कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा : शाक्य

काठमाडौँ — नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गरेकी छन् । 

ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा : शाक्य

नेकपा (एमाले) नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको शपथ ग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सत्ता लिप्साका कारण ठूलो संघर्षपछि स्थापित गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको बताएकी हुन् । अध्यक्ष ओलीले गणतन्त्र ल्याउनका लागि योगदान गरेका योद्धाहरुलाई कारबाही गरेर आफू सत्ता र कुर्सी जोगाउने खेलमा लागेको आरोपसमेत लगाइन् । ओलीका कारण अहिले पार्टीमात्रै नभई मुलुक नै अप्ठेरो स्थितिमा परेको पनि नेतृ शाक्यले बताइन् ।

उनले भने, ‘कम्युनिष्ट पार्टीमात्रै होइन, मुलुक अप्ठेरोमा परेको छ । सङ्कटमा परेको छ । गणतन्त्र, लोकतन्त्र कमजोर बनाउने उहाँकै कारणले भइराखेको छ र देशको आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरणको दिशातिर जसरी अगाडि बढ्नु पर्ने हो उहाँकै कारणले भइराखेको छैन । सत्ता लिप्सा, सत्ता लिप्सा, कुर्सी लिप्सामात्रै, अनि गणतन्त्र ल्याउनका लागि बलिदान गर्ने योद्धाहरु, अनि एक जना व्यक्ति सत्ता लिप्सा भएर कुर्ची लिप्सा गरेर गणतन्त्रलाई नै समाप्त गर्ने खालको दुस्साहस गर्ने यो सुहाउने कुरा होइन ।’

अध्यक्ष ओलीमा आफू ठूलो पदमा पुगें भन्ने दम्भ रहेको पनि नेतृ शाक्यले बताइन् । त्यही दम्भका कारण अहिले देश अप्ठेरोमा परेको पनि बताइन् । उनले भनिन्, ‘मलाई लाग्छ उहाँ सच्चिनुहोला जस्तो लाग्दैन । उहाँमा दम्भ छ, घमण्ड छ, उहाँलाई ठूलो पदमा पुगें अब जिन्दगीमा कहिल्यै पुग्ने छैन त्यसैले अब मैले कोसँग माफी माग्ने, कोसँग मैले आफ्नो कमजोर स्थिति बनाउनुपर्छ ? पर्दैन, म ठूलो ठाउँमा पुगें प्रधानमन्त्री जस्तो ठूलो ठाउँमा, पार्टी अध्यक्षजस्तो ठूलो ठाउँमा पुगेँ भनेर उहाँमा जे दम्भ छ त्यो दम्भले आज मुलुक अप्ठेरोमा परेको छ ।’

नेतृ शाक्यले आफूहरु नेकपा एमाले कमजोर भएको हेर्न नचाहेको पनि स्पष्ट पारिन् । तर अहिले अध्यक्ष ओलीले पार्टीलाई विचारविहीन, विधि मिचिएको र विधि समाप्त पार्टीको रुपमा खडा गर्न खोजेको आरोप पनि लगाइन् ।

कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले अहिले आई लभ यु केपी बा भन्नेहरु यसअघि हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्नेहरु जस्तै हराएर जाने बताए । अवसर खोज्दै हिँडनेहरु अहिले केपी ओलीको पछि लागेको र केही समय पछि उनीहरुले छाडेर जाने निश्चित भएको पनि उनको भनाइ थियो ।

नेता पाण्डेले पार्टीलाई बलियो बनाउने दृढ संकल्पका साथ काम गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले पार्टीलाई बिलयो बनाउँदै वामपन्थीबीच, कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने बताए ।

प्रकाशित : वैशाख ३, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?