रोग ऐनले ठूलो जिम्मेवारी दिएको छ । जस्तै मास्क नलगाउनेलाई कारबाही गर्ने, ठूला भेला रोक्ने पक्कै गर्न सक्नुहुन्छ । हामीले त्यही सिफारिस गरेका छौं ।

व्यापक संक्रमण देखिएका जिल्लाबाट अरु जिल्लामा संक्रमणमा विस्तार भए त्यसलाई नियन्त्रणमा ल्याउन इडिसिडीले के रणनीति तयार पारेको छ ?

यसमा पनि सामूहिक जिम्मेवारीको कुरा छ । व्यापक संक्रमण देखिएका जिल्लाहरुको केही क्षेत्रका बारेमा सोच्नुपर्ने छ । उदाहरुणका लागि मुख्य-मुख्य सहरमा विद्यालय खुल्दै गर्दा र पछिल्लो तथ्यांकले पनि बालबालिकामा बढ्दो संख्यामा संक्रमण देखिनु चिन्ताको विषय हो । त्यसमाथि बालबलिकामा पनि तुलनात्मक हिसाबले बढ्दो मात्रामा नयाँ भेरियन्ट देखिँदै जानु र त्यसको मात्रा बढ्दै जानुले बढी सचेत हुनुपर्ने देखिन्छ । विद्यालयमा आलोपालो कक्षाहरु चलाएर होस् या विद्यार्थीलाई आलोपालो बोलाएर होस् या विद्यालयको भौतिक स्थितिअनुसार ध्यान दिएर जनस्वस्थ्यका मापदण्डमा जोड दिनुपर्ने छ । कतिपय अवस्थामा यही गतीमा संक्रमण बढ्दै जाँदा भर्चुअल विधिको पनि प्रयोग गर्नुपर्ने हुन सक्छ । सबै ठाउँमा यो आवश्यक नहोला तर बढी संक्रमण फैलिएको ठाउँमा धेरै जनालाई जोखिम छ ।

सार्वजनिक यातायात, विद्यालयमा जोखिम छ सचेत गराइरहेका छौं । सबै पक्षलाई जिम्मेवारीका साथ निर्णय लिन अनुरोध गरिरहेका छौं । र, आशा छ बढी जोखिम भएका ठाउँहरुमा माथिका निकायहरुले हाम्रो अनुरोधलाई लिएर थप निर्णय नेपाल सरकारले लिनेछ । सार्वजनिक यातायात, पार्क , भेला, भीडभाड हुने स्थानजस्तै पार्टी प्यालेस, स्वीमिङ पुल, धार्मिकस्थलमा जोखिम छ त्यही अनुसार सुसूचित गर्ने कोसिस गरिहेका छौं ।

आजै भेरीमा १८३ जनाको परीक्षण गर्दा १२७ जनामा संक्रमण देखिएको छ । लगभग देशभरीको अवस्था यस्तै नै छ । पोजिटिभिटी रेट ११–१२ प्रतिशत छ । परीक्षणको दायरा बढाउने बेला भएन ?

पालिकामा भएका टिमलाई परीक्षणको दायरा बढाउन अनुरोध गरिरहेका छौं । विशेषगरी कन्ट्याक्ट ट्रेसिङ र बढी जोखिमयुक्त स्थानहरुमा हामीले र्‍यान्डमली धेरै परीक्षणहरु गर्न भनेका छौं । परीक्षण धेरै बढाउनुपर्ने छ । बढी परीक्षण नहुँदासम्म बढी संक्रमित पत्ता लाग्दैन । हामीले परीक्षणका लागि अनुरोध गर्ने हो । इडिसिडीले पनि सबै जिल्लामा गएर परीक्षण गर्न गाह्रो छ । जनशक्ति पनि छैन । प्रदेश र जिल्लामा जनशक्ति छ त्यसलाई नै परिचालन गर्ने र स्थानीय पालिकामा परिचालन गरी एन्टिजेन बढाउन हामीले जोड दिएका हौं । परीक्षण कम हुनेमा कतिपयलाई लाग्दो हो पैसा लाग्छ । सम्भावित संक्रमितको नि:शुल्क छ । भारतसँग सिमाना जोडेका धेरै क्षेत्रमा संक्रमण बढ्दो छ । सबै उमेर समूहमा संक्रमण पुगेको छ । त्यो भन्दा पनि कम उमेर समूहका धेरैजना आईसीयूमा भर्ना छन् । अलि बढी सचेत, सजग र जागरुक हुनुपर्ने अवस्था छ ।

भारतमा संक्रमण बढेसँगै नाकाबाट मान्छे भित्रिने संख्या बढेको देखिन्छ । एन्टिजेन परीक्षण बढ्यो तर पीसीआर परीक्षण किन बढाएन ?

अहिले नाकामा पीसीआर गर्न सक्ने क्षमता छैन । यसका लागि समय लाग्छ । कुर्ने ठाउँ छैन । टेन्टमा हेल्थ डेस्क चलेका छन् । भलै हामीले बजेट धेरै ठाउँमा पठाएर टेन्डरको प्रकृयामा स्थायी संरचना पनि बन्दै छन् तर, सबै ठाउँमा सम्भव छैन । पीसीआरको सेन्सिटिभिटी ७० देखि ९० प्रतिशत छ र एन्टिजेन पनि ८० प्रतिशतसम्म प्रभावकारी छ र आधा घण्टामा नै रिपोर्ट आउँछ । व्यवहारिक रुपमा नै सोच्दा गर्मी छ, भीडभाड पनि छ, धेरै मान्छे आउँछन् होल्ड गर्न सकिँदैन । धेरै स्टाफहरु पनि हुनुहुन्न । रोकिएर परीक्षण गर्दा पनि भागेर जानेहरु पनि छन् । हामीले सीमानाकामा मास्क पनि बाँड्न खाजेका छौं । ऐन्टिजेन परीक्षण गरिएकाहरुमध्येको पोजिटिभहरुको केहीको नयाँ भेरियन्ट देखिन सक्छ भनेर अस्पताल जानुपर्ने मान्छेको पीसीआरको स्याम्पल राख्ने गरेका छौं । गड्डाचौकीमा ३ वटामा बेलायती भेरियन्टका संक्रमित फेला पारेका थियौं ।

१४ वटा कोरोनाको अति प्रभावित जिल्ला भनिएको छ पहिलेको वर्गीकरण हो कि संक्रमणको पछिल्लो अवस्थालाई हेरेर वर्गीकरण गरिएको ?

विगत केही दिनको सक्रिय संक्रमितहरुको तथ्यांकको आधारमा गरिएको हो । सक्रिय संक्रमितको काठमाडौं उपत्यकालगायत मुख्य सहर भएका स्थानमा धेरै छन् । गत वर्षको अनुभवमा पनि बढी जोखिम रहेकामा नै केस रहेका छन् । काठमाडौं उपत्यका, पोखरा, चितवन, झापा, सुनसरी, धनुषा, रुपन्देही, बाँकेलगायत जिल्लामा संक्रमण बढिरहेको छ ।

विभिन्न खाले भेरियन्टका कारण संक्रमण विस्तार भइरहेको बताइरहनुभएको छ त्यसको यकिन गर्नका लागि गर्नुपर्ने जिनोम सिक्वेन्सिङ यथोचित रुपमा भएको छ त ?

हामीले जिनोम सिक्वेन्सिङको कुरा गर्दा यो भन्दा अगाडि केही प्रारम्भिक पूर्वाधारहरु रहेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा इन्फ्लुएन्जाको सर्भिलेन्समा रहेछ तर, पुरानो खालको मेसिन रहेछ । देशभरी केही प्राइभेट ल्याबमा हेर्दा त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय विज्ञान प्रविधि प्रतिष्ठान नाष्ट, काठमाडौं विश्वविद्यालयलगायत संस्थामा केही उपकरणहरु रहेछन् । केहीमा केमिकल छैन । खोज्नुपर्ने छ । जेनेटिक्स तथा बायोटेक्नोलोजिस्टसँग कन्सोर्टियम तयार पारेका छौं । विदेश नै पठाउनु परेको छ अध्ययनका लागि । अबदेखि हाम्रो पनि सुरुवात होस् भनेर प्रराम्भिक चरणका कामहरु भएका छन् ।

काठमाडौं विश्वविद्यालयले केही सिक्वेन्सिङ गरेर रिपोर्ट पनि दिनुभएको हो त्यसपछि नास्टले पनि गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि सहयोग गरिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नयाँ मेसिन आइसक्यो । सबैको सिक्वेन्सिङ अहिले गर्न सम्भव छैन आवश्यक पनि नहोला । हाम्रै देशमा पनि नयाँ भेरियन्ट बनेको हुन सक्छ । समुदायलाई जानकारी पनि दिनुपर्ने हुन्छ । त्यो प्रयासमा हामी लागिरहेका छौं । छिट्टै सुरु हुन्छ ।

भेरियन्टबाट संक्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था बारेमा केही अध्ययन भएको छ ? जटिलता निम्तिएको छ कि छैन ?

अहिले हाम्रोमा एस जिन नेगेटिभ भेटिएको अथवा जुन बेलायतमा गएर कन्फर्म भएको डबल म्युटेन्ट एक जना र ९ जना यूके भेरियन्ट पुष्टि भएका छन् । उनीहरुको अवस्था ट्रेस गर्दा चाहिँ यूके भेरियन्ट भेटिएको ३ जनाको फोन सम्पर्क हुन सकेको छैन आजसम्म । ६ जना राम्रो अवस्थमा रहेका छन् । एकजना डबल म्युटेन्ट भेटिएकालाई पनि ठीक छ । अरु एसजिन नेगेटिभमा पनि त्यस्तो तुलनात्मक हिसाबले ज्यादा जटिलता भएका पाएनौं, कोही अस्तपालमा थिए कोही घरमै थिए आइसोलेसनमा । बेलायती भेरियन्ट सुरुवातको अध्ययनले छिटो सर्ने त छँदैछ पुरानो भन्दा ४० देखि ९० प्रतिशतसम्म बढी फैलिन सक्ने भन्ने छ । कम उमेरमा पनि आइसीयू चाहिने सक्ने जोखिम आएको छ । पछिल्लो अध्ययनले फरक पारेको छैन भन्ने पनि आएको छ । प्रारम्भिक चरणमा छ हाम्रो ।

बालबालिकामा संक्रमण धेरै फैलिरहेको तथ्यांकले देखाउँछ त्यो समूहलाई कसरी जोगाउन सकिन्छ ? अहिले फैलिरहेको संक्रमणलाई नियन्त्रण गर्न विद्यालय बन्द गर्न कत्तिको आवश्यक छ ?

विद्यालयको पूर्वाधार तथा अवस्थाअनुसार यसमा निर्णय हुन्छ । सबैलाई एउटै निर्णयले काम नगर्ला । हामीले कति सामाजिक दुरी कायम गर्न सक्छौं । १० वर्षभन्दा कम उमेरका बालबालिकाहरुले त्यत्ति राम्ररी बुझेर सबै कुराहरु फलो गर्न सक्ला भनेर धेरै विश्वास छैन । त्योभन्दा माथिका बच्चाहरुलाई अलि सम्झाइ बुझाइ गर्न सकिन्छ होला । मास्क लगाउने, सामाजिक दुरी, लगायतका कुरामा त्यति कडाइ गर्न सक्दैनौं होला । विद्यालयको अवस्था हेरी जहाँ जनस्वास्थ्यका मापदण्ड पालना गर्न सकिन्छ खुला स्थान छ । कक्षाकोठा ठूला छन् । आलोपालो गरेर पढाउन सकिन्छ । सिफ्टमा पढाउन सकिन्छ भने सोच्न सकिन्छ । हैन चुनौतीपूर्ण छ भने केही समय संक्रमण चेनलाई ब्रेक गर्नलाई भर्चुअल माध्यमबाट पनि पढाउन सकिन्छ । शैक्षिक हिसाबले घाटाभन्दा पनि जोगाउने हिसाब र स्वस्थ्यमा जटिलता नहोस् भनेर निर्णय लिनुपर्छ ।

बालबालिकाहरुमा कोभिड संक्रमण एकातिर छ भने अर्कोतिर मल्टिपल सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम पोष्ट कोभिडको पनि समस्या छ । नेपालमा यसले केही बालबालिकाको मृत्यु पनि भयो । जटिल नै अवस्था छ । छिटो नै गम्भीर बन्ने अवस्था छ । आइसीयू नै चाहिने अवस्था छ । त्यो हिसाबले संवेदनशील हुन जरुरी छ । सबै विद्यालय बन्द भन्दा पनि अवस्था अनुसार व्यवस्थापन गर्नुपर्ने छ ।

बालबालिकाहरु सिकिस्त भएको अवस्थामा आवश्यक पर्ने पिआइसियूको संख्या देशभर यसै पनि कम छ । यस्तो अवस्थामा पिआइसियूको संख्या बढाउन पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला भएन ?

हुन त, बालिबालिकाहरुको वार्डहरु त धेरै संघीय अस्पतालहरुमा छन् । बालबालिकामा संक्रमण बढेको छ । बालबालिकाको लागि नै डेडिकेटेड अस्पतालहरु एकदमै कम छन् । बालबालिकाहरु स्वाब लिन दिँदैनन् । त्यसैले राम्ररी स्वाब लिन नदिँदा पनि पोजिटिभिटी दर कम हुन सक्छ । त्यो हुँदाहुँदै पनि १० प्रतिशत सालाखाला बालबालिका पोजिटिभ हुनु भनेको धेरै हो । सामान्य रुघाखोकी लागेको बच्चा खेलिरहेको वा खाइरहेको छ भने बुवाआमाले परीक्षणको दायरामा ल्याउँदैनन् । तुलनात्मक हिसाबले सबै अस्पतालमा बेड बढ्दा बालिकालिकाले पनि बेड पाउँछन् । यो चाहिँ महत्वपूर्ण हो कि सबै ठाउँमा बालरोग विशेषज्ञ भए तापनि बालिबालिकालागि आईसीयूका बेड पर्याप्त छैनन् । त्यो हिसाबले पनि अभिभावकहरु झनै बढी सचेत भएर बालबालिकाहरु बचाउने हिसाबले काम गर्नुपर्‍यो ।

खोप लगाएकामध्ये कतिलाई संक्रमण देखिएको छ भनेर इडिसिडीले तथ्यांक संकलन गरेको छ, कति छन् ?

अब हामी संक्रमितहरुको तथ्यांक संकलन गर्दा खोप लगाएका इतिहास पनि सोध्छौं । खोप लगाएका छिटपुटलाई संक्रमण भएको रिपोर्ट पाइरहेका छौं । कुनै पनि खोप सतप्रतिशत प्रभावकारी छैन । खोप लगाएकालाई पनि संक्रमण हुनसक्छ । तर लगाएको छु भनेर ढुक्क भएर बस्ने अवस्था हुन्न । साउथ अफ्रिकनमा यसले त्यति राम्रो काम गरेको देखिएको छैन । ब्राजिलियन भेरियन्टमा यसले के गर्छ थाह भएको छैन । अर्को भेरियन्ट पनि आउन सकछ । डबल भेरियन्टको जनस्वास्थ्यमा कति असर छ भनेर भारतले अझै बताएको छैन । अहिले मुख्य भनेको जनस्वास्थ्यको मापदण्ड नै हो ।

नेपालको संक्रमणको अवस्था कस्तो छ ? कस्तो छ प्रक्षेपण ?

अहिले संक्रमणको अवस्था भन्दा दैनिक परीक्षणमा पत्ता लाग्ने दर १० प्रतिशतभन्दा नाघेको अवस्था छ । सबै उमेर समूहलाई असर गरेको छ । अहिले मुख्य जोखिम चाहिँ युवा उमेरमा छ । हुन त, हाम्रो जनसंख्या पनि ४० वर्षभन्दा मुनिको बढी नै छ तुलनात्मक हिसाबले पपुलेसन पिरामिड भन्छौं त्यो चाहिँ युवा उमेर समूहको मात्रा बढी छ । त्यो जनसंख्यामा संक्रमितहरु बढी देखिएका छन् । त्योभन्दा पनि बढी चिन्ताको विषय आईसीयु चाहिने र अक्सिजन चाहिने युवा उमेरमा बढी छ । देशैभर उपलब्ध शय्यामा ओभरलोड हुन सक्छ कि भन्‍ने डर हो ।

विगतमा ५०–६० वर्ष माथिमा मृत्यु पनि बढी थियो अस्पताल भर्ना हुने दर पनि बढी थियो । बेड थपिएको छ । तर त्यसले पनि यो भार थेग्न सक्दैन की भन्ने डर हो । बचाउनेतिर नै ध्यान दिने हो । जुनै भेरियन्ट भए पनि जनस्वास्थ्यमका मापदण्ड पालना गर्नै पर्छ ।

गणितीय हिसाबले प्रक्षेपण गर्दा जनस्वाथ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँ भएर सबै क्षेत्र खुला भयो भने दैनिक ११ हजार जति संक्रमित हुन सक्ने भन्ने छ । त्यो भयो भने प्रणालीले नै थेग्न नसक्ने गरी गाह्रो हुन्छ । तर यदि मास्कलाई मात्र हामीले म्यान्डेटरी गर्‍यौं भने जनस्वास्थ्यका मापदण्ड राम्ररी पालना गर्‍यौं भने ११ हजारबाट १ हजारमा पनि आउन सक्छ भन्ने प्रक्षेपण छ । यो धेरै अवस्था हेरेर प्रक्षेपण गरिएको हो । यसमा भेरियन्टले पनि फरक पार्न सक्छ । अझ बढी पनि हुन सक्छ । भेरियन्टको मात्रा बढेन, सचेत भयौँ भने संक्रमणको दर रोक्न सकिन्छ ।

पछिल्लो समय भारतमा संक्रमण चुचुरोमा पुग्दा ३ देखि ४ हप्तामा हाम्रोमा पनि संक्रमण धेरै फैलियो । हाम्रोमा पनि केही दिनमा संक्रमण त्यही दरमा बढ्दैछ त्यसैले सचेत हुन आवश्यक छ ।

प्रकाशित : वैशाख ३, २०७८ २१:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×