१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

३८१ लाई ‘लोकतान्त्रिक योद्धा’ सम्मान

काठमाडौँ — लोकतान्त्रिक आन्दोलनमा लागे पनि राज्यबाट उचित कदर नभएको भन्दै गुनासो गरिरहेकालाई सरकारले ‘लोकतान्त्रिक योद्धा’ का रूपमा सम्मान गरेको छ ।

३८१ लाई ‘लोकतान्त्रिक योद्धा’ सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका बहिर्गमित पूर्वलडाकुसहित जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार र घाइते तथा अंगभंग भएका करिब साढे तीन सयलाई बुधबार ‘लोकतन्त्रका योद्धाका रूपमा सम्मान गरे ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । काठमाडौं उपत्यकाबाहिरको हकमा प्रमुख जिल्ला अधिकारीहरूले सम्मान गरे । यो सम्मानबाट ९ हजार जतिलाई समेट्ने लक्ष्य छ । उनीहरूलाई सम्मान गर्नकै लागि गत चैतको पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको थियो । जिल्लामा प्रजिअको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको थियो । समितिबाट आएका विवरणका आधारमा सम्मान हुनेको सूची गृह मन्त्रालयले तयार गरेको थियो ।

तत्कालीन नेकपामा प्रधानमन्त्री ओली घेराबन्दीमा पर्न थालेपछि विभिन्न पक्षका व्यक्तिलाई प्रभाव पार्ने क्रममा विशेष गरी तत्कालीन माओवादीका पूर्वलडाकुसँग नजिकिएका थिए । त्यही योजनालाई अलि विस्तार गरी सरकारले सबै लोकतान्त्रिक आन्दोलनका योद्धा र घाइतेहरूलाई सम्मान गर्ने ढाँचा तयार गरेको हो । गृह मन्त्रालयका अनुसार नेपालमा सहिदको संख्या १२ हजार बढी छ । त्यसमध्ये ९ हजारभन्दा बढीका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिइसकेको छ  । ७ सय ५५ जनाले सरकारबाट मासिक जीवन निर्वाह भत्ता लिइरहेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल, माधवकुमार नेपालहरूले सत्ता कब्जा गर्न खोज्दा आफैं किलाकाँटा खुस्किएर थन्किएको आरोप लगाएका छन् । लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा ओलीले उनीहरूलाई नामका ‘क्रान्तिकारी’ तर कामका ‘चरम दक्षिणपन्थी’ को संज्ञा दिए । ‘आफ्नै पार्टीको सरकार ढालेर सत्ता कब्जा गर्न खोज्न हिँडेकाहरू अहिले किलाकाँटा पनि खुस्किएर बसेका छन्,’ उनले भने ।

उनले १४ वर्ष जेल बसेको प्रसंग उठाउँदै लोकतान्त्रिक योद्धाहरूको पीडाहरूलाई आफूले मात्र बुझ्ने दाबी गरे । ‘एक दिन जेल नबसी, एक दिन भूमिगत नबसी, एक दिन पिटाइ नखाई अरूलाई क्रान्तिमा होमेको छ । आफू नेता भएको छ,’ प्रधानमन्त्री ओलीले दाहालप्रति संकेत गर्दै भने, ‘भूमिगत भन्ने तर विदेशका राम्रै होटलमा बसेर दिन कटाउनेहरू महान् क्रान्तिकारी नेता भएका छन् ।’ दाहालले जनतालाई क्रान्तिकारी कुरा गरेर दिग्भ्रमित गरेको उनले आरोप लगाए । ‘म भूमिगत पनि भएको छु । कुटाइ पनि खाएको छु । चौध वर्ष जेल पनि बसेको छु । चार वर्ष त कोहीसँग भेट्न गर्न नदिएर कालकोठरीमा बसेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण मैले तपाईंहरूका समस्या बुझ्छु र समाधान पनि गर्छु ।’

मुकेशलाई प्रशंसापत्र

काभ्रे– ‘जिउँदो सहिद’ का रूपमा चिनिने जनआन्दोलन २ का घाइते मुकेश कायस्थलाई पनि ‘लोकतन्त्रका योद्धा’ सम्मान गरिएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेलले कायस्थको घरमा पुगेर प्रशंसापत्र र दोसल्ला हस्तान्तरण गरे । दोस्रो जनआन्दोलनका क्रममा २०६२ चैत ७ गते कञ्चटमा गोली लागेर घाइते भएका मुकेश हाल पनि अर्धचेत छन् ।

प्रशंसापत्र दिन पुगेका प्रजिअ पोखरेललाई आमा मीराले राज्यले निर्णय गरेका सुविधा पनि दुई वर्षदेखि रोकिएको गुनासो गरिन् । ‘राज्यले दिएको सेवा सुविधाबाट हामी सन्तुष्ट नै छौं, भुक्तानीका लागि हुने झन्झट अर्कै छ,’ मीराले भनिन्, ‘नर्सका लागि छुट्टिएको बजेट २ वर्षदेखि भुक्तानी भएको छैन ।’ स्वास्थ्य मन्त्रालयबाट जिल्ला स्वास्थ्य कार्यालयमार्फत भुक्तानी हुँदै आएको रकम संघीय संरचनापछि नगरपालिकाबाट हुँदै आएको थियो । आमा मीराले मुकेशजस्ता जनआन्दोलनका घाइतेका लागि राज्यले एउटा पुनःस्थापना केन्द्र बनाइदिनुपर्ने बताइन् ।

प्रकाशित : वैशाख २, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?