कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एक महिनाअघि बुटवलबाट हराएका व्यवसायीको शव बागलुङमा गाडिएको अवस्थामा फेला

अमृता अनमोल

बुटवल — एक महिनाअघि हराएका बुटवलका व्यवसायीको शव बागलुङमा गाडिएको अस्थामा फेला परेको छ ।

बुटवल–११ कालिका नगरमा सियोर जब डटकम व्यवसाय गर्दै आएका नारायण बसेल बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर–२ रिनाम बेसीमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

देवचुली नगरपालिका–३, केवरानी नवलपरासी स्थायी ठेगाना भएका ३२ वर्षीय बसेल चैत ४ गते साँझदेखि सम्पर्कविहीन भएका थिए । चैत ५ मा उनका दाजु भागीरथ बसेलले प्रहरीमा उजुरी दिएका थिए ।

हत्याको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवलमा क्यान्टिन व्यवसाय चलाउँदै आएका मित्रलाल खनाल छन् । मुख्य आरोपी उनका दाजु गौरीशंकर खनाल भने फरार छन् । उनीहरु बाग्लुङको ढोरपाटन नगरपालिका–२ रिनामका स्थायी बासिन्दा हुन् ।

आर्थिक लेनदेनका कारण बसेललाई बुटवलमा हत्या गरी शव बाग्लुङ लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ । आरोपितले प्रहरीलाई दिएको बयानअनुसार गौरीशंकरले साझेदारीमा व्यवसाय गर्ने भन्दै १२ लाख रुपैयाँ लिएका थिए । पछि कुरो नमिलेपछि बसेलले व्यवसायबाट हात झिकेका थिए ।

प्रहरीका अनुसार चैत ४ मा उक्त रकम बुझाउने बहानामा गौरीशंकरले बसेललाई बोलाएका थिए । गौरीशंकरका भाइले बुटवलमै हत्या गरेर सुटकेसमा हाली बसको छतमा राखेर शव बागलुङ पुर्‍याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ । त्यसपछि उक्त शव ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनामबेसीमा जस्तीखोलाको कुलोको मुहानमा गाडेको पनि आरोपितले बयान दिएको प्रहरीको भनाइ छ ।

शव भेटिएको हल्ला आएपछि गौरीशंकरले ढोरपाटन नगरपालिका–२ का वडाध्यक्ष युवराज महतलाई शव भेटिएको हो वा होइन भन्दै बुझ्न फोन गरेका थिए । वडाध्यक्ष महतले एक पुरुषको शव फेला परेको बताए गत्तै उनको मोबाइल अफ रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयले बाख्रा चराउन गएका बेला कुलोको मुहान खन्ने क्रममा शव भेटिएको हो । र शंकास्पद वस्तु देखेका थिए । उनीहरुले माटो निकालिएको र शव गाडिएको जस्तो देखेपछि इलाका प्रहरी कार्यलय बुर्तिबाङमा खबर गरेका थिए ।

वैशाख १ गते बिहान प्रहरी टोली घटनास्थलमा पुगेर शव निकालेको थियो । जसमा नाम्लोसँगै प्लास्टिकले बेरेर डोरीले कसेको अवस्थामा शव फेला परेको थियो । बुधबार बसेलको शव भए/नभएको चिन्न भाइ मदन बसेल र आफन्त बागलुङ गएका थिए । उक्त शव नारायणकै भएको पुष्टि भएको दाजु नारायण बसेलले बताए । बसेलले ७ वर्ष जापान बसेर आएपछि डेढ वर्षयता व्यवसाय चलाएका थिए । मृतककी श्रीमती डेढ महिनाकी सुत्केरी छन् । बुटवलका प्रहरी नायब उपरीक्षक राठौरले अभियुक्तको खोजी कार्य तीव्र पारेको बताए ।

प्रकाशित : वैशाख २, २०७८ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?