कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भारतबाट अझै आएन थप खोप

जगदीश्वर पाण्डे

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी दिनहुँजसोको भाषणमा भन्छन्, ‘कोभिड–१९ विरुद्धको थप खोप आवश्यकताअनुसार भारतबाट छिट्टै ल्याइनेछ/आउँछ ।’ तर, निर्णय गरेको दुई महिनासम्म खोप आएको छैन । 

भारतबाट अझै आएन थप खोप

नेपालले भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद सम्झौता गरेको २० लाख डोज खोपमध्ये १० लाख अझै आइपुगेको छैन । मन्त्रिपरिषद्को फागुन ४ मा बसेको बैठकले सिरमबाट २० लाख खोप ल्याउने निर्णय गरेको थियो । १० लाख डोज खोप नेपालले फागुन ९ मै पाएको थियो ।

बाँकी खोप नआएपछि गत चैत २७ मा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरबीच भएको टेलिफोन संवादमा पनि नेपाललाई आवश्यक खोप उपलब्ध गराउने विषयमा कुरा भएको थियो । त्यसबेला जयशंकरले नेपालले खरिद गरेको र भविष्यमा आवश्यक पर्ने खोप सहयोग गर्ने वाचा गरेका थिए ।

कोभिड–१९ संक्रमण र मृतकको संख्या बढ्दै गएपछि भारतले केही दिनअघि विदेशमा तत्कालका लागि खोप निर्यात नगर्ने निर्णय गरेको थियो । भारतले केही समयअघिसम्म विश्वका ७० भन्दा बढी मुलुकमा ६ करोड डोजभन्दा बढी कोभिड–१९ को खोप निर्यात गरिसकेको छ । खरिद गरेको १० लाख डोजबाहेक भारतले नेपाललाई माघ ८ मा १० लाख डोज खोप उपहारस्वरूप दिएको थियो । चैत दोस्रो सातादेखि तत्कालका लागि खोप निर्यात बन्द गरेको भारतले नेपालको सवालमा भने बन्द नगरिएको जनाएको छ तर व्यवहारमा नेपालले खरिद गरेकै खोप पनि आएको छैन ।

जयशंकरले संवादका क्रममा नेपालले खरिद गरेको खोप निर्यातका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री ज्ञवालीले कान्तिपुरलाई बताए । ‘दुई मुलुकका परराष्ट्रमन्त्रीबीच संवाद भएपछि कोभिड–१९ भ्याक्सिनका लागि लगातार पहल भए पनि भारतीय पक्षबाट नेपाललाई कहिलेसम्म खोप उपलब्ध गराउन सकिन्छ भन्ने सन्देश प्रवाह भइसकेको छैन,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘खोप अत्यावश्यक भएका कारण हामीले लगातार पहल गरिरहेका छौं ।’ स्वास्थ्य मन्त्रालयले भने खोप ल्याउने सम्बन्धमा परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको जनाएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारका अनुसार नेपालले खरिद गरेको कोभिड–१९ खोप केही ढिलो गरी नेपालमा आउने बताए । उनले भने, ‘कहिले नेपालमा खोप आउँछ भन्ने मिति अझै तय भइसकेको छैन ।’

प्रकाशित : वैशाख ३, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?