गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई तीन दलको पत्र- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई तीन दलको पत्र

कान्तिपुर संवाददाता

पोखरा — कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन बुझाएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल चलाउनका लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तीन दलले गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयका सचिव बास्तोलालाई निवेदन बुझाएका हुन् । बिहीबार दिउँसो निवेदन लिएर गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका नेता हरि चुमान र जसपाका नेता हरिशरण आचार्यलगायतका नेता प्रदेश प्रमुखको कार्यालय गएका थिए ।

बिहीबार संसद् सचिवालयमा १ बजेर ३५ मिनेटमा २८ जना सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको हो । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

अविश्वास प्रस्ताव दर्ता हुने थाहा पाएपछि प्रदेशसभाको चालू अधिवेशन रातारात अन्त्य गरिएको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका थिए । प्रदेश अधिवेशन अन्त्य गरेपनि २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।

संविधानको धारा १८३ को उपधारा ३ मा ‘प्रदेशप्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्न सक्ने’ उल्लेख छ ।

प्रकाशित : वैशाख २, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

आठौंपल्ट जिब्रो छेडे बोडेका बुद्धकृष्णले [तस्बिरहरु]

तस्बिर : इलिट जोशी/कान्तिपुर

भक्तपुर — मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाएका छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत बिहीबार श्रेष्ठले जिब्रो छेडेका हुन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् । गत वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण जात्रा औपचारिकतामै सीमित भयो ।

जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासी मध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ । सरकारले भीडभाडजन्य कार्य नगर्न नगराउन अनुरोध गरे पनि नगरपालिकाले जात्रा सञ्‍चालन गरिरहेको छ ।

जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइ राखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।

विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नु अघि शक्ति पीठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगरपरिक्रमा गराए देशमा दु:ख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि हुन नदिने जनविश्वास छ ।

हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभए पनि पछिल्लो तथ्यांक अनुसार हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ८ र जुजुभाइवांग श्रेष्ठले ८ पल्ट जिब्रो छेडेका छन् ।


प्रकाशित : वैशाख २, २०७८ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×