२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

प्रधानमन्त्रीको दाबी– २०७७ ‘सफलताको वर्ष’

काठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने कदमका कारण राजनीतिक अस्थिरताको पुनरावृत्ति र कोरोना कहरका कारण अर्थतन्त्र चौपट भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साललाई ‘सफलताको वर्ष’ दाबी गरेका छन् ।

प्रधानमन्त्रीको दाबी– २०७७ ‘सफलताको वर्ष’

नयाँ वर्ष २०७८ को अवसरमा बुधबार बिहानै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक कमजोरी, सुशासनमा उठेको कैयौं सवालबारे कुनै प्रसंग नकोट्याई सफलताको कुरा मात्र पेस गरे । उनले नेत्रविक्रम चन्द समूह शान्तिपूर्ण राजनीतिमा आउने वातावरण बन्नुलाई महत्त्वपूर्ण उपलब्धि ठानेका छन् ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नक्सा जारी गरेको विषय पनि सम्बोधनमा उल्लेख गरेका छन् । ‘आफ्नो भूभाग समेटेर हामीले नेपालको नयाँ नक्सा जारी गरेका छौं । त्यसले सम्पूर्ण नेपाली जनताको मनमा हर्ष छाएको छ, उमंग छाएको छ । राष्ट्रिय गौरव बढेको छ, आत्मविश्वास बढेको छ,’ उनले भने, ‘हाम्रो गौरवपूर्ण र बहादुरीको इतिहास फेरि एकपटक सम्झेका छौं ।’ प्रधानमन्त्री ओलीले कहाँ पुग्ने हो भन्ने आफूहरूले गन्तव्य तय गरेको उल्लेख गरेका छन् । ‘अब देशमा हिंसाको राजनीति छैन अर्थात् राजनीतिलाई हिंसाका माध्यमबाट आफ्ना उद्देश्य प्राप्त गर्ने तरिका अवलम्बन गर्ने कुनै समूह छैन । राजनीतिक अभीष्ट संवैधानिक र शान्तिपूर्ण राजनीतिको मूलधारबाटै पाउन सकिन्छ,’ उनले सम्बोधनमा भनेका छन् ।

गएको वर्ष कोरोना कहरका कारण मानिसले धेरै दुःख पाए । त्यतिबेला सरकारले राम्ररी व्यस्थापन नगरेको भनेर व्यापक आलोचना भएको थियो । प्रधानमन्त्री ओलीले भने नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् । ‘अर्थतन्त्र र अरू सबै कुराभन्दा पनि नागरिकको जीवनरक्षा पहिलो हो,’ उनले भने । उनले काम राम्रो गरे पनि जनतालाई निराशा बनाउने र भड्काउने प्रयास भएको आरोप लगाए । ‘हामीले जनतामा आशा जगाउने थुप्रै काम गरेका छौं । कतिपय कोणबाट केही पनि भएन, केही पनि भएको छैन भनेर जनतालाई निराश बनाउने, जनतामा असन्तुष्टि भड्काउने प्रयास भइरहे पनि सरकार त्यसबाट किञ्चित विचलित भएन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले जनतामा आशा जगाउने, सरकारका क्रियाकलापमा जनताको भरोसा जगाउने र भविष्यप्रति आशा र विश्वास जगाउने काम लगातार गर्‍यौं ।’

प्रधानमन्त्री ओलीले बितेको वर्ष गरेका विकास निर्माणका काम र शिलान्यासको फेहरिस्त पनि पेस गरे । उनले प्रत्येक दिन १२ वटा आवास तयार भइरहेको, सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३० लाख नाघेको, हरेक दिन कम्तीमा एकभन्दा धेरै झोलुंगे पुल बनेको, तराईमा सदरमुकाम जोड्ने सडक चार लेन बनेको लगायत प्रसंग सम्बोधनमा उल्लेख गरेका थिए । पूर्वपश्चिम रेलमार्ग कतिपय ठाउँमा भइरहेको ट्र्याक र पुल निर्माण तथा कोसी र गण्डकीमा स्टिमर सञ्चालनलाई पनि ओलीले वर्षको उपलब्धिको सूचीमा सामावेश गरेका छन् । ‘हामीलाई जस या श्रेय लिने होडबाजीमा सामेल हुन रहर छैन । हामीलाई जस होइन, काम चाहिएको हो । काम सफल बनाउनु छ । देश अघि बढाउनु छ । जनतालाई सुविधा पुर्‍याउनु छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को गरी मुलुक नयाँ युगमा प्रवेश गरेको दाबी गरे । ‘२०७८ वैशाख १ गते लाग्दा पात्रो या क्यालेन्डरको पाना पल्टिएको मात्र होइन, मिति परिवर्तन भएको मात्र होइन, हामीले यहाँको स्तर पनि परिवर्तन गरेका छौं,’ उनले भने, ‘०७७ साल राजनीतिक, आर्थिक सबै दृष्टिले सफलताको वर्ष रह्यो । हामी नयाँ वर्षमा नयाँ नयाँ काम थालनी गर्दै छौं ।’

प्रकाशित : वैशाख २, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?