कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ओली समूहमा लागेका सुदूरपश्चिमका प्रदेश सांसद बोहरालाई निलम्बन गर्न सिफारिस

अर्जुन शाह

धनगढी — नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशसभामा सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको सुदूरपश्चिम संसदीय दलले बोहरा दलमा नरहेको जानकारीसहितको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराएपछि उनी प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको हो । 

ओली समूहमा लागेका सुदूरपश्चिमका प्रदेश सांसद बोहरालाई निलम्बन गर्न सिफारिस

सांसद बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बोहराले साविक नेकपामा फाटो आएसँगै मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी माओवादी केन्द्र छाडेर एमालेको ओली समूहमा लागेका छन् ।

माओवादी केन्द्र संसदीय दलका तर्फबाट प्रमुख सचेतक अक्कल रावलले प्रदेशसभा सचिवालयमा उनी दलमा नरहेको सूचना दर्ता गराएको प्रदेशसभा सभामुखको सचिवालयले जनाएका छन् । राजनीतिक दलसम्बन्धी दफा ३४ मा दलमा त्याग गर्ने सदस्य सांसद नहुने व्यवस्था छ ।

प्रदेशसभाले अब प्रदेशसभा नियमावली २०७४ को नियम १९० अनुसार उनलाई निलम्बन गर्ने प्रक्रिया थाल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका तर्फबाट १४ सदस्य थिए । बोहरा ओली समूहमा लागेपछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले यसअघि नै २४ घण्टे स्पष्टीकरण सोधेका थियो । पार्टी केन्द्रको निर्णयअनुसार उनलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख सचेतक रावलले बताए ।

प्रकाशित : वैशाख २, २०७८ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?