३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विद्यार्थीको जीवनमा खेलबाड नगर : अखिल (क्रान्तिकारी)

काठमाडौँ — माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले कोरोना भाइरस संक्रमणको दोस्रो चरण सुरु हुने संकेत देखिएको भन्दै प्रतिकार्यका लागि तयारीमा लाग्न सरकार र सरोकारवाला पक्षसँग माग गरेको छ ।

विद्यार्थीको जीवनमा खेलबाड नगर : अखिल (क्रान्तिकारी)

अध्यक्ष रञ्‍जित तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै यथाशक्य चाँडो सिमानामा कडाई गर्ने, सम्भावित अवस्था अविलम्ब आंकलन गरी आइसोलेसन तथा क्वारेन्टिन व्यवस्थापन गर्ने, सहज पहुँचमा हरेक अस्पतालमा निःशुल्क पीसीआर परीक्षणको सुनिश्चितता गर्ने लगायत विषयमा ध्यान दिन तीनै तहका सरकार र अन्य सम्बद्ध पक्षसँग माग गरेका हुन् । त्यस्तै राष्ट्रिय जीवनका हरेक क्षेत्रमा स्वास्थ्य मापदण्ड पूरा गर्ने, खोपलाई प्रचारमुखी नभई प्रभावकारी रुपमा सबै नागरिकमा पुर्‍याउनेजस्ता कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन पनि माग गरिएको छ ।

यसैगरी अत्यन्तै संवेदनशील क्षेत्रका रुपमा रहेका देशभरका सबै शिक्षण संस्थाहरुमा उच्च सतर्कता कायम गर्न र सुरक्षाका सबै मापदण्डलाई कडाइपूर्वक पालन गर्न गराउन माग गरिएको छ । क्रान्तिकारीले वैकल्पिक शिक्षणको तयारी गर्न र स्थिति भयावह हुने देखिए मात्र विद्यालय फेरि बन्द गराउन ध्यानाकर्षण सरकारको ध्यानाकर्षण गरेको छ । 'यदि कोभिड प्रकोप अनियन्त्रित बन्दै गए अनलाईन भर्चुअल पठनपाठन एवम् परिक्षा लगायतका वैकल्पिक सिकाईका सवै प्रभावकारी उपायको अहिलेबाटै तयारी गर्न जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'उच्च स्वास्थ्य सुरक्षा अपनाउँदा अपनाउँदै पनि अवस्था भयावह बन्ने देखिए पुन: विद्यालय बन्द गर्ने कठोर विकल्पमा जानसमेत तयार हुन सम्बन्धित सबै पक्षको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं ।'

सरकार, निजी शैक्षिक संस्था सञ्चालकहरुले आफ्नो दायित्वबाट पन्छिएर केवल व्यवसायलाई मात्र प्रधान ठानी लापरबाही गरेर करिब ८० लाख विद्यार्थीको जीवनमा खेलबाड गर्न नहुने क्रान्तिकारी सुझाव छ ।

प्रकाशित : वैशाख २, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?