२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

घरमा ढुंगा प्रहार भएको भन्दै सांसद रावलले गराए गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई बोलाउँदा नआएको दाबी गरेका छन् ।

घरमा ढुंगा प्रहार भएको भन्दै सांसद रावलले गराए गृहमन्त्रीको ध्यानाकर्षण

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसद रावलले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई घटनाबारे जानकारी गराएका हुन् ।

'म बसेको शान्तिनगरस्थित घरमा बुधबार राति ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा उठेन,' रावलले गृहमन्त्रीलाई घटनाबारे समिति बैठकमा जानकारी गराउँदै भने ।

कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गर्दा मात्रै उठेको उनले बताए । घटनाको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ थियो ।

कसलाई लक्षित गरेर राति ढुंगा ढोकामा प्रहर भएको हो भन्नेबारे छानबिन गर्न रावलले गृहका अधिकारीलाई आग्रह गरेका छन् । उनले प्रहरीले राति फोन नउठाउने विषयलाई पनि गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । घटना राति १२ बजेतिर भएको रावलले बताए ।

'फोन गर्दा नउठ्ने र नलाग्ने अनि दुर्घटना भइसकेपछि प्रहरी आउनुको अर्थ हुँदैन, त्यसैले यसबारे पनि गृहमन्त्री र गृहसचिवको ध्यानाकर्षण गराउन चाहन्छु,' रावलले भने । रावल राज्यव्यवस्था तथा सुशासन समिति सदस्य पनि हुन् । उनी एमालेको आन्तरिक विवादमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा लागेका छन् ।

प्रकाशित : वैशाख २, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?