२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अनलाइनमा ‘मेरो कित्ता’

नुमा थाम्सुहाङ

काठमाडौँ — घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि अब जग्गाधनीले नापी कार्यालय पुगेरै प्रिन्ट नक्सा लिनु नपर्ने भएको छ । जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने अनलाइन प्रणाली नापी विभागले सञ्चालनमा ल्याउने भएको हो ।

अनलाइनमा ‘मेरो कित्ता’

मातहतका कार्यालयहरूबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउन अनलाइन प्रणाली ‘मेरो कित्ता’ सञ्चालनमा ल्याउने विभागले जनाएको छ । सुरुमा यो सेवा काठमाडौं उपत्यकाका अति व्यस्त नापी कार्यालयहरूबाट मात्रै उपलब्ध हुनेछ । देशभरका १ सय २६ वटा कार्यालयबाट प्रदान गरिने सेवालाई क्रमिक

रूपमा प्रविधिमैत्री, छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरिएको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।

विभागले पहिलो चरणमा बिहीबारबाट काठमाडौं उपत्यकाका ८ वटा नापी कार्यालयमा यो सेवा सुरु गर्न लागेको जानकारी उनले दिए । ‘सेवाग्राहीलाई घरमै बसी आफ्नो जग्गासम्बन्धी जानकारी लिन सहज होस् भनेर यो सफ्टवेयर सिस्टम विकास गरेका हौं,’ उनले भने । यसका लागि विभागले ‘नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम’ (एनईएलआईएस) प्रणाली तयार पारेको छ । यसमार्फत सेवाग्राहीले घरमै बसी ‘मेरो कित्ता’ अनलाइन सेवा प्रणालीबाट नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट र राजस्व भुक्तानी गर्न सक्ने उनले

बताए । यसका लागि सेवाग्राहीले कुनै पनि ब्राउजरबाट ‘मेरोकित्ता.डीओएस.जीओभी.एनपी’ लगइन गर्नुपर्नेछ । ‘यो साइट लगइन गर्दा युजर नेम र पासवर्ड चाहिँदैन,’ उनले भने, ‘सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ । प्राप्त विवरणलाई नापी कार्यालयले कारोबार गर्न योग्य छ/छैन भनी प्रमाणित गर्छ ।’

प्रमाणित भइसकेपछि मेरो कित्ताको साइटमा सेवाग्राहीले राखेको सम्पर्क नम्बरमा अनुरोध पूरा भयो भनी सन्देश जानेछ । त्यसपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न आबद्ध जुनसुकै सेवा प्रदायकबाट राजस्व तिर्न सक्छन् । यो सेवा सुरु भएसँगै झूटा विवरण पेस गरी सेवा लिने क्रम हट्ने दाबी ढकालले गरे । उनका अनुसार घर बनाउन, बैंकबाट कर्जा लिन होस् वा जग्गाधनीको कुनै व्यक्तिगत प्रयोजनका लागि जग्गाको नक्सा आवश्यक पर्छ र यो सेवा सुरु भएपछि डिजिटल नक्सा नै प्राप्त गर्न सकिन्छ । उनले भने, ‘कम्प्युटर प्रिन्ट दिँदा पनि राजस्व बुझाउन सर्वसाधारण कार्यालय नै धाउनुपर्ने, भीडभाड हुने, समय लाग्ने भयो । त्यसैले घरमै बसी प्रिन्ट गर्न सक्ने व्यवस्था होस् भनेर यो प्रणालीको विकास गरेका हौं ।’

यो सेवाको सुरुआत प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गर्दैछन् । सुरुमा डिल्लीबजार, भक्तपुर र कलंकीस्थित नापी कार्यालयमा तथा १/२ दिनभित्रै चाबहिल, ललितपुर, मनमैजु, टोखा र साँखुस्थित कार्यालयमा सेवा सञ्चालन गरिने विभागले जनाएको छ । ‘त्यसपछि जग्गाको धेरै कारोबार हुने ठाउँलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्षभित्रमा देशभर सञ्चालनमा ल्याउँछौं,’ ढकालले भने ।

यो प्रणालीमा जग्गाको एक कित्ता बराबर एक सेवाग्राही मानिएको छ । बढी भीड हुने उपत्यकाका प्रत्येक कार्यालयमा करिब साढे ४ लाख कित्ता रहेको तथ्यांक छ । एक कार्यालयबाट दिनमा २/३ सयसम्म नक्सा प्रिन्टको माग आउने गर्छन् । अनलाइन सेवा सञ्चालनमा आएसँगै उपत्यकाका ८ कार्यालयबाट दिनमा १५/१६ सयसम्म सेवाग्राहीले सेवा प्रयोग गर्न सक्ने विभागको अनुमान छ ।

ढकालका अनुसार यो प्रणालीबाट नापी कार्यालयअन्तर्गतका विभिन्न सेवा तथा शुल्क, राजस्व मात्र बुझाउन सकिन्छ । लगातार दुई वर्षको प्रयासमा यो प्रणाली विकास गरी सञ्चालनमा ल्याउन लागिएको हो । ‘यसलाई सुरक्षित तवरले बनाएका छौं,’ ढकालले भने, ‘सरकारको केन्द्रीय तथ्यांक राखिने गभर्मेन्ट इन्टिग्रेटेड डाटा सेन्टरमा मेरो कित्ताको सर्भर छ । त्यसको अल्टर्नेट सर्भर विभागमा राखेका छौं । विभागमा राखेका सर्भरमा टेम्प्रेचर, प्रेसरलगायत अपनाउनुपर्ने सबै सुरक्षाको मापदण्ड पालना गरिएको छ ।’ बेला–बेला देखिन सक्ने समस्या समाधानका लागि विभागको डाटा सर्भरलाई अपग्रेड गर्दै लैजाने उनले बताए ।

प्रकाशित : वैशाख २, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?