२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तीन दलले माग गर्ने

काठमाडौँ — मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गर्ने भएका छन् । बिहीबार दिउँसो ३ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनीहरुले प्रदेश अधिवेशन बोलाउन माग गर्न लागेका हुन् । 

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तीन दलले माग गर्ने

बिहीबार संसद् सचिवालयमा १ बजेर ३५ मिनेटमा २८ जना सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको हो । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

अविश्वास प्रस्ताव दर्ता हुने थाहा पाएपछि प्रदेशसभाको चालू अधिवेशन रातारात अन्त्य गरिएको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका थिए । प्रदेश अधिवेशन अन्त्य गरेपनि २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।

संविधानको धारा १८३ को उपधारा ३ मा ‘प्रदेशप्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्न सक्ने’ उल्लेख छ ।

यो पनि पढ्नुहोस्ः

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रकाशित : वैशाख २, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?