कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

प्रदेशमा समीकरण बदल्न कांग्रेस अग्रसर

जसपाले माने केन्द्रमा पनि गठबन्धन बन्न सक्छ : महत

काठमाडौँ — केन्द्रमा नयाँ सत्ता गठबन्धन बनाउन अलमल गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेस प्रदेश सरकारमा भने पार्टीलाई लाभ हुने गरी समीकरण बदल्न अग्रसर भएको छ ।

प्रदेशमा समीकरण बदल्न कांग्रेस अग्रसर

यसअघि वाग्मती र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदा मौन रहेको कांग्रेस पछिल्लोपटक गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी ओलीनिकट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर आफ्नो नेतृत्वमा सरकार गठन गर्न अघि सरेको हो ।

कांग्रेसकै अग्रसरतामा चार दल मिलेर बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । माओवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले कांग्रेस नेतृत्वलाई स्वीकारेपछि संयुक्त रूपमा अविश्वास प्रस्ताव प्रदेश संसद् सचिवालयमा दर्ता गरिएको हो । गण्डकी प्रदेशमा एकाएक बनेको यो गठबन्धनले केन्द्रीय राजनीतिलाई समेत तरंगित बनाएको छ । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीइतर गठबन्धनका लागि प्रयास भइरहेको छ तर जसपा अनिर्णीत रहेका कारण सम्भव भएको छैन ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो मागका धेरै विषय अघि बढिरहेकाले सडकबाट सत्ता समीकरण बदल्ने विषय आफूहरूलाई स्वीकार्य नहुने बताए । उनले गण्डकीमा भएको समीकरणका विषयमा छलफल नभएको बताए । ‘या त पार्टीले एउटा निर्णय दिनुपर्ने हुन्छ, या प्रदेशहरू स्वायत्त भएकाले उनीहरूले नै प्रदेशको आवश्यकता र औचित्यका आधारमा निर्णय गर्नेछन् भन्नुपर्छ,’ उनले भने, ‘यस विषय पार्टीमा कुनै छलफल भएको छैन ।’

जसपाका अर्का नेता राजेन्द्र श्रेष्ठले भने संघीय अवधारणा बोकेको पार्टी भएकाले गण्डकी प्रदेशको सत्ता समीकरणका विषयमा प्रदेशले निर्णय लिएको बताए । गण्डकीका सांसद उपेन्द्र यादव नेतृत्वमा रहेको तत्कालीन समाजवादी पार्टीका हुन् । तत्कालीन राजपाका सांसद नभएका कारण ठाकुर–महतोले केन्द्रमा लिएको लाइन गण्डकी प्रदेश सरकारको गठबन्धनमा लागू हुन नसकेको हो ।

गण्डकी प्रदेशकै जस्तो गठबन्धन केन्द्रमा बन्ने सम्भावना कति छ त भन्ने प्रश्नमा कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले जसपा तयार भए सम्भव हुने बताए । ‘कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भनेर निर्णय गरिसकेको छ, जसपाले निर्णय नलिएका कारण अड्किएको हो, उसले निर्णय गरेमा त्यस्तो गठबन्धन बन्न सक्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीलाई विस्थापित गर्न कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा आउनुपर्छ । माओवादी पहिल्यैदेखि तयार छ । जसपामा यादव र भट्टराई तयार भए पनि ठाकुर र महतोले आफ्ना माग पूरा गराउन प्रधानमन्त्री ओलीसँगै निकटता बढाइरहेका छन् । जसपाले उठाएका माग सरकारले सम्बोधन गरेमा ठाकुर र महतो पक्षले ओलीविरुद्धको गठबन्धनमा नजाने संकेत गरेको छ ।

नेता श्रेष्ठले प्रदेश सरकारको जस्तै गठबन्धन केन्द्रमा पनि बन्ने दाबी गरे । त्यसका लागि केही समय लागे पनि ओली नेतृत्वको सरकार लामो समय नटिक्ने दाबी उनले गरे । महतोले भने गण्डकीमा भएजस्तै सत्ता समीकरण केन्द्रमा तत्काल नहुने बताए । ‘पुच्छरले टाउको हल्लाउने कि टाउकोले पुच्छर हल्लाउने हो ?’ उनले भने, ‘प्रदेशमा कि त केन्द्रको समीकरणअनुसार हुन्छ या त प्रदेशलाई स्वायत्त छाड्ने निर्णय हुन्छ तर अहिले दुवै विषयमा छलफल भएको छैन ।’

प्रकाशित : वैशाख ३, २०७८ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?