भारतबाट फर्किएका एक संक्रमितको भेरी अस्पतालमा मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट फर्किएका एक संक्रमितको भेरी अस्पतालमा मृत्यु

रूपा गहतराज

नेपालगन्ज — साताअघि भारतबाट आएका एक कोरोना संक्रमितको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

सुर्खेत गुर्भाकोटका ३१ वर्षीय पुरुषको शुक्रबार बिहान ७:३५ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषलाई चैत ३१ गते नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । त्यहाँ पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार ती पुरुषलाई कुनै दीर्घरोग थिएन ।

बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट उपचारका लागि आउँदा मृत्यु भएकाको संख्या ९३ पुगेको छ ।

यसैबीच, नेपालगन्ज मेडिकल कलेजमा गरिएको परीक्षणमा ४५ जनालाई कोरोना पुष्टि भएको छ । मेडिकल कलेजले ४५ जनाको जाँच गरेकोमा सबैमा कोरोना देखिएको हो ।


प्रकाशित : वैशाख ३, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

‘आउटसोर्सिङ क्यान’

‘क्रिकेट संघको खोल ओढेर बजारमा मान्छेहरु सल्बलाइरहेका छन्’
‘क्यानसँग बजेट छैन, कोभिड–१९ का बेला आर्थिक हिसाबमा जोखिम लिन नसकेकाले मात्र प्रतियोगिता अरुले गरेको हो’
विनोद पाण्डे

काठमाडौँ — गत साता नेपाली क्रिकेटका लागि ऐतिहासिक दिनजस्तै थियो । एकै साथ नेपाली क्रिकेटमा दुई प्रायोजक भित्रिएका थिए । यसले कम्तीमा घरेलु क्रिकेटमा लामो समयदेखि रोकिएका राष्ट्रिय प्रतियोगिताहरू ब्युँतिने सजिलै अनुमान गर्न सकिन्छ । 

चौधरी ग्रुपको वाइवाइले नेपालको यू–१९ लाई ७० लाख रुपैयाँको प्रायोजन गरेको थियो । त्यही दिन नेपाल क्रिकेट संघ (क्यान) ले एएनएस ग्रुप अफ कम्पनीको एडप्याड प्रालि हुँदै आईएनजी ग्रुपअन्तर्गत इनोभेट टेक नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रायोजक बनेको थियो । अर्थात इनोभेट टेक क्यानका लागि ‘थर्डपार्टी’ हो ।

यू–१९ को राष्ट्रिय प्रतियोगिता हुन नसकेको ७ वर्ष भइसक्यो । यसको प्रभाव उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नराम्रोसँग देखिएको छ । नेपालले सन् २००० देखि २००८ सम्म गरी लगातार ५ पटक आईसीसी यू–१९ विश्वकप खेलेको थियो । त्यसमा पनि एकसेएक प्रदर्शन दिँदै नेपालले महारथी छवि बनाएको थियो ।

पछिल्लो ६ वर्षमा नेपालले एकपल्ट मात्र यू–१९ विश्वकपमा पुग्न सकेको छ । सन् २०१६ मा बंगलादेशमा खेलेयता नेपाल उमेर समूहको विश्वकपमा छनोट हुन असफल रहँदै आएको छ । संयोगले यसक्रममा घरेलु प्रतियोगिता हुन सकेका छैनन् । ‘ट्यालेन्ट हन्ट’ को भरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा नेपाल एसियाको क्रिकेटमै रोकिएको छ । सातपल्ट यू–१९ विश्वकप खेलिसकेको नेपाललाई अहिले त्यही निकै बिरानो भएको छ ।

चौधरी ग्रुपलाई प्रायोजक पाएपछि क्यानलाई यू–१९ राष्ट्रिय प्रतियोगिताको हतारो भइसकेको छ । सम्भवत् क्यानले एक महिनाभित्र यू–१९ को राष्ट्रिय प्रतियोगिता गर्नेछ । क्यानले चौधरी ग्रुपसँगको सम्झौता आफ्नै संग्लनतामा प्रत्यक्ष गरेको थियो, जसका कारण क्रिकेटमा मात्र नभई नेपाली खेलकुदमै उमेर समूहको सबैभन्दा ठूलो प्रायोजक ल्याउन सफल भयो ।

क्यानले राष्ट्रिय टोलीको प्रायोजन अधिकारको जिम्मा तीन महिनाअघि नै एडप्याडलाई दिएको हो । अर्थात क्यानले राष्ट्रिय टोलीको जर्सी प्रायोजक खोज्न आउटसोर्सिङ गर्ने निर्णय गरेको थियो । जसअनुरुप एडप्याडको जिम्मा राष्ट्रिय टोलीको जर्सीमा प्रायोजक खोज्नु थियो । एडप्याडले त्यहीअनुरुप इनोभेट टेकलाई भित्र्याएको थियो । क्यानले एडप्याडसँगको सम्झौता सार्वजनिक गरेको छैन । तर एडप्याडसँगको सम्झौताअनुरुप क्यानले ५६ लाख रुपैयाँ पाउने बताइएको छ ।

६ वर्षअघि क्यानले नेपाल टेलिकमसँग पुरुष र महिला राष्ट्रिय टोलीको प्रमुख प्रायोजनवापत १ करोड ५५ लाख पाउने सम्झौता गरेको थियो । नेपालले २०१४ मा बंगलादेशमा विश्व ट्वान्टी–२० मा खेलेपछि क्यान यति ठूलो प्रायोजन रकम ल्याउन सफल भएको हो । २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो, जुन सफलताका हिसाबले विश्व ट्वान्टी–२० भन्दा ठूलो हुन्छ । यसको प्रभाव नेपालको क्रिकेट ब्रान्डमा देखिनुपर्ने हो । तर क्यानले राष्ट्रिय टोलीका लागि ल्याएको प्रायोजक रकम अपेक्षा गरेभन्दा निकै कम छ । विगत नै हेर्ने हो भने पनि यो ‘कौडीको भाउ’ जस्तो देखिएको छ ।

आउटसोर्सिङ भन्नाले ठेक्का दिने कि इभेन्ट आयोजना गर्न दिने लगायत हुन्छ । शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीनदेशीय ट्वान्टी–२० शृंखलाका लागि पनि क्यानले आउटसोर्सिङ गरिरहेको छ । क्यानले जोरा इन्टरनेसनललाई आयोजना अधिकार दिएको छ । एक साता चल्ने यो प्रतियोगितामा नेपालले नेदरल्यान्ड्स र मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । क्रिकेटवृत्तमा यसले ‘१५ लाखे प्रतियोगिता’ भनेर चर्चा पाइरहेको छ । कारण क्यानले आउटसोर्सिङ गरेवापत यो प्रतियोगिताबाट १५ लाख नगद पाइरहेको छ ।

आउटसोर्सिङ गराउनुको फाइदा क्यानलाई इभेन्ट आयोजना गराउन सजिलो भयो, आफूले खासै मेहनत गर्नुपरेन, एकमुष्ट रकम पाउने भयो । यदि कुनै इभेन्ट आयोजना गर्दा त्यसबाट ५ करोड नाफा गर्न सकिन्छ भने त्यो इभेन्ट किन १ करोडमै दिने ? अहिलेको यक्ष प्रश्न यही हो । क्यानले सस्तोमा किन इभेन्ट आयोजना गर्न वा ठेक्कामा दिइरहेको छ । नेपाली क्रिकेट जुन ब्रान्डको हो त्यो किन क्यानलाई महसुस भइरहेको छैन ?

क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने यो ‘१५ लाखे प्रतियोगिता’ मात्र नभएको दाबी गर्छन् । ‘यो प्रतियोगिता गरेवापत क्यानले १५ लाख पाउने हो, तर यो आयोजना गर्दाको खर्च १ करोड २० लाख रुपैयाँभन्दा बढी छ । क्यानसँग बजेट छैन, कोभिड–१९ का बेला आर्थिक हिसाबमा जोखिम लिन नसकेकाले मात्र यो प्रतियोगिता अरूले आयोजना गरेको हो,’ अध्यक्ष चन्दले भने, ‘यो प्रतियोगिता फाइभ स्टार स्तरको छ, खेलाडीले प्रतिखेल ५ हजार भत्ता पाइरहेका छन् ।’

आउटसोर्सिङ गर्ने कम्पनीले महसुस गरेर नै क्यानको प्रस्ताव स्विकारिरहेको छ भने क्यान आफैं किन त्यो महसुस गर्न सक्दैन ? यो अर्को प्रश्न हो । आउटसोर्सिङ गर्दा कमिशनको कुरा हुनसक्छ । कतै यही कारण इभेन्ट होस् वा ठेक्का क्यानले सस्तोमा लिइरहेको त छैन ? क्यानका एक पदाधिकारी भन्छन्, ‘डिल अन्डर कट हुनसक्छ । क्यानले आफ्नो ब्रान्डको उचित मूल्य चाहन्छ भने प्रतिस्पर्धात्मक बोलकबोल गराउनैपर्छ । होइन भने यस्ता चंगुलमा क्यान र क्यानका पदाधिकारीहरू परिरहन्छन् ।’

ती पदाधिकारीले अगाडि भने, ‘अहिले १५ लाखमा ठेक्का जोरालाई दिएको छ, १५ लाखमै इभेन्ट बेच्ने हो भने समान अवसर अरू कम्पनीलाई पनि दिनुपर्थ्यो । यसले गलत नजिर बसाइरहेको छ नेपाली क्रिकेटमा । कम्पनीको मापदण्ड तोकेर बोलकबोल नगरेसम्म यसले दूरगामी असर पारिरहन्छ । क्यान जस्तो सार्वजनिक संस्थाले बिना प्रतिस्पर्धा अरूलाई ठेक्का दिँदा ठूलो कानुनी अड्चन खेप्नुपर्ने हुनसक्छ । सुटुक्क एउटा कम्पनीलाई दिँदा कानुन आकर्षित भइरहेको हुन्छ ।’

एक करोडको बजेट थियो, १५ लाख आउने भयो, कसले तनाव लिन्छ भनेर पन्छिरहने हो भने क्यानलाई नै आउटसोर्सिङ किन नगर्ने भन्ने प्रश्न आइसकेको मान्दै उनी सकभर क्यान आफैं यस्ता कार्यका लागि सक्षम हुन सक्नुपर्ने जनाउँछन् ।

त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको व्यवस्थापन पाटोभित्र जति छिर्‍यो उति विवादित छ । अघिल्लो साताको बोर्ड बैठकमा यसलाई ल्याए पनि दुई महिनाअघि नै गुपचुप यसलाई अन्तिम रूप दिइएको क्यानका सदस्य छुम्बी लामा दाबी गर्छन् । ‘दुई महिनाअघि नै यसबारे बजारमा आएपछि मैले पदाधिकारीलाई त्रिकोणात्मक शृंखलाबारे सोधेको थिएँ । प्रायोजन अधिकार जोरालाई दिइएको जवाफ थियो,’ लामाले भने, ‘कुन निर्णयले यो इभेन्ट जोरालाई दिइएको हो ? खाली यति भनिएको छ, क्यानले प्रतियोगिता आयोजना गर्नेछ र हिसाबकिताब जोराको हुनेछ ।’

‘दुवै टोलीलाई क्यानले बोलाउनुपर्ने, मैदान क्यानको, खेलाडी क्यानको, हिसाबकिताबमात्र जोराको यो कति हास्यास्पद हो,’ सदस्य लामाले प्रश्न गरे, ‘प्रायोजन खोज्ने र टिकेटिङको पाटो जोरालाई दिइएको भनिएको छ । पैसा पनि जोरामै जान्छ भनिएको छ । अनि क्यानले गरेको प्रतियोगिताको भोलिका दिनमा अडिट कसरी हुन्छ । खर्च र आयस्रोत क्यानको भएपछि अडिट कसरी गर्ने ?’

पदाधिकारीबाट चित्तबुझ्दो जवाफ नआएपछि आफुले ‘नोट अफ डिसेन्ट’ लेखेको जनाउँदै लामाले भने, ‘एकले अर्काले दोष देखाउँदै बोर्ड बैठकमा पदाधिकारी पन्छिरहेका थिए । जबकि क्रिकेट संघको खोल ओढेर बजारमा मान्छेहरू सल्बलाइरहेका छन् ।’

प्रकाशित : वैशाख ३, २०७८ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×