कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आज कर्णालीका मुख्यमन्त्रीले विश्‍वासको मत लिँदै

जोगिएला त शाहीको पद ?
कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — सुरुवातदेखि नै आफूविरुद्ध चर्को दबाब महसुस गर्दै आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अन्तत: आज संसद्मा विश्वासको मत लिँदैछन् । दिउँसो २ बजे हुने मतदानबाट उनी नेतृत्वको सरकारको भविष्य निर्क्यौल हुनेछ ।

आज कर्णालीका मुख्यमन्त्रीले विश्‍वासको मत लिँदै

हाल ३९ सदस्य रहेको कर्णाली प्रदेशसभामा मुख्यमन्त्री शाहीको दल नेकपा (माओवादी केन्द्र) का १२ जना सांसद छन् । विश्वासको मत लिनका लागि २० जना सांसदको आवश्यकता पर्दछ । यस्तो प्रतिकूल अवस्थामा समेत विश्वासको मत लिन खोज्नुले मुख्यमन्त्री शाहीले अन्य दलसँग आन्तरिक गठजोड गरेको अनुमान गरिएको छ । प्रदेशसभामा कांग्रेसका ६, राप्रपाका १ र एमालेका १९ (सभामुख राजबहादुर शाहीलाई छोडेर) सांसद छन् ।

कांग्रेसले सरकारलाई साथ दिने कि नदिने भन्ने निर्णयको लागि केन्द्रको निर्देशन पर्खेको छ । ‘अन्यत्र (गण्डकीतिर) एमालेविरुद्ध समीकरण भएकोले यता पनि त्यस्तै निर्देशन आउँछ कि भन्ने अनुमान गरेका छौं,’ संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘तर स्पष्ट निर्देशन नआउँदासम्म हामीले निर्णय गर्ने अवस्था छैन ।’ केन्द्रको निर्देशनअनुसार केही बेरमा बस्ने संसदीय दलको बैठकले आधिकारिक निर्णय गर्ने उनले बताए ।

केपी ओली पक्षीय सांसद (हाल एमाले संसदीय दलका नेता) यामलाल कँडेलको अगुवाइमा मुख्यमन्त्री शाहीविरुद्ध असोज २५ मा तत्कालीन नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । यद्यपि माधव नेपाल समूहका सांसदको सहयोगमा उक्त प्रस्ताव कात्तिक ७ गते अस्वीकृत भयो । त्यसअघि पनि मुख्यमन्त्री शाहीविरुद्ध दुईपटक हस्ताक्षर संकलन भएको थियो । यी सबै अप्ठेरोमा माधव नेपाल समूहले जोगाएको थियो । यसपटक पनि मुख्यमन्त्री शाहीको प्रमुख भरोसा नेपाल समूह देखिएको छ ।

नेपाल समूहको सहयोगबिना कांग्रेसको समर्थनको अर्थ पनि रहँदैन । ‘उहाँहरुले अन्तिम समयमा के गर्नुहुन्छ भन्ने कुराले विश्वासको मत सफल वा बिपल हुन्छ होला,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘औपचाचारिक रुपमा एमाले पार्टी एउटै भए पनि नेपाल समूह राजनीतिक रुपमा अलग भएकोले हामीले सहयोग पाउँछौं भन्ने विश्वास छ ।’ सरकारलाई विश्वासको मतको लागि आवश्यक पर्ने मत प्राप्त हुने उनले बताए ।

प्रकाशित : वैशाख ३, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?