१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नर्सिङ कलेजका २२ छात्रामा कोरोना

पर्सा/बैतडी — वीरगन्जको बिर्तास्थित चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार आइतबारदेखि मंगलबारसम्म २२ छात्रामा कोरोना पुष्टि भइसकेको छ ।

नर्सिङ कलेजका २२ छात्रामा कोरोना

डा. दासका अनुसार जिल्लामा तीन दिनमा ९६ संक्रमित थपिएका छन् । नारायणी अस्पतालमा गरिएको परीक्षणमा आइतबार ६० जनाको स्वाब परीक्षण गर्दा २८ जना, सोमबार ९५ जनाको परीक्षणमा ४० र मंगलबार ७९ जनाको परीक्षणमा २८ जनामा कोरोना देखिएको हो । यसबाहेक यहाँस्थित नेपाल–भारत सीमामा गरिएको परीक्षणबाट बुधबारसम्म १० जना संक्रमित भेटिएका छन् ।

बस्तीको बीचमा रहेको उक्त क्याम्पसका छात्राहरू दैनिक बजार र अस्पतालसम्म पुग्ने गरेकाले समुदायमा संक्रमण फैलन सक्ने डर बढेको छ । सामाजिक अभियन्ता प्रकाश थारू स्कुल कलेजमा संक्रमण प्रवेश गरेकाले केही दिनका लागि बन्द गर्नुको विकल्प नरहेको बताउँछन् । ‘यस पटक बालबालिकामा संक्रमण बढी देखिएको छ, उनीहरूलाई पढाइको नाममा अझै पनि स्कुल आउन बाध्य गरिएको छ,’ उनले भने, ‘स्कुले बालबालिकाबाट घरघरै कोरोना संक्रमण पुगे स्थिति भयावह हुन सक्छ ।’

यसैबीच, वीरगन्जको सीमानाकास्थित हेल्थ डेस्कमा बुधबार एकै दिन ५ जनामा संक्रमण पाइएको छ । तीमध्ये एक नेपाली र ४ भारतीय छन् । वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरी राजस्व गस्ती टोलीका निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीका अनुसार भारतको कोलकातामा रोजगारी गरेर फर्किएका सिन्धुलीका ३७ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो । उनी गृहजिल्ला सिन्धुली फर्कंदै थिए ।

छैन तयारी

भारतबाट बैतडी फर्किएका १५ जनामा कोरोना संक्रमण देखिएको छ । नेपाल–भारत सीमानाका झुलाघाटबाट फर्केका उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार संक्रमित सबै घरमै छन् । उनीहरू दशरथचन्द नगरपालिका, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकाका हुन् ।

दिनहुँजसो भारतबाट आउनेमा कोरोना देखिन थाले पनि स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनमा राख्ने तयारी भने शून्य छ । यसबारे प्रमुख जिल्ला अधिकारीसँगै बसेर स्थानीय तहका प्रतिनिधिसँग धेरै पटक छलफल गरे पनि पालिकाहरूले संक्रमितको व्यवस्थापनका लागि कुनै तयारी नगरेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए । अस्थायी अस्पताल भएका

पालिकाले पनि संक्रमितलाई घरमै राखिरहेको उनको भनाइ छ । झुलाघाट नाकाबाट अहिले दैनिक दुई सय जना बढी नेपाली भित्रिइरहेका छन् ।

प्रकाशित : वैशाख २, २०७८ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?